Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

हर्मुज जलमार्गबारे कतारको चेतावनी, ‘ब्ल्याकमेल’ स्वीकार्य छैन

हर्मुज जलमार्गबारे कतारको चेतावनी, ‘ब्ल्याकमेल’ स्वीकार्य छैन

नेपाल सम्वत् ११४६, बछलागाः १० दशमी (२९ बैशाख, २०८३, १२ मे, २०२६) मंगलबार, बाँपिझ्याला । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले मध्यपूर्व युद्धपछि अवरुद्ध बनेको हर्मुज जलमार्गलाई खाडी मुलुकहरूलाई दबाब दिने वा ‘ब्ल्याकमेल’ गर्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने बताएका छन्। उनले दोहामा टर्कीका विदेशमन्त्री हाकान फिदानसँगको संयुक्त पत्रकार सम्मेलनमा यस्तो धारणा व्यक्त गरेका हुन्।

इरान–अमेरिका वार्तामा मध्यस्थकर्ताको भूमिका निभाइरहेका प्रधानमन्त्री थानीले रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण हर्मुज जलमार्गलाई राजनीतिक हतियार बनाउन नहुनेमा जोड दिए। उनका अनुसार यस्तो कदमले सम्पूर्ण क्षेत्रीय स्थायित्व र अन्तर्राष्ट्रिय व्यापारमा गम्भीर असर पार्न सक्छ।

टर्कीका विदेशमन्त्री फिदानले पनि कतारको भनाइलाई समर्थन गर्दै अन्तर्राष्ट्रिय जलमार्ग अवरुद्ध हुँदा त्यसको असर केवल सम्बन्धित देशहरूमा मात्र नभई निर्दोष जनता र इरान समर्थक राष्ट्रहरूमा समेत पर्ने बताए।

हर्मुज जलमार्ग विश्व ऊर्जा आपूर्तिको मुख्य मार्ग मानिन्छ। विश्वको करिब २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास यही मार्ग हुँदै ढुवानी हुने भएकाले यसको अवरोधले खाडी मुलुकहरूको अर्थतन्त्रमा ठूलो दबाब सिर्जना गरेको छ।

प्रधानमन्त्री थानीले हालैको अमेरिका भ्रमण युद्ध अन्त्यका लागि शान्ति प्रयासलाई बलियो बनाउने उद्देश्यले गरिएको पनि बताए। साथै टर्की, कतार र साउदी अरबले युएई तथा कुवेतसँग समन्वय गर्दै वार्तालाई अगाडि बढाइरहेको जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार