Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

एमालेको ११ औं महाधिवेशन: दोलखाका अग्रज नेता आनन्दप्रसाद पोखरेलले सचिव पदका लागि उम्मेदवारी दिने

एमालेको ११ औं महाधिवेशन: दोलखाका अग्रज नेता आनन्दप्रसाद पोखरेलले सचिव पदका लागि उम्मेदवारी दिने

नेपाल सम्वत् ११४६, थिंलागाः ६ षष्ठी (२४ मंसिर, २०८२, १० डिसेम्वर, २०२५) बुधबार, बाँपिझ्याला । एमालेको ११ महाधिवेशनले पार्टीभित्र चहलपहल बढेको छ । देशभरबाट महाधिवेशनका लागि प्रतिनीधिहरु छनौट भइसकेका छन् । आउँदो शनिबारबाट महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच अध्यक्ष पदको प्रतिस्पर्धा हुनेछ। त्यसपछि विभिन्न पदका लागि प्रतिनीधिहरुले आकाङ्क्षा राखिराखेका छन् । त्यस्तै पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री दोलखाका अग्रज नेता आनन्दप्रसाद पोखरेलले सचिव पदका लागि उम्मेदवारी दिने तयारी गरिरहेको छ ।

वागमती प्रदेशभित्र एमालेका सिनियर र प्रभावशाली नेतामध्येका पोखरेल पनि हो । पाँच दशकभन्दा बढी समय कम्युनिस्ट आन्दोलनमा बिताएका पोखरेललाई एमालेभित्र सिमित प्रखर वैचारिक नेताका रूपमा चिनिन्छ। उनी कम्युनिस्ट आन्दोलनसँग सम्बन्धित पुस्तकका लेखक, विभिन्न पत्रपत्रिकाका स्तम्भकार, कृषि, जलस्रोत र प्राकृतिक स्रोत विज्ञका रूपमा पनि परिचित छन्। साथै, हिमालयन–चीन मैत्री समाजका संस्थापक अध्यक्ष पोखरेलले भुराजनीतिक अध्ययनमा समेत योगदान दिएका छन्।

पोखरेलले आफ्नो राजनीतिक जीवन पत्रकारिताबाट सुरु गरेका थिए। १९७०–८० को दशकमा प्रकाश साप्ताहिकमार्फत उनी पत्रकारितामा सक्रिय भए र पछि “प्राकृतिक सम्पदा” नामक म्यागजिनको सम्पादकत्व पनि सम्हाले। पार्टी र देश संकटमा रहेकै बेला उनी पार्टी हितलाई केन्द्रमा राख्दै नेता तथा कार्यकर्ताको राय र शुभेच्छुकको सद्भावलाई ध्यानमा राखेर अघि बढ्ने रणनीतिमा छन्।

पछिल्लो समय उनी काठमाडौं जिल्ला इन्चार्जको जिम्मेवारी सम्हाल्दै आएका छन्। काठमाडौँको संगठन कमजोर बनेको अनुभवपछि अध्यक्ष ओलीको विशेष रुचिमा पोखरेललाई पार्टी निर्णय अनुसार जिम्मेवारी दिइएको थियो। वर्तमानमा काठमाडौँ उपत्यकामा हुन लागेको महाधिवेशनका लागि उनी व्यापक जनपरिचालनमा ब्यस्त छन्।

वैचारिक नेतृत्व

पोखरेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, सांसद र संविधान सभा सदस्य भइसकेका छन्। संसदमा तार्किक बहसका लागि पोखरेललाई प्रख्यात मानिन्छ। पोखरेलले जलस्रोत, पर्यटन, बन उत्पादन, जलवायु परिवर्तन, विदेश नीति जस्ता विविध विषयमा टेलिभिजन र रेडियोमा अन्तरवार्ता दिएका छन् र अन्तर्राष्ट्रिय सेमिनारमा पनि कार्यपत्र प्रस्तुत गरिसकेका छन्।

नेपाल कम्युनिस्ट पार्टी ९एमाले० का पोलिटब्युरो सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज आनन्द प्रसाद पोखरेल नेपालको प्रखर कम्युनिस्ट नेतामध्येका एक हुन्। लामो समयदेखि बामपन्थी राजनीतिमा सक्रिय रहेर विचार, संगठन र जनताप्रतिको निष्ठा देखाउँदै आएका पोखरेल आफ्नो स्पष्ट दृष्टिकोण, तार्किक बहस र वाककला क्षमता कारण लोकप्रिय छन्। पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका उनले संसदमा तार्किक बहसका लागि आफूलाई प्रखर नेता सावित गरेका छन्।

पोखरेलले कम्युनिष्ट सिद्धान्त, संगठन र नीति निर्माणसम्बन्धी दुई पुस्तक प्रकाशित गरेका छन्—‘गन्तव्य समाजवाद’ र ‘कम्युनिष्ट पार्टी निर्माणका आधार’—जसले पार्टीको वैचारिक र संगठनात्मक दिशानिर्देशलाई मजबुत बनाएको छ। उनी विभिन्न दैनिक पत्रिका र अनलाइन प्लेटफर्ममा विचार प्रधान लेख–रचना प्रकाशन गर्दै आइरहेका छन्। यसैगरी, नेपालका थुप्रै टेलिभिजन र एफएम रेडियोहरूले उनलाई राजनीतिक, विकास, जलस्रोत, पर्यटन र जलवायु परिवर्तनका विषयमा अन्तरवार्ता लिन रुचाउँछन्।

राजनीतिक यात्रा

कक्षा ७ मा अध्ययन गर्दा २०२९ सालमा अनेरास्ववियुमा प्रवेश गरेका पोखरेलले २०३२ सालमा अखिल नेपाल कोअर्डिनेशन केन्द्र युथ लिगमा संलग्न भई सक्रिय राजनीति सुरु गरेका थिए। २०३५ सालमा नेकपा माले गठन भएको दिनदेखि उनी युवाहरूको नेतृत्व गर्दै आन्दोलनमा सक्रिय भएका थिए।

२०४३–४६ सालमा नेकपा मालेको जिल्ला संगठन समितिको सदस्य रहेर, विभिन्न झुट्टा मुद्दाको सामना गर्दै १३ पटक जेल र हिरासतमा बिताएका पोखरेलले संगठन, वैचारिक नेतृत्व र संघर्षको अनुभव कमाएका छन्।

२०५४ देखि २०७८ सम्म पोखरेलले नेकपा एमालेमा क्रमिक रूपमा सचिव, प्रदेश संगठन सदस्य, अध्यक्ष, केन्द्रीय कमिटी सदस्य र पोलिटब्युरो सदस्यको जिम्मेवारी सम्हालेका छन्। वर्तमानमा उनी काठमाडौँ जिल्ला इन्चार्ज समेत हुन्।

२०१६ साल फागुन २९ गते दोलखाको तामाकोशी गाउँपालिका, वडा नं। ३ मा जन्मिएका पोखरेलले २०३३ सालमा एसएलसी पास गरेपछि बिएससी एजी, बीएल र ग्रामिण विकास तथा राजनीतिक शास्त्रमा स्नातकोत्तर गरे। हाल उनी बुद्धदर्शनमा एमफिल–पीएचडी गर्दैछन्। राजनीतिक यात्रा भने कक्षा ७ मै अनेरास्ववियु सदस्यता लिएर शुरू भएको थियो। २०३५ सालमा नेकपा माले गठन भएदेखि सक्रिय आन्दोलनकारी बनेका उनले विभिन्न विद्यार्थी, युवा र शिक्षक संगठनमा नेतृत्व गर्दै १३ पटक जेल र हिरासतको सामना गरेका छन्।

उनको संगठनात्मक क्षमता र विचारशील नेतृत्वका कारण एमालेको संगठन निर्माण, निर्वाचन व्यवस्थापन र पार्टी सदस्यसँगको सम्बन्ध सधैं बलियो रहेको छ। दोलखामा निर्वाचन अभियान वा पार्टी गतिविधिमा पोखरेलले सदैव निर्णायक भूमिका खेलेका छन्। अन्तर्राष्ट्रिय सम्बन्धमा पनि उनी सक्रिय छन्—४६ देश भ्रमण गरेर अनुभव संकलन गरेको पोखरेलले जलवायु परिवर्तन, विकास नीति र अन्तर्राष्ट्रिय सेमिनारमा नेपाल प्रतिनिधित्व गरेका छन्।

पोखरेलको राजनीति शब्दको शक्तिमा आधारित छ। पञ्चायती कालदेखि बहुदलको प्रचार, कम्युनिष्ट विचार प्रवाह, संविधान निर्माणदेखि विकास परियोजनासम्म, उनका कदम सधैं जनताको पक्षमा रहे। नेकपा एमालेको ७ लाख सदस्यमध्ये ३६३ नं सदस्य भएका उनले पार्टीभित्र सीनियर नेताको पंक्तिमा आफूलाई स्थापित गरिसकेका छन्। यस पटक पनि उनी पार्टी नेतृत्व र संगठनलाई मजबुत राख्ने विश्वासका साथ अघि बढिरहेका छन्।

निर्वाचित पदहरू र योगदान

नेतृत्व र निर्वाचित पदको हिसाबले पनि पोखरेलले निरन्तर सक्रियता देखाएका छन्। २०४३–४५ सालमा जनपक्षीय उम्मेदवारका रूपमा जफे गाउँपञ्चायतको प्रधानपञ्च बनेका उनी २०५६–५९ प्रतिनिधि सभा सदस्य, २०६३–६४ पुर्नस्थापित संसद सदस्य र २०७० संविधानसभा सदस्य निर्वाचित भएका थिए। २०७२ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका पोखरेलले ‘भिजिट नेपाल २०२०’ को तयारी, धार्मिक पर्यटन प्रवर्द्धन, बुद्ध सर्किट विकास, सांस्कृतिक सम्पदा संरक्षण र विमानस्थल सुधारमा महत्वपूर्ण योगदान गरेका थिए।

आनन्दप्रसाद पोखरेलको पाँच दशक लामो अनुभव, वैचारिक स्पष्टता र संगठनात्मक नेतृत्वले उनलाई एमालेभित्र सचिव पदको उम्मेदवारको रूपमा बलियो दाबीदार बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार