धर्म, जाति र भाषाको सीमाभन्दा माथि उठ्दै छठपर्वको सांस्कृतिक विस्तार, राज्यबाट समेत सम्मान
नेपाल सम्वत् ११४७, कछलाथ्वः ६, षष्ठी (२९ कार्तिक २०८३, १५ नोभेम्वर, २०२६) आईतबार, बाँपिझ्याला । कुनै समय तराई–मधेशका नदी, पोखरी र तलाउमा सीमित रहेको छठपर्व अहिले पहाडका नदी तथा हिमाली क्षेत्रका तालतलैयासम्म फैलिँदै गएको छ। धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामाजिक सद्भावसँग जोडिएको यो पर्व पछिल्लो समय नेपालको भौगोलिक तथा सांस्कृतिक विविधतालाई एकतामा जोड्ने साझा पर्वका रूपमा विकसित हुँदै गएको छ।
छठपर्वले राज्यस्तरबाट समेत सम्मान र मान्यता पाउन थालेपछि यसको सामाजिक तथा सांस्कृतिक विस्तार थप व्यापक बनेको छ। केही दशकअघिसम्म मुख्यतः मिथिला क्षेत्रका हिन्दु समुदायले मनाउने यो पर्व अहिले तराई–मधेशका विभिन्न समुदाय हुँदै पहाडी तथा हिमाली क्षेत्रसम्म फैलिएको छ। पछिल्लो समय अन्य धर्म तथा सम्प्रदायका व्यक्तिहरूले समेत छठ मनाउन थालेका छन्।
त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका प्रमुख डा. पासाङ शेर्पा छठलाई धार्मिक परम्पराका रूपमा मात्रै सीमित गरेर हेर्न नहुने बताउनुहुन्छ। उहाँका अनुसार छठ सामाजिक तथा सांस्कृतिक पहिचान स्थापित गर्ने र ज्ञान तथा परम्परालाई पुस्तान्तरण गर्ने महत्वपूर्ण सामाजिक संस्था पनि हो।
छठपर्वमा जातीय, भाषिक, लैङ्गिक तथा धार्मिक विभेदभन्दा माथि उठेर सबै समुदायका मानिस एकै ठाउँमा भेला हुने परम्परा रहेको छ। यही विशेषताले छठलाई सामाजिक एकता र सद्भावको पर्वका रूपमा स्थापित गर्न सहयोग पुर्याएको छ।
धर्म र समुदायको सीमाभन्दा माथि छठ
छठपर्वको लोकप्रियता बढ्दै जाँदा विभिन्न धर्म र समुदायका व्यक्तिहरू पनि यस पर्वसँग जोडिन थालेका छन्। महोत्तरीको औरही–३ की सोमनी खातुन यसको एउटा उदाहरण हुनुहुन्छ। उहाँले गत वर्ष निधन हुनुअघिसम्म लगातार तीन दशक छठपर्वमा सूर्यलाई अर्घ दिने गर्नुभएको थियो।
उहाँका कान्छा छोरा हदिश खुद्दारका अनुसार जेठो छोरा बितेपछि आमाले सन्तान प्राप्तिका लागि छठमा अर्घ दिने भाकल गर्नुभएको थियो। भाकल पूरा भएपछि पनि उहाँले आफ्नो जीवनको अन्तिम समयसम्म छठपर्व मनाउने परम्परालाई निरन्तरता दिनुभयो।
उहाँ भन्नुहुन्छ, “जेठो छोरा बितेपछि आमाले सन्तान प्राप्तिका लागि अर्घ दिने भाकल गर्नुभयो। भाकल पूरा भएपछि पनि उहाँले गत वर्ष निधन हुनुअघिको छठसम्म अर्घ दिनुभयो।”
यस घटनाले छठपर्व धार्मिक आस्थासँगै मानवीय विश्वास, पारिवारिक सम्बन्ध र सांस्कृतिक सहअस्तित्वको माध्यमसमेत बनेको देखाउँछ।
तराईबाट पहाड र हिमालसम्म विस्तार
छठपर्वको विस्तार हुनुमा बसाइँसराइ र सांस्कृतिक आदानप्रदानले महत्वपूर्ण भूमिका खेलेको समाजशास्त्रीहरूको भनाइ छ। तराई–मधेशबाट रोजगारी, शिक्षा तथा अन्य अवसरको खोजीमा पहाडी सहरमा पुगेका समुदायले आफ्नो मौलिक पर्वलाई नयाँ ठाउँमा समेत निरन्तरता दिँदै आएका छन्।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (राराब) जनकपुरधामबाट सेवा निवृत्त समाजशास्त्री सुशील यादवका अनुसार छठपर्व पहाडसम्म फैलिनुका मुख्य दुई कारण छन्।
पहिलो, तराई–मधेशबाट बसाइँसराइ गरी पहाडका सहरमा पुगेका समुदायले त्यहाँ पनि छठ मनाउन थाले। दोस्रो, उनीहरूले मनाउन सुरु गरेको छठलाई स्थानीय समुदायले समेत आत्मसात् गर्दै गए। यसरी एउटा समुदायको सांस्कृतिक परम्परा क्रमशः साझा सामाजिक उत्सवका रूपमा विस्तार हुँदै गएको उहाँको भनाइ छ।
अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न पहाडी सहरमा समेत छठपर्वका अवसरमा नदी, पोखरी तथा जलाशयका किनारमा विशेष सजावट र पूजा व्यवस्थापन गरिन्छ। यसले छठको धार्मिक तथा सांस्कृतिक महत्वलाई राष्ट्रिय स्तरमा विस्तार गर्न सहयोग पुर्याएको छ।
छठपर्वको धार्मिक तथा सांस्कृतिक महत्व
सूर्य पुराणलगायत धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार छठपर्व कात्तिक शुक्ल षष्ठीका दिन विशेष रूपमा मनाइन्छ। वेद, पुराण तथा विभिन्न धार्मिक ग्रन्थमा सूर्य उपासनाको महत्व उल्लेख गरिएको छ।
धार्मिक मान्यताअनुसार त्रेतायुगमा अत्रि ऋषिकी पत्नी सती अनसूयाले सर्वप्रथम छठपर्वको अनुष्ठान गर्नुभएको विश्वास गरिन्छ। सूर्यको आराधना र व्रतका माध्यमबाट उहाँले अटल सौभाग्य तथा पतिप्रेम प्राप्त गर्नुभएको धार्मिक कथन छ।
महाभारतकालीन कथासँग पनि छठपर्व जोडिएको छ। वनवासका क्रममा द्रौपदीले राज्य पुनः प्राप्तिको कामना गर्दै छठ व्रत बस्ने सङ्कल्प गरेको र त्यसपछि छठ मनाउन थालेको धार्मिक विश्वास पाइन्छ।
छठ व्रत गर्नाले सन्तान प्राप्ति हुने, परिवारमा सुख, शान्ति र समृद्धि आउने तथा विभिन्न दुःखकष्टबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ। यस पर्वमा सूर्यलाई जीवन र ऊर्जाको मूल स्रोत मानेर पूजा गर्ने गरिन्छ।
मिथिलाको सांस्कृतिक राजधानी जनकपुरधाम, वीरगञ्ज, सप्तरीको राजविराज तथा कोशी प्रदेशको विराटनगरलगायत सहरमा छठपर्व विशेष सजावट र व्यवस्थापनसहित मनाइन्छ। यी क्षेत्रमा छठका अवसरमा नदी, पोखरी र तलाउका घाटहरू आकर्षक रूपमा सजाइन्छन्।
राज्यबाट छठपर्वलाई सम्मान
विगतमा छठपर्वले राज्यस्तरमा अपेक्षित पहिचान र सम्मान पाउन नसकेको भए पनि पछिल्लो समय यसको महत्व बढ्दै गएको छ। यस वर्ष नेपाल सरकारले छठपर्वका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले षष्ठीका दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने दिन आइतबार र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिने सोमबार सार्वजनिक बिदा हुने जनाएको छ।
त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका प्रमुख डा. शेर्पाका अनुसार छठपर्वमा दुई दिन सार्वजनिक बिदा दिनु यस पर्वसँग जोडिएको संस्कृति, आस्था र परम्पराप्रति राज्यले देखाएको सम्मान हो।
उहाँ भन्नुहुन्छ, “छठको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएर राज्यले यस पर्वको महत्व र गरिमालाई सम्मान गरेको छ। यो केवल बिदाको घोषणा मात्रै नभई छठसँग जोडिएको संस्कृति, आस्था र परम्पराप्रति राज्यको सम्मान पनि हो।”
लोक सेवा आयोगमा कार्यरत इन्जिनियर शम्भुकुमार झा पनि सार्वजनिक बिदाले सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारी र श्रमिकलाई सहज हुने बताउनुहुन्छ।
उहाँका अनुसार विगतमा षष्ठीको साँझ सूर्यलाई अर्घ दिएपछि भोलिपल्ट सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गर्नासाथ कार्यालय जानुपर्ने बाध्यता थियो। कतिपय अवस्थामा कार्यालय जानसमेत कठिन हुने गरेको थियो। दुई दिन बिदा हुँदा व्रतालु तथा श्रद्धालुले तनावमुक्त भएर पर्व मनाउन पाउने उहाँको भनाइ छ।
छठ मनाउने समुदायले लामो समयदेखि दुई दिन सार्वजनिक बिदाको माग गर्दै आएका थिए। इन्जिनियर झासहित करिब दस घरपरिवारले काठमाडौंको बल्खु तरकारी बजारनजिक भएर बग्ने बागमती नदीमा छठपर्व मनाउँदै आएका छन्। काठमाडौं महानगरपालिका–१४ स्थित उक्त क्षेत्रमा छठ मनाउन वडा कार्यालयले समेत सरसफाइका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउँदै आएको छ।
डा. शेर्पाले छठपर्वलाई राज्यले सम्मान गरेसँगै अन्य समुदायका चाडपर्वलाई पनि समान रूपमा सम्मान गर्नुपर्ने बताउनुहुन्छ। उहाँले विभिन्न समुदायका पर्व तथा संस्कृतिबारे अध्ययन, अनुसन्धान र सम्बन्धित मातृभाषामै प्रकाशनका कामलाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभएको छ।
चार दिनसम्म मनाइन्छ छठपर्व
छठपर्व विशेषगरी कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमी तिथिसम्म चार दिनसम्म मनाइन्छ। यस पर्वमा व्रतालुले शुद्धता, पवित्रता र कठोर नियम पालना गर्दै सूर्यदेव तथा छठी माताको पूजा गर्ने परम्परा छ।
छठको पहिलो दिन चतुर्थी तिथिमा ‘नहाय–खाय’ अर्थात् स्नान गरी शुद्ध भोजन गर्ने विधि पूरा गरिन्छ। यस दिन व्रतालुले नदी, पोखरी वा जलाशयमा स्नान गरी घर तथा पूजास्थल सफा गरेर चोखो भोजन ग्रहण गर्छन्।
दोस्रो दिन पञ्चमी तिथिमा ‘खरना’ मनाइन्छ। यस दिन व्रतालुले दिनभर उपवास बसेर साँझ विशेष पूजा गरी प्रसाद ग्रहण गर्छन्। खरनाको प्रसाद ग्रहण गरेपछि व्रतालुको कठोर निराहार व्रत सुरु हुन्छ।
तेस्रो दिन षष्ठी तिथिमा छठको मुख्य पूजा गरिन्छ। यस दिन बिहानैदेखि ठकुवा, भुसुवा, फलफूल तथा विभिन्न परम्परागत परिकार तयार पारिन्छ। मुला, भान्टा, उखु, नरिवललगायतका सामग्री पनि प्रसादका रूपमा चढाइन्छन्।
पूजाका सामग्री बाँसबाट निर्मित ढाकी र नाङ्लोमा सजाएर नदी, पोखरी तथा तलाउका किनारमा लगिन्छ। परम्परागत रूपमा डुम समुदायले तयार गर्ने बाँसका ढाकी र नाङ्लोको प्रयोगले छठपर्वसँग विभिन्न समुदायको सीप, श्रम र सांस्कृतिक सम्बन्धसमेत जोडिएको देखिन्छ।
षष्ठीको साँझ व्रतालुहरू परिवार तथा आफन्तसहित घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन्। यस क्रममा सूर्यदेव र छठी माताको पूजा गर्दै परिवारको सुख, शान्ति, समृद्धि तथा सन्तानको कल्याणको कामना गरिन्छ।
चौथो दिन सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्वको समापन हुन्छ। यस दिनलाई पारण पनि भनिन्छ। उदाउँदो सूर्यलाई अर्घ दिएपछि व्रतालुले प्रसाद ग्रहण गरी व्रत पूरा गर्छन्। यस अवसरमा छठको धार्मिक तथा सांस्कृतिक कथा सुनाउने परम्परासमेत रहेको छ।
सामाजिक एकता र सद्भावको प्रतीक
छठपर्वको सबैभन्दा महत्वपूर्ण विशेषता भनेको यसको सामाजिक समावेशिता हो। यस पर्वमा समाजका विभिन्न जाति, वर्ग, भाषा र समुदायका मानिस एउटै घाटमा भेला भएर पूजा तथा आराधना गर्छन्। पूजाका लागि घाट निर्माण, सरसफाइ, सजावट र व्यवस्थापनमा समेत सामूहिक सहभागिता रहने गर्छ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिने क्रममा सबै समुदायका मानिस एकै स्थानमा उपस्थित हुने भएकाले छठले आपसी सद्भाव, सहकार्य र सामाजिक एकताको भावना बलियो बनाउँछ।
सूर्यलाई जीवनशक्ति र ऊर्जाको स्रोतका रूपमा मान्ने परम्परासँग जोडिएको छठपर्व प्रकृति र मानवबीचको सम्बन्धलाई सम्मान गर्ने पर्व पनि हो। सूर्य, जल, माटो, वनस्पति तथा प्राकृतिक स्रोतलाई पूजा सामग्रीका रूपमा प्रयोग गरिने यस पर्वले प्रकृतिप्रतिको कृतज्ञता र संरक्षणको सन्देशसमेत दिन्छ।
यसरी तराई–मधेशको मौलिक धार्मिक तथा सांस्कृतिक पहिचानका रूपमा सुरु भएको छठपर्व अहिले देशका विभिन्न भूगोल र समुदायमा फैलिँदै गएको छ। धार्मिक आस्था, सांस्कृतिक पहिचान, प्रकृतिप्रतिको सम्मान र सामाजिक सद्भावलाई एकै सूत्रमा बाँध्ने भएकाले छठपर्व नेपालको बहुसांस्कृतिक समाजमा एकता र सहअस्तित्वको महत्वपूर्ण प्रतीक बन्दै गएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij