नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ४ चौथी (३१ साउन, २०८३, १६ अगष्ठ २०२६) आईतबार, बाँपिझ्याला । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्ममा खुद मुनाफा ४७.५८ प्रतिशतले वृद्धि गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद मुनाफा रु ८ अर्ब ८६ करोड ४६ लाख पुगेको हो।
गत आर्थिक वर्षको सोही अवधिमा नेपाल टेलिकमको खुद मुनाफा रु ६ अर्ब ७० करोड ६७ लाख थियो। यस वर्ष कम्पनीको खुद मुनाफा एक वर्षको अवधिमा रु २ अर्ब १५ करोड ७९ लाख बढेको हो।
त्यस्तै, कम्पनीको कुल सञ्चालन आय पनि बढेको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म कुल सञ्चालन आय रु ३४ अर्ब ९५ करोड ४ लाख पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय रु ३३ अर्ब ८९ करोड ४५ लाख रहेको थियो। यस आधारमा कुल सञ्चालन आय रु १ अर्ब ५ करोड ५९ लाख अर्थात् ३.१२ प्रतिशत बढेको हो।
कम्पनीको कुल आयसमेत वृद्धि भएर रु ३९ अर्ब १९ करोड ९६ लाख पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कुल आय रु ३८ अर्ब १८ करोड ८१ लाख थियो। यस वर्ष कुल आय रु १ अर्ब १ करोड १५ लाख अर्थात् २.६५ प्रतिशत बढेको हो।
नेपाल टेलिकमको करअघिको मुनाफामा पनि उल्लेख्य वृद्धि भएको छ। समीक्षा अवधिमा करअघिको मुनाफा रु १३ अर्ब २६ करोड ४७ लाख पुगेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा करअघिको मुनाफा रु ९ अर्ब ८५ करोड २ लाख थियो। यस वर्ष करअघिको मुनाफा रु ३ अर्ब ४१ करोड ४५ लाख अर्थात् ३४.६६ प्रतिशत बढेको कम्पनीले जनाएको छ।
त्यस्तै, कम्पनीको EBITDA रु २० अर्ब ४८ करोड १ लाख पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा EBITDA रु १८ अर्ब ४९ करोड ६० लाख रहेको थियो। यसअनुसार EBITDA रु १ अर्ब ९८ करोड ४१ लाख अर्थात् १०.७३ प्रतिशत बढेको छ।
कम्पनीको वार्षिकीकृत प्रति शेयर आम्दानी (EPS) रु ४९.२५ रहेको छ।
नेपाल टेलिकमका अनुसार ब्याजदर क्रमिक रूपमा घट्दै गएकाले कम्पनीको ब्याज आम्दानीमा कमी आएको छ। गत आर्थिक वर्षको चौथो त्रैमासिकको तुलनामा समीक्षा अवधिमा ब्याज आम्दानी करिब रु ८६ करोड १९ लाख अर्थात् २२.८८ प्रतिशत घटेको छ।
यद्यपि, GSM सेवातर्फको राजस्व बढ्दा कम्पनीको समग्र सञ्चालन आय वृद्धि भएको हो। GSM सेवाबाट प्राप्त राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु ६४ करोड ५४ लाख अर्थात् २.२८ प्रतिशत बढेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार मोबाइल तथा अन्य सञ्चार सेवाको प्रयोग र राजस्वमा भएको वृद्धिले सञ्चालन आम्दानी बढाउन सहयोग गरेको हो।
नेपाल टेलिकमले राष्ट्रको सञ्चार सेवाका रूपमा विकट तथा दुर्गम क्षेत्रमा समेत सेवा विस्तार र गुणस्तर सुधारलाई निरन्तरता दिइरहेको जनाएको छ।
दुर्गम तथा ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्दा तुलनात्मक रूपमा लागत बढी र प्रतिफल कम हुने भए पनि नागरिकलाई सञ्चार सेवाको पहुँच सुनिश्चित गर्ने उद्देश्यले कम्पनीले त्यस्ता क्षेत्रमा सेवा विस्तार गर्दै आएको जनाएको छ।
कम्पनीले आगामी दिनमा पनि सेवाको गुणस्तर सुधार, पहुँच विस्तार तथा ग्राहकलाई थप प्रभावकारी सञ्चार सेवा उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राख्ने जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij