Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

जनकल्याण बचत तथा ऋण सहकारी संस्थाद्वारा महिला समूहलाई वित्तीय तथा उद्यमशीलता तालिम

जनकल्याण बचत तथा ऋण सहकारी संस्थाद्वारा महिला समूहलाई वित्तीय तथा उद्यमशीलता तालिम

नेपाल सम्वत् ११४६, चिल्लाथ्वः २, द्धितीया (७ फागुण, २०८२, १९ फ्रेब्रुअरी, २०२६) बिहीबार, बाँपिझ्याला, दोलखा । “मर्यादित सहकारी र समुन्नत समाज” भन्ने नारालाई आत्मसात् गर्दै अघि बढिरहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भीमेश्वर नगरपालिका वडा नं. २ स्थित सक्रिय महिला समूह ‘सफल सहयात्री महिला समूह’का सदस्यहरूका लागि एक दिने वित्तीय साक्षरता तथा उद्यमशीलता अभिमुखीकरण तालिम सफलतापूर्वक सम्पन्न गरिएको छ।

Mahila-1.jpg

अतिसीमान्कृत जाति थामी समुदायको बाहुल्यता रहेको उक्त समूहका २६ जना महिलाहरूको सहभागितामा सञ्चालन गरिएको तालिममा सहकारीका प्रमुख कार्यकारी अधिकृत दीपक बस्नेत स्रोत व्यक्तिको रूपमा रहनुभएको थियो।

तालिमका क्रममा सहभागीहरूलाई बचतको महत्व, ऋणको सही तथा उत्पादनशील उपयोग, साना तथा घरेलु उद्यमका सम्भावना, व्यवसायिक योजना निर्माण, बजार व्यवस्थापन, लगानी विस्तार तथा आर्थिक अनुशासनका विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो। वित्तीय साक्षरता र उद्यमशीलता विकासप्रति सहभागी महिलाहरूको उच्च जिज्ञासा र उद्यमशील सोच देखिएकोले यस्ता कार्यक्रमहरू थप प्रभावकारी हुने विश्वास आयोजकले व्यक्त गरेको छ।

हाल सफल सहयात्री महिला समूहका महिलाहरूले सिलाइ–कटाइ सम्बन्धी सीप विकास गरी आयआर्जनका विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएका छन्। साथै हाटबजार सञ्चालन लगायतका कार्यक्रममार्फत आर्थिक सशक्तिकरणतर्फ अग्रसर रहेको समूहलाई उक्त तालिमले थप हौसला, मार्गदर्शन र व्यवसायिक दृष्टिकोण प्रदान गरेको विश्वास लिइएको छ।

कार्यक्रमप्रति महिला समूहका सल्लाहकार अजय प्रधानले सहकारी संस्थाप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिन अनुरोध गर्नुभयो। त्यसैगरी, सहकारीका ऋण उपसमिति सदस्य ज्ञानेन्द्र प्रधानले अनुशासित र जिज्ञासु सहभागिताका लागि महिला सदस्यहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रमले महिलाहरूको आर्थिक आत्मनिर्भरता, नेतृत्व विकास तथा स्थानीय तहमा समावेशी विकासको अभियानलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार