Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

याडियाका नयाँ तीन विद्युतीय स्कुटर नेपाली बजारमा

याडियाका नयाँ तीन विद्युतीय स्कुटर नेपाली बजारमा

नेपाल सम्वत् ११४६, दिल्लागाः १२ द्वादसी (२५ साउन, २०८३, १० अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला । नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले नयाँ पुस्ताका तीन विद्युतीय स्कुटर जीएस७०, जीटी७० र जीटीएम९० नेपाली बजारमा सार्वजनिक गरेको छ। आधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता र नेपाली सडक अनुकूल डिजाइनमा तयार पारिएका यी स्कुटरले दैनिक सहरी यात्रादेखि लामो दूरीको यात्रासम्मका आवश्यकता पूरा गर्ने कम्पनीले जनाएको छ।

सार्वजनिक गरिएका तीन मोडेलमध्ये जीएस७० दैनिक सहरी यात्राका लागि किफायती विकल्पका रूपमा तयार पारिएको छ। यसमा २.१ किलोवाट घण्टा क्षमताको एलएफपी ब्याट्री र २.८ किलोवाट क्षमताको अधिकतम मोटर जडान गरिएको छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण रूपमा चार्ज गरेपछि १०५ किलोमिटरसम्म यात्रा गर्न सक्नेछ।

त्यस्तै, लामो दूरीको यात्राका लागि जीटी७० उपयुक्त हुने कम्पनीको भनाइ छ। यसमा ५.७ किलोवाट घण्टा क्षमताको दुईवटा एलएफपी ब्याट्री रहेका छन्। जसमा ३.६ किलोवाट घण्टाको स्थायी र २.१ किलोवाट घण्टाको निकालेर चार्ज गर्न मिल्ने ब्याट्री रहेको छ। ३.७ किलोवाट क्षमताको अधिकतम मोटर जडान गरिएको जीटी७० ले एकपटकको पूर्ण चार्जमा २२० किलोमिटरसम्म यात्रा गर्न सक्नेछ। निकालेर चार्ज गर्न मिल्ने ब्याट्रीका कारण घर वा कार्यालयमै सहज रूपमा चार्ज गर्न सकिने सुविधा रहेको छ।

प्रिमियम श्रेणीको जीटीएम९० मा ३.६ किलोवाट घण्टा क्षमताको लिथियम ब्याट्री र ५ किलोवाट क्षमताको अधिकतम मोटर जडान गरिएको छ। यसले प्रतिघण्टा ८० किलोमिटरसम्मको अधिकतम गति लिन सक्ने र एकपटकको पूर्ण चार्जमा १५० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रविधि र सुरक्षाका दृष्टिले तीनै स्कुटरमा आधुनिक सुविधा समावेश गरिएको छ। स्कुटरमा विद्युतीय सूचना प्रदर्शन प्रणाली, ताररहित उपकरण जडान, मोबाइल नक्सा प्रदर्शन, याडिया स्मार्ट अनुप्रयोग, साँचोबिनाको सञ्चालन प्रणाली तथा पाँच जनासम्म प्रयोग गर्न मिल्ने पारिवारिक साझेदारी सुविधा उपलब्ध छन्।

यात्रालाई थप सुरक्षित र सहज बनाउन चिप्लिनबाट नियन्त्रण गर्ने प्रणाली, गति स्थिर राख्ने प्रणाली, उकालोमा रोकिँदा पछाडि नझर्ने प्रणाली, ओरालोमा गति नियन्त्रण गर्ने प्रणाली तथा अगाडि र पछाडि दुवैतर्फ डिस्क ब्रेकजस्ता सुविधा राखिएका छन्।

कम्पनीले तीनै मोडेलका ब्याट्रीमा ३ वर्ष वा ५० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराएको छ। हाल यी स्कुटर देशभर रहेका २० वटा आधिकारिक याडिया बिक्री केन्द्रमार्फत उपलब्ध छन्।

नयाँ स्कुटर सार्वजनिक गरेको अवसरमा कम्पनीले नाइमा अटो शोसम्म लागू हुने गरी तीनै मोडेलमा १० हजार रुपैयाँको विशेष नगद छुट समेत घोषणा गरेको छ। ग्राहकले नजिकैको बिक्री केन्द्रमा पुगेर स्कुटर चलाएर परीक्षण गर्न तथा किस्ताबन्दीमा खरिद गर्ने सुविधाबारे थप जानकारी लिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार