Aug 12 2026 | २०८३, श्रावण २७ गते

Aug 12 2026 | २०८३, श्रावण २७ गते

दोहोरी गायक पशुपति शर्मा अब रजतपटमा, ‘तीन तिघ्रे, क्या बिग्रे’बाट अभिनय यात्रा सुरु

दोहोरी गायक पशुपति शर्मा अब रजतपटमा, ‘तीन तिघ्रे, क्या बिग्रे’बाट अभिनय यात्रा सुरु

नेपाल सम्वत् ११४६, दिल्लागाः ५ पञ्चमी (१८ साउन, २०८४, ३ अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला । नेपाली लोकदोहोरीका चर्चित गायक पशुपति शर्मा अब चलचित्र अभिनयमा देखिने भएका छन्। उहाँले रघुजी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको हास्य चलचित्र ‘तीन तिघ्रे, क्या बिग्रे’ मार्फत अभिनेता रूपमा नेपाली रजतपटमा औपचारिक प्रवेश गर्न लाग्नुभएको हो।

हाल चलचित्रको छायाङ्कनमा व्यस्त रहेका शर्माले यसअघि ‘प्रेमगीत’ र ‘ब्रासलेट’ जस्ता चलचित्रका लागि गीत गाइसके पनि कलाकारका रूपमा भने यो पहिलो अनुभव हुने बताउनुभएको छ। आफूलाई हास्य विधा मन पर्ने भएकाले चलचित्रमा अभिनय गर्ने अवसरलाई नयाँ र फरक अनुभवका रूपमा लिएको उहाँको भनाइ छ। यसअघि आफ्नै गीतका म्युजिक भिडियोमा अभिनय गरेको अनुभवले पनि चलचित्रमा काम गर्न सहज हुने विश्वास उहाँले व्यक्त गर्नुभएको छ।

चलचित्रका लेखक तथा निर्देशक अमरदीप सापकोटा हुन् भने निर्माण रघुनाथ सापकोटाले गर्नुभएको हो।

पशुपति शर्माले ‘लुट्न सके लुट’, ‘छाता हरायो’, ‘मलाई अमेरिका यही’, ‘स्याङ्जा जाने बाटैमा तनहुँ’, ‘मेरो माया बसेको ठाउँमा’ र ‘क्याम्पस पढ्न आउनी’ लगायतका लोकप्रिय गीतमार्फत नेपाली लोकसङ्गीतमा छुट्टै पहिचान बनाउनुभएको छ। विशेषगरी ‘लुट्न सके लुट’ गीतले भ्रष्टाचार र सामाजिक बेथितिविरुद्ध व्यङ्ग्यात्मक सन्देश दिँदै व्यापक चर्चा बटुलेको थियो। उहाँ हाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष पनि हुनुहुन्छ।

लोकसङ्गीतबाट चलचित्र अभिनयमा प्रवेश गर्ने क्रम भने यसअघि नै सुरु भइसकेको छ। गायक प्रकाश सपुतले ‘परदेशी २’ मार्फत अभिनय यात्रा सुरु गर्नुभएको थियो। पहिलो चलचित्र नै सफल भएपछि उहाँले ‘सोल्टिनी’, ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’, ‘मिरमिरे’ र ‘परालको आगो’ जस्ता चलचित्रमा अभिनय गर्नुभयो। उहाँले निर्माण तथा निर्देशन गरेको ‘वसन्त’ भने घरेलु बक्स अफिसमा अपेक्षाअनुसार सफल हुन सकेन।

त्यसैगरी, लोकगायक प्रकाश दुतराज पनि चलचित्र क्षेत्रमा प्रवेश गरिसक्नुभएको छ। उहाँ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँधिएको चलचित्र ‘आहुति’ मा मुख्य भूमिकामा देखिनुहुनेछ। भवानी सङ्ग्रौलाको निर्माण तथा निर्देशन रहेको उक्त चलचित्रको छायाङ्कन सम्पन्न भइसकेको भए पनि प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन।

लोकसङ्गीतमा स्थापित कलाकारहरू चलचित्र अभिनयतर्फ आकर्षित हुन थालेसँगै नेपाली फिल्म उद्योगमा नयाँ ऊर्जा र फरक स्वाद थपिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार