नेपाल सम्वत् ११४६, दिल्लागाः ७ अष्टमी (२० साउन, २०८४, ५ अगष्ठ २०२६) बुधबार, बाँपिझ्याला । नेपालिज फेसन होमले आयोजना गर्दै आएको नेपाल टेलिकम मिस नेवाः नेपाल ११४६ अन्तर्गतको ट्यालेन्ट शो गौशालास्थित पशुपति भिजनको होटल पौवामा सम्पन्न भएको छ। प्रतियोगिताको १९औँ संस्करणअन्तर्गत आयोजित कार्यक्रममा १७ जना प्रतिस्पर्धीले आफ्नो सिर्जनात्मक प्रतिभा प्रस्तुत गर्दै निर्णायक मण्डल र दर्शकको मन जित्ने प्रयास गरेका थिए।
प्रतियोगितामा सहभागीहरूले नेवारी गीतमा नृत्य, गायन, चित्रकला, बाँसुरी वादन, कुमारी नृत्य तथा वक्तृत्वकलालगायत विभिन्न विधामार्फत आफ्नो क्षमता प्रदर्शन गरेका थिए। अधिकांश प्रतिस्पर्धीले नेवारी सांस्कृतिक गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए।
यस वर्षको प्रतियोगितामा सारिका महर्जन, तिसा शाक्य, निश्ला महर्जन, हिमानी प्रधान, प्रिस्टिन अवाले, रेजिना बज्राचार्य, दुर्गा देउला, सबनम शाक्य, सोनिया महर्जन, दृष्टि महर्जन, कल्शा अवाले, मिकिशा महर्जन, जेस्सिका श्रेष्ठ, करुणा चक्रधर, शिक्षा महर्जन, अनुस्का नकर्मी र लक्की महर्जन सहभागी छन्।
नेपालिज फेसन होम तथा फाइट फर लाइफ नेपालकी अध्यक्ष एवं मिस नेवाः नेपालकी आयोजक हेमा मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रोफेसर डा. बिमला शाक्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा मिस नेवाः नेपाल ११४५ की विजेता प्रलिशा शाक्य, नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौं जिल्ला शाखाकी महासचिव प्रोफेसर दिव्यालक्ष्मी बज्राचार्य, मिस नेवाः ११४५ सेकेन्ड रनर्सअप लुमना महर्जन, मिस ट्यालेन्ट श्रद्धा महर्जन, मिस लिटिल नेवाः मिस ट्यालेन्ट ११४१ नयना शाक्य तथा मेकअप आर्टिस्ट मञ्जु कार्की पाण्डेलगायतको विशेष उपस्थिति रहेको थियो।
आयोजकका अनुसार ट्यालेन्ट शोको प्रदर्शनका आधारमा ‘मिस ट्यालेन्ट’ उपाधि चयन गरिएको छ भने यसको नतिजा प्रतियोगिताको अन्तिम स्पर्धा हुने भदौ ६ गते सार्वजनिक गरिनेछ।
ट्यालेन्ट शोको निर्णायक मण्डलमा नमुना कलेज अफ फेसन टेक्नोलोजीका उप–प्राचार्य जीवेश्वरलाल श्रेष्ठ, अधिवक्ता लक्ष्मण महर्जन, सञ्चारकर्मी तथा समाजसेवी रोहन श्रेष्ठ, नेपाल लिपि गुठीका पूर्वअध्यक्ष अनिल स्थापित र नृत्य प्रशिक्षक गंगा महर्जन रहेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै आयोजक हेमा मानन्धरले नेवारी भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा यसको हस्तान्तरण गर्ने उद्देश्यले मिस नेवाः नेपाल प्रतियोगिता निरन्तर आयोजना हुँदै आएको बताउनुभयो।
फाइट फर लाइफ नेपालका उपाध्यक्ष दिलकुमार महर्जन सह–आयोजक रहेको ट्यालेन्ट शो सकिना महर्जन, प्रलिशा शाक्य र मिस नेवा सामाजिक कल्याण एम्बासडर चिफ तिमिला महर्जनको कोरियोग्राफी तथा कृषा महर्जनको प्रमुख संयोजनमा सम्पन्न भएको थियो।
प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी भदौ ६ गते आयोजना हुनेछ। अन्तिम प्रतियोगिता रोजिन शाक्यको कोरियोग्राफी, राजु नापितको नेपाल भाषा प्रशिक्षण तथा सकिना महर्जन, प्रलिशा शाक्य, तिमिला महर्जन र कृषा महर्जनको संयोजनमा सम्पन्न हुने आयोजकले जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij