नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः १ प्रतिपदा (२८ साउन, २०८३, १३ अगष्ठ २०२६) बिहीबार, बाँपिझ्याला । पश्चिम नेपालका विभिन्न जिल्लामा देखिएको एलपी ग्यासको अभाव टार्न नेपाल आयल निगमले भारतबाट ग्यासको आयात उल्लेख्य रूपमा बढाएको छ। बजारमा अभाव देखिएपछि निगमले साउनमा अघिल्लो महिनाको तुलनामा १ हजार ३४४ मेट्रिक टन बढी ग्यास आयात गरेको हो।
नेपाल आयल निगम लिमिटेड नेपालगन्जका प्रमुख अजितकुमार पोखरेलका अनुसार असारमा ३ हजार ६३६ मेट्रिक टन ग्यास आयात भएकोमा साउनमा बढाएर ४ हजार ९८० मेट्रिक टन पुर्याइएको छ। साउनमा आयात भएको ग्यास असारको तुलनामा करिब ९३ हजार ९८० सिलिन्डर बढी हो।
असारको अन्तिम सातादेखि नै बजारमा ग्यास अभाव हुन थालेको गुनासो आएपछि साउनमा आयात बढाइएको पोखरेलले बताउनुभयो। उहाँका अनुसार भारतबाट नियमित रूपमा ग्यास आपूर्ति भइरहेकाले आयातमा कुनै समस्या छैन।
उहाँले भन्नुभयो, “ग्यास अभाव हुने हल्लाका कारण उपभोक्ताले घरमा भएका सबै सिलिन्डर भराएर राख्न खोज्दा बजारमा केही समय अभाव देखिएको हो। आयातमा समस्या छैन, मागअनुसार ग्यास आइरहेको छ।”
भारतबाट आयात बढाएपछि नेपालगन्ज र आसपासका क्षेत्रमा पछिल्लो समय ग्यासको अभाव कम हुँदै गएको निगमले जनाएको छ। बाँके, बर्दिया, दाङसँगै कर्णालीका जिल्लामा समेत आपूर्ति सहज बनाउन आयात र वितरणमा ध्यान दिइएको निगमको भनाइ छ।
निगमका अनुसार साउनमा नेपालगन्जस्थित भेरी ग्यास उद्योगले २ हजार ८३९ मेट्रिक टन, मनकामना ग्यास उद्योगले ९११ मेट्रिक टन, नेपाल कर्णाली ग्यास उद्योगले ३२९ मेट्रिक टन र दाङस्थित राप्ती ग्यास उद्योगले ८९९ मेट्रिक टन ग्यास आयात गरेका छन्।
साउनमा नेपालगन्ज क्षेत्रमा मात्रै २७७ बुलेट अर्थात् ३ लाख ५१ हजार ७९० सिलिन्डर ग्यास आयात भएको निगमले जनाएको छ। निगमका नेपालगन्ज प्रमुख पोखरेलले पछिल्लो आयातको परिमाण बजारको माग धान्न पर्याप्त हुने दाबी गर्नुभएको छ।
नेपालगन्जस्थित भेरी ग्यास उद्योगमा ५४० मेट्रिक टनसम्म ग्यास भण्डारण गर्न सकिने क्षमता छ। उद्योगले दैनिक ९ हजार सिलिन्डरसम्म उत्पादन गर्न सक्छ। मनकामना र दाङको राप्ती ग्यास उद्योगमा दुई–दुई सय मेट्रिक टन ग्यास भण्डारण क्षमता रहेको छ। यी दुवै उद्योगले दैनिक करिब २ हजार ५०० सिलिन्डर उत्पादन गर्छन्। नेपाल कर्णाली ग्यास उद्योगको दैनिक उत्पादन क्षमता १ हजार २०० सिलिन्डर रहेको छ।
यसैबीच, बाँकेमा ग्यासको उपलब्धता र वितरण अवस्थाबारे जिल्ला प्रशासन कार्यालयले अनुगमनलाई निरन्तरता दिएको जनाएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले सहायक प्रमुख जिल्ला अधिकारी महेश गुरुङको नेतृत्वमा नियमित बजार अनुगमन भइरहेको र जिल्लामा अहिले ग्यासको अभाव नरहेको बताउनुभयो।
तर, ग्यास व्यवसायीहरूले भने उद्योगबाट मागअनुसार ग्यास नपाउँदा अझै केही समस्या रहेको बताएका छन्। नेपालगन्जको कोरियनपुरकी ग्यास व्यवसायी गीता रेग्मीले यसअघि मासिक ३ हजार ५०० सिलिन्डर पाउँदै आएकोमा गत महिनादेखि २ हजार ४०० सिलिन्डर मात्रै पाउन थालेको बताउनुभयो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij