नेपाल सम्वत् ११४६, बछलाथ्वः ५ पञ्चमी (९ बैशाख, २०८३, २२ अप्रिल, २०२६) बुधबार बाँपिझ्याला । सुदूरपश्चिम प्रदेशका भारतसँग जोडिएका सीमावर्ती बजारहरूमा किनमेल गर्न जाने नेपालीहरूको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ। सरकारले सीमा नाकामा १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार महसुल अनिवार्य रूपमा लागू गरेपछि त्रिनगर भन्सार नाका र गड्डचौकी नाकामा चहलपहल घटेको हो।
स्थानीय व्यापारीहरूका अनुसार पहिले कैलाली र कञ्चनपुरका धनगढी, अत्तरिया लगायतका क्षेत्रका बासिन्दा भारतको बनगाउँ, पलिया जस्ता बजारमा सस्तो सामान किन्न ठूलो संख्यामा जाने गर्थे। तर अहिले कडाइका कारण यस्तो आवतजावत घटेको छ।
डोकेबजारका व्यापारी विमल चौधरीका अनुसार अहिले नाकामा कडाइ भएपछि सानो मूल्यका सामानमा पनि कर लाग्ने भएकाले मानिसहरू भारततर्फ किनमेल गर्न जान कम गरेका छन्। “पहिले जस्तो भीड छैन, धेरैले स्थानीय बजारमै सामान किन्न थालेका छन्,” उनले बताए।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार गौरीफन्टा नाकाबाट भारत जाने र सामान ल्याउने प्रवृत्तिमा करिब ८० प्रतिशतसम्म कमी आएको छ। पहिले व्यक्तिगत प्रयोजनका लागि भन्दै भन्सार नतिरी सामान ल्याउने सुविधा जस्तै अवस्था थियो, तर अहिले कडाइका कारण त्यो व्यवहारिक रूपमा बन्दजस्तै भएको छ।
यससँगै स्थानीय बजारमा किनमेल गर्ने प्रवृत्ति बढेको छ भने सीमावर्ती भारततर्फ जाने उपभोक्ता घटेका छन्। तर, भन्सार छलेर सामान ओसारपसार गर्ने संगठित समूह भने अझै सक्रिय रहेको प्रशासनले जनाएको छ। विशेष गरी आर्थिक रूपमा कमजोर केही समूहका महिलाहरूले क्यारिङ गरेर जीविका चलाउने क्रम भने अझै पूर्ण रूपमा रोकिएको छैन।
प्रशासनले सीमामा तस्करी नियन्त्रण गर्न २४ घण्टा निगरानी बढाएको जनाएको छ। यस कदमले अवैध व्यापार नियन्त्रणमा सहयोग पुगेको भए पनि केही समूहका लागि वैकल्पिक आम्दानी घटेको देखिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij