नेपाल सम्वत् ११४५, गुंलाथ्वः ९ नवमी, (१७ श्रावण, २०८२, २ अगष्ठ, २०२५ शनिवार, बाँपीझ्याला । प्राचीन शहर दोलखामा पहिलो पटक बज्राचार्य कुलपुत्रहरुलाई प्रव्रज्यासम्वर प्रदान गरिएको छ ।
दोलखा शहरमा संचालन हुने मुख्य जात्रा मध्ये महत्वपूर्ण मानिएको दोलखाको रातो मच्छिन्द्रनाथ जात्रा, भैरव कुमारी भैरव जात्रा र पाङ्जा गुठी लगायत अन्य जात्रापर्व संचालन गर्न मुख्य भूमिका रहेको बज्राचार्य कुल परम्परालाई निरन्तरता दिन प्रव्रज्यासम्वर गरिएको हो ।
दोलखाका बज्राचार्य कुलपुत्र रामभक्त, संजीप र रेनिसलाई बरे छुइगु अर्थात प्रव्रज्यासम्वराभिषेक गरिएको थियो । नेपाल परम्परागत बौद्धधर्म संघ, नेपाल बज्रयान महाविहारको संयोजनमा महाविहारका चक्रेश्वर प्रा. डा. नरेशमान बज्राचार्यको धर्माधिकारकत्वमा प्रव्रज्यासम्वर भएको हो । जसमा दशरत्न बज्राचार्य मुल आचार्य भई भिमरत्न बज्राचार्य उपाध्याय रहनुभएको हो । त्यसैगरी चक्रेश्वर प्रा.डा. नरेशमान बज्राचार्य, महास्थविर उत्तम बज्राचार्य, महास्थविर डा.पुष्परत्न शाक्य, स्थविर मञ्जुश्री रत्न बज्राचार्यले अभिषेक दिनुभएको थियो । कार्यक्रममा गुरुमां सरला बज्राचार्य र रबिता बज्राचार्यको पनि उपस्थिति रहेको थियो ।
यही साउन १५ गतेदेखि पाँच दिन सम्म संचालन भएको प्रव्रज्यासम्वरको पहिलो दिन गुरुहरुलाई सुपारी दाम चढाइ भिक्षु हुन अनुरोध गरेपश्चात नेपालको बौद्ध धर्म संस्कृति परप्परा अनुसार प्रव्रज्या सम्वरको कार्यविधि सुरु भएको हो ।
दोस्रो दिन पुजालाई निरन्तरता दिंदै मुल आचार्य, उपाध्याय गुरुहरुले प्रव्रज्यासम्वर लिनेहरुको केश छेडन गरी जलाधारले अभिषेक गरी चिवर, पिण्डपात्र र धर्मडण्द प्रदान गरिएको थियो । कार्यक्रममा प्रव्रज्या सम्वर के हो भन्ने बारे चक्रेश्वर बज्राचार्यले देशना समेत दिनुभएको थियो ।
यसरी तेस्रो र चोथौ दिन देशना पश्चात बज्राचार्य कुलपुत्रहरुलाई प्रव्रज्यासम्वराभिषेक गरिसकेपछि राष्ट्रप्रमुखको हैसियतमा दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले पहिलो भिक्षाटन गर्नुभएको थियो ।
यो संगै जिल्लाका प्रमुखद्वय जिल्ला न्यायाधिश माधव प्रसाद सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आले, जिल्ला प्रहरी कार्यालय दोलखाको प्रमुख ज्ञानकुमारी महतो, जिल्ला समन्यवय समितिका सभापति बर्जुराम घतानी, भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत लगायतले भिक्षाटन गर्नुभएको थियो ।
कार्यक्रममा भिक्षाटन गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी गेलालले साँस्कृतिक रुपमै पहिलो पटक दोलखामा भएको प्रव्रज्या सम्वरले मान्यताप्राप्त बज्राचार्य धर्म गुरु प्राप्त भएको भन्दै संस्कृति जगेर्नाका लागि काठमाडौंदेखि आएका धर्मगुरुहरुलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो । भिक्षाटनको कार्यक्रम सम्पन्न भएपश्चात बाजागाजा सहित मुलाचार्यले मुख्य मुख्य मन्दिरमा चर्यानृत्य सहित पुजाआजा गरी प्रव्रज्यासम्वर गर्नुभएका चैलक्य शाक्यभिक्षुहरुले भिक्षाटनको लागि नगर परिक्रमा गरिएको थियो ।
प्रव्रज्या सम्वर आजीवन जिम्मेवारी वहन गर्ने प्रतिवद्धताका साथ सदस्यता प्राप्त गर्नु मात्र नभइ शील पालना गर्नु, समाधि अर्थात ध्यान गर्ने ज्ञानको चिन्तन मनन गरी साक्षात्कार गर्ने, तथा बौद्ध विद्यार्थी जीवनयापन गर्ने अभ्यासको आरम्भ भन्ने बुझिन्छ ।
यस कार्यक्रमको समापन १९ गते हुने बाँपिझ्याला डटकम सम्वाददाता दोलखाले बताएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij