नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ५ पञ्चमी (१ भाद्र २०८३, १७ अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला । नेपाली कांग्रेस संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले शीर्ष नेताहरूलाई समेत समेटेर अघि बढ्ने वातावरण बनेमा पार्टी सभापति गगन थापालाई स्वीकार गर्न आफूहरू तयार रहेको बताएका छन्।
चुनदेवीस्थित संस्थापनइतर समूहको सम्पर्क कार्यालयबाहिर सोमबार पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले पार्टीका वरिष्ठ नेताहरूलाई पन्छाएर अघि बढ्न नहुने धारणा राखे। उनले सभापति थापालाई नेतृत्वमा स्वीकार गर्न आफूहरू तयार रहेको तर पार्टीका अन्य वरिष्ठ नेताहरूलाई पनि समेटिनुपर्ने बताए।
‘सिनियर मान्छेलाई राख्नुपर्यो, छुटाउनु भएन। सभापति गगन थापाजी तपाईं नै बस्नुस्। तर, अरू साथीहरूलाई समेट्नुस् न। केही पनि नमाने त हामीले के गर्न सक्छौं,’ कोइरालाले भने।
पत्रकारले गगन थापालाई नै सभापति मान्न तयार हो भन्ने प्रश्न दोहोर्याएपछि उनले स्पष्ट रूपमा भने, ‘सभापति गगन थापालाई नै मान्न हामी तयार छौं।’
कोइरालाले पार्टीभित्र देखिएको दुई पक्षबीचको विवाद समाधान गरी सहमति खोज्न आफू निरन्तर प्रयत्नशील रहेको पनि बताए। उनले पूर्वसभापति शेरबहादुर देउवा र वर्तमान सभापति गगन थापाबीचको दूरी कम गर्न आफूले पहल गरिरहेको जानकारी दिए।
आफूले सभापति थापासँग पटक–पटक संवाद गरिरहेको उल्लेख गर्दै कोइरालाले भेटका क्रममा आफूलाई एक्लै आफ्नो पक्षमा ल्याउने प्रयास भए पनि आफूले त्यसलाई अस्वीकार गरेको बताए। सबै पक्षलाई समेटेर अघि बढ्ने वातावरण बनेमा मात्र आफू सहमत हुने उनको भनाइ थियो।
‘मलाई तानेर हुँदैन। म जाँदै जान्नँ। मलाई तान्नु छ भने सबैलाई तान्नुपर्यो,’ कोइरालाले भने।
पार्टीभित्रको विवाद मूलतः पदका लागि भइरहेको उनको टिप्पणी थियो। दुवै पक्षले आफूहरूलाई वास्तवमा के चाहिएको हो भन्ने कुरा स्पष्ट रूपमा राख्नुपर्ने उनको भनाइ छ।
‘हृदय क्लियर गरेर भन्न सक्नुपर्यो नि। दुवै पक्षले भन्न सक्नुपर्यो—हामीलाई के चाहिन्छ भनेर। चाहिने त त्यही पद हो। अरू के चाहिने हो र? पद नचाहिएको भए यत्रो लडाइँ किन हुन्थ्यो?’ कोइरालाले प्रश्न गरे।
कोइरालाको पछिल्लो अभिव्यक्तिलाई कांग्रेसभित्रको नेतृत्व विवाद समाधानका लागि सहमतिको सम्भावना खोज्ने प्रयासका रूपमा हेरिएको छ। वरिष्ठ नेताहरूलाई समेटेर नेतृत्व अघि बढाउनुपर्ने उनको जोडले संस्थापन र संस्थापनइतर समूहबीचको दूरी घटाउने प्रयासलाई थप महत्व दिएको देखिन्छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij