Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

बीपीको ४४औँ स्मृति दिवसमा दोलखामा ‘ग्रीन रन’ प्रतियोगिता सम्पन्न

बीपीको ४४औँ स्मृति दिवसमा दोलखामा ‘ग्रीन रन’ प्रतियोगिता सम्पन्न

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः ८ औसी (६ साउन, २०८३, २२ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रजातान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा दोलखामा ‘ग्रीन रन’ सहित विविध कार्यक्रम आयोजना गरिएको छ।

नेपाली कांग्रेस दोलखाले जलवायु परिवर्तनप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विशेष कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा जलवायु परिवर्तनका कारण सिर्जित चुनौती, वातावरण संरक्षण तथा दिगो विकासका विषयमा सहभागीहरूलाई सचेत गराइएको थियो।

स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ दोलखाको आयोजनामा चरिकोट बजार क्षेत्रमा ‘ग्रीन रन’ प्रतियोगिता सम्पन्न भएको थियो। प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममार्फत युवापुस्तालाई वातावरण संरक्षणमा सक्रिय सहभागिता जनाउन प्रेरित गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा छात्रतर्फ सहिद स्मृति माविका सुमिर थामी प्रथम, महेन्द्रोदय माविका सुशान्त कुँवर द्वितीय तथा कालिन्चोक माविका पासाङ तामाङ तृतीय भएका छन्।

त्यसैगरी छात्रातर्फ भीम माविकी दर्शिका श्रेष्ठ प्रथम, भीम माविकै पुजन अधिकारी द्वितीय तथा भीम माविकी टङ्की धामी तृतीय भएकी छन्।

विजेता विद्यार्थीहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष प्रमोद ईश्वर नारायण मानन्धरलगायतका अतिथिहरूले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए।

कार्यक्रममा वक्ताहरूले बीपी कोइरालाले स्थापित गरेका लोकतान्त्रिक मूल्य–मान्यता, राष्ट्रिय एकता, सामाजिक न्याय र वातावरण संरक्षणप्रतिको दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै जलवायु परिवर्तनको चुनौती सामना गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार