Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

हाम्रो बारेमा

बाँपिझ्यालाः भाषा, संस्कृति र पहिचानको उज्यालो झ्याल

नेवार समुदायको परम्परागत वास्तुकलामा प्रयोग हुने “बाँपिझ्याला” (करङ्गको झ्याला) अथवा “आँखिझ्याल” केवल एउटा झ्याल मात्र होइन, यो हाम्रो सभ्यता, संस्कृति, चेतना र पहिचानको प्रतीक हो। यसको बनावट नै यस्तो हुन्छ कि भित्रबाट बाहिरको दृश्य प्रष्ट देख्न सकिन्छ तर बाहिरबाट भित्रको अवस्था सजिलै देखिँदैन। यही विशेषताका कारण यसलाई प्राचीनकालमा सुरक्षाको दृष्टिले घरको पहिलो तलामा राख्ने गरिन्थ्यो। दोलखाको नेपाल भाषामा यसलाई “बाँपिझ्याला” भनिन्छ भने काठमाडौं उपत्यकामा “टिकीझ्याः” नामले चिनिन्छ। यसको अर्थ स–साना प्वाल तथा बुट्टाहरूले सजिएको झ्याल भन्ने बुझिन्छ। दोलखाको प्राचीन नेवार बस्तीहरूमा यस्ता झ्यालहरू आज पनि देख्न सकिन्छ, जसले हाम्रो सांस्कृतिक इतिहास र वास्तुकलाको समृद्ध परम्परालाई जीवन्त बनाइरहेका छन्।

तर बाँपिझ्यालाको महत्व केवल वास्तुकलामा मात्र सीमित छैन। यसले जीवन र समाजलाई हेर्ने दृष्टिकोण पनि सिकाउँछ। मानिसलाई बाहिरबाट हेर्दा उसको वास्तविकता थाहा हुँदैन, तर उसको अन्तरमन बुझ्न सकियो भने मात्र उसको साँचो स्वरूप देख्न सकिन्छ। बाँपिझ्याला पनि त्यस्तै हो—बाहिरी आँखाले मात्र होइन, भित्री चेतना, विवेक र विचारको आँखाले हेर्नुपर्ने प्रतीक। दोलखा नेपाल भाषा, संस्कृति, इतिहास र पहिचानको संरक्षण गर्ने अभियानमा बाँपिझ्याला एउटा वैचारिक माध्यम बनेको छ। यसले समाजका बुद्धिजीवी, समाजसेवी, संस्कृतिकर्मी, लेखक, कलाकार तथा जनपक्षीय व्यक्तित्वहरूका विचारलाई समुदायसम्म पु¥याउने सेतुको काम गर्दै आएको छ। जसरी बाँपिझ्यालाबाट सूर्यको किरण घरभित्र प्रवेश गर्छ, त्यसरी नै ज्ञान, चेतना र सकारात्मक विचारहरू समाजभित्र फैलिनुपर्छ भन्ने यसको मूल सन्देश हो।

यही सोचका साथ “बाँपिझ्याला” मासिक पत्रिकाको प्रकाशन वि.सं. २०५६ साल बैशाखदेखि आरम्भ गरिएको थियो। भाषा, साहित्य, संस्कृति, इतिहास, परम्परा, गीत, कविता, कथा, अनुसन्धानमूलक लेख तथा समसामयिक विषयवस्तुलाई समेट्दै यो पत्रिका लामो समयदेखि निरन्तर प्रकाशित हुँदै आएको छ। अनेक चुनौती, आर्थिक अभाव र प्राविधिक कठिनाइका बाबजुद पनि पाठक तथा शुभेच्छुकहरूको माया र सहयोगले यसले आफ्नो यात्रा निरन्तर अगाडि बढाइरहेको छ।

आजसम्म ४१ भन्दा बढी अंक प्रकाशित गरिसकेको “बाँपिझ्याला” अब समयको मागअनुसार डिजिटल माध्यममा प्रवेश गरेको छ। सूचना प्रविधिको विकाससँगै संसार एक क्लिकमा सीमित भएको वर्तमान अवस्थामा भाषा र संस्कृतिको संरक्षणका लागि पनि डिजिटल प्लेटफर्मको आवश्यकता महसुस गरिएको हो। यही आवश्यकतालाई मध्यनजर गर्दै बाँपिझ्याला मासिक पत्रिकालाई वेभसाईट पोर्टलका रूपमा बाँपिझ्याला डटकम (धधध।दबmउष्वजथबबि।अयm) अनलाईन न्युज पोर्टलमा वि.स. २०७७ साल असोज १ गतेदेखि विस्तार गरिएको छ । ताकि देश–विदेशमा रहेका दोलखाली नेवार समुदाय तथा सम्पूर्ण भाषा–संस्कृतिप्रेमीहरूले आफ्ना मातृभाषा र संस्कृतिसँग निरन्तर सम्बन्ध कायम राख्न सकून्।

भाषा कुनै पनि समुदायको आत्मा हो। भाषा हरायो भने इतिहास हराउँछ, संस्कृति हराउँछ र अन्ततः समुदायको पहिचान नै संकटमा पर्छ। त्यसैले मातृभाषाको संरक्षण गर्नु भनेको केवल भाषाको रक्षा गर्नु मात्र होइन, आफ्ना पुर्खाले निर्माण गरेको सभ्यता, ज्ञान र संस्कृतिको रक्षा गर्नु पनि हो। 

नेपाल बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक राष्ट्र हो। नेपालको संविधानले सबै भाषालाई राष्ट्रिय भाषाको मान्यता दिएको छ। यसै गरी बागमती प्रदेश भित्र नेपाल भाषा र तामाङ भाषा लागु गर्न बागमती प्रदेश सरकारले “प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८०” को  जारी गरिएको छ । 
नेपाल भाषा र तामाङ भाषा कार्यान्वयको घोषणाको लागि बागमती प्रदेश सरकारले पारित गरेको “प्रदेश सरकारी कामकाजको भाषा सम्वन्धमा व्यवस्था गर्न बनेको ऐन २०८०” वि.सं. २०८१ बैशाख २४ गते, नेपाल सम्वत् ११४४, चौलागा, त्रियोदशी÷मञ्जुश्री सम्वत् २८६० का दिनदेखि लागू हुने घोषणा बसन्तपुर डबलीबाट गरिएको हो । उक्त घोषणा कार्यक्रममा पूर्व प्रधानमन्त्री नेकपा का संयोजक पुष्पकमल दाहाल “प्रचण्ड”को प्रमुख आतिथ्यता रहेको थियो । यसैगरी हालसम्म पनी व्यवहारमा धेरै मातृभाषाहरू अझै पनि उपेक्षित अवस्थामा छन्। दोलखा नेपाल भाषा पनि त्यस्तै एक महत्वपूर्ण भाषा हो, जसको आफ्नै मौलिक इतिहास, शब्दसंपदा र भाषिक विशेषता रहेको छ। दोलखा, तौथली, दुती, लिस्ती, जेठल लगायतका क्षेत्रमा आज पनि यो भाषा बोलिने गरिन्छ। भाषाविद् तथा संस्कृतिविद्हरूले यस भाषालाई नेपाल भाषाको महत्वपूर्ण र मौलिक स्वरूपका रूपमा स्वीकार गरेका छन्।

संस्कृतिविद् शताब्दी पुरुष डा. स्वर्गिय सत्यमोहन जोशीले समेत दोलखा नेपाल भाषाको भाषिक संरचना र इतिहासलाई विशेष महत्व दिनुभएको थियो। उहाँका अनुसार दोलखा नेपाल भाषा उपत्यकामा बोलिने नेपाल भाषाभन्दा केही भिन्न स्रोत र मौलिक विशेषता बोकेको भाषा हो। त्यसैले यसको संरक्षण र प्रवद्र्धन अझ आवश्यक छ। आजको समयमा मातृभाषा संरक्षणको जिम्मेवारी केवल समुदायको मात्र होइन, स्थानीय सरकार, शैक्षिक संस्था, सामाजिक संघ–संस्था र सम्पूर्ण सरोकारवालाहरूको पनि हो। स्थानीय तहहरूले मातृभाषामा शिक्षा, साहित्य, सञ्चार र सांस्कृतिक कार्यक्रमलाई प्रोत्साहन गर्न आवश्यक छ। यसले भाषा र संस्कृतिको दीर्घकालीन संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउनेछ।

यही उद्देश्य र संकल्पका साथ बाँपिझ्याला मासिक पत्रिकाबाट डिजिटल समाचार तथा साहित्यिक वेब प्लेटफर्मको रूपमा अगाडि बढेको छ। आगामी दिनमा अझ बढी खोजमूलक सामग्री, साहित्यिक सिर्जना, ऐतिहासिक तथ्य, सांस्कृतिक अध्ययन तथा समसामयिक विषयवस्तुहरू पाठकमाझ पु¥याउने हाम्रो प्रतिबद्धता रहेको छ। अन्त्यमा, भाषा र संस्कृतिलाई माया गर्ने सम्पूर्ण दोलखावासी, नेवार समुदाय, देश तथा विदेशमा रहनुभएका शुभेच्छुक

 बौद्धिक व्यक्तित्व र पाठक महानुभावहरूलाई यस अभियानमा साथ, सहयोग र सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं। तपाईंहरूको साथ, सुझाव र सहयोगले मात्र यो अभियानलाई अझ सशक्त र दीर्घकालीन बनाउन सकिनेछ।
आउनुहोस्, हाम्रो आफ्नो मातृभाषा, संस्कृति र पहिचानको संरक्षणका लागि सबै मिलेर हातेमालो गरौं। बाँपिझ्यालाको उज्यालो झ्यालबाट ज्ञान, चेतना र संस्कृतिको प्रकाश भावी पुस्तासम्म पु¥याऔं।