नेपाल सम्वत् ११४६, यंलागाः ५, पञ्चमी (१५ असोज २०८३, १ अक्टोबार, २०२६) बिहीबार, बाँपिझ्याला । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका दुई युवाको योगदान र स्मृतिलाई जीवन्त राख्न नेपालगन्ज उपमहानगरपालिकाले उनीहरूको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी गरेको छ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नयाँ पुस्तालाई जेनजी शहीदको योगदानबारे जानकारी गराउँदै उनीहरूको स्मृतिलाई जीवन्त राख्ने उद्देश्यले स्थानीय पाठ्यक्रममा शहीदको परिचय समेट्ने तयारी भइरहेको बताउनुभयो। शहीद परिवारको आग्रहबमोजिम उक्त कार्यलाई तत्काल अघि बढाउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो।
नगर प्रमुख विष्टका अनुसार नेपालगन्ज–१, धम्बोजी निवासी १९ वर्षीय आयुष थापा र २३ वर्षीय सुलभ राज श्रेष्ठले गत वर्ष भदौ २३ गते काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका थिए। उनीहरूको सम्मान र सम्झनामा नेपालगन्ज उपमहानगरपालिका तथा वडा कार्यालयले विभिन्न भौतिक र सामाजिक कार्यक्रमसमेत अघि बढाइरहेको छ। सरकारी विवरणमा पनि दुवैलाई नेपालगन्ज–१, बाँकेका जेनजी शहीदका रूपमा उल्लेख गरिएको छ।
नेपालगन्ज उपमहानगरपालिका–१ का वडाध्यक्ष प्रमोद रिजालका अनुसार दुवै शहीदको सम्झना र सम्मानमा धम्बोजीस्थित वडा कार्यालय परिसरमा ‘शहीद योग भवन’ र खुला ‘जिम हाउस’ निर्माण गरिएको छ। शहीदद्वयको नाममा ‘शहीद प्रवेशद्वार’ निर्माणको कामसमेत भइरहेको उहाँले जानकारी दिनुभयो।
वडाध्यक्ष रिजालले धम्बोजीस्थित वडा कार्यालय परिसरमा दुवै शहीदको स्मृतिमा योग भवन तथा खुला जिम हाउस निर्माण गरिएको बताउँदै वाटरपार्क नजिकै अर्धकदको सालिक निर्माण गर्नुका साथै विशालनगर क्षेत्रमा उनीहरूको नाममा ‘शहीद प्रवेशद्वार’ निर्माण भइरहेको जानकारी दिनुभयो।
उपमहानगरपालिकाले जेनजी आन्दोलनका दुवै शहीदको स्मृतिमा ‘शहीद रनिङ शिल्ड’ प्रतियोगिता सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। उपमहानगरपालिकाका प्रवक्तासमेत रहनुभएका वडाध्यक्ष रिजालका अनुसार स्थानीय सरकार शहीद परिवारका समस्या र माग सम्बोधनका लागि परिवारसँग निरन्तर संवादमा रहेको छ।
जेनजी आन्दोलनमा नेपालगन्जको एउटै टोलका दुई युवा आयुष र सुलभले ज्यान गुमाएपछि दुवै परिवार पीडामा छन्। धम्बोजी टोलका बासिन्दाले पनि उनीहरूको मृत्युको घटना अझै बिर्सन नसकेको बताएका छन्। शहीदको सम्झनामा उपमहानगरपालिका र वडा कार्यालयले विभिन्न भौतिक संरचना निर्माण गरिरहे पनि परिवारले भने घटनाको सत्यतथ्य सार्वजनिक हुनुपर्ने र दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग गर्दै आएका छन्।
काठमाडौँमा आफ्ना छोराले ज्यान गुमाएको घटनाको एक वर्ष बितिसक्दा पनि निष्पक्ष छानबिन र दोषीमाथि कारबाही नभएकोमा शहीदका आफन्त र परिवार असन्तुष्ट छन्। उनीहरूले सरकारसँग शहीदको सम्मान, परिवारका एक सदस्यलाई रोजगारी, घटनाको निष्पक्ष छानबिन तथा गोली चलाउनेमाथि कानुनी कारबाहीको माग गर्दै आएका छन्।
आन्दोलनका क्रममा निर्दोष युवाले ज्यान गुमाएको भन्दै घटनाको जिम्मेवारी लिने र दोषीमाथि कारबाही गर्ने काम हुन नसकेको शहीद आयुषका पिता सुशील थापाको गुनासो छ। उहाँले सरकारले दोषीमाथि कारबाही गर्न नसक्नुको कारण स्पष्ट गर्नुपर्ने माग गर्नुभएको छ।
नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूले उठाएका सवाल, उनीहरूको चाहना तथा आन्दोलनका क्रममा उठेका जनसरोकारका विषय सम्बोधन गर्ने जिम्मेवारी आन्दोलनपछि बनेको सरकारको रहेको बताउनुभयो। उहाँले शहीदको नाममा भौतिक संरचना निर्माण गर्नु मात्र पर्याप्त नभई उनीहरूले उठाएका विषय र परिवारले राख्दै आएका मागलाई समेत राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
श्रेष्ठले घटनाको निष्पक्ष र विश्वसनीय ढंगबाट छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने बताउनुभयो। दोषी देखिएका व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही, शहीद परिवारलाई आवश्यक सहयोग तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी राज्यका सम्बन्धित निकाय जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ छ।
स्थानीय पाठ्यक्रममा आयुष र सुलभको परिचय समेट्ने तयारीसँगै उनीहरूको योगदान र बलिदान नयाँ पुस्तासम्म पुर्याउने प्रयास भएको छ। शहीद परिवारले स्मृतिमा संरचना निर्माण र पाठ्यक्रममा परिचय समेटिनु सकारात्मक भए पनि आफ्ना छोराहरूको मृत्युको घटनाबारे सत्यतथ्य सार्वजनिक हुनु र दोषीमाथि कानुनी कारबाही हुनु नै मुख्य अपेक्षा रहेको बताउँदै आएका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij