Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

नेपाल टेलिकमको नाफामा उल्लेख्य वृद्धि, वार्षिक खुद मुनाफा ८ अर्ब ८६ करोड

नेपाल टेलिकमको नाफामा उल्लेख्य वृद्धि, वार्षिक खुद मुनाफा ८ अर्ब ८६ करोड

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ६ षष्ठी (२ भाद्र २०८३, १८ अगष्ठ २०२६) मंगलबार, बाँपिझ्याला । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्नो नाफामा उल्लेख्य वृद्धि गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्षको चौथो त्रैमासिकसम्म नेपाल टेलिकमको खुद मुनाफा ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ पुगेको छ।

यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ अर्थात् ४७ दशमलव ५८ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकसम्म कम्पनीको खुद मुनाफा ६ अर्ब ६७ लाख रुपैयाँ थियो।

चौथो त्रैमासमै ४ अर्ब २० करोड नाफा

गत वैशाखदेखि असार मसान्तसम्म मात्रै नेपाल टेलिकमले ४ अर्ब २० करोड २४ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको नाफा ३ अर्ब १४ करोड ८० लाख १८ हजार रुपैयाँ थियो। यसअनुसार चौथो त्रैमासमा मात्रै कम्पनीको नाफा १ अर्ब ५ करोड ४४ लाख ३४ हजार रुपैयाँले बढेको हो।

गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले १० अर्ब ३४ करोड ४७ लाख ५२ हजार रुपैयाँ कुल आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ९ अर्ब ७५ करोड ६५ लाख ३९ हजार ७८२ रुपैयाँ थियो। एक वर्षमा कुल आम्दानी ५८ करोड ८२ लाख १२ हजार ४२८ रुपैयाँले बढेको छ।

डाटा खपत बढ्दा आम्दानीमा सुधार

नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार पछिल्लो समय ‘फाइबर टु द होम’ (एफटीटीएच) तथा जीएसएम डाटाको खपत बढेका कारण कम्पनीको आम्दानीमा सुधार आएको हो।

उहाँका अनुसार पछिल्लो समय भ्वाइस सेवाको तुलनामा डाटा खपत बढिरहेको छ। साथै कम्पनीको सञ्चालन खर्चसमेत अघिल्लो वर्षको तुलनामा घटेको छ। आम्दानी बढ्नु र खर्च घट्नुले समग्र नाफामा सकारात्मक प्रभाव पारेको कम्पनीको भनाइ छ।

कम्पनीले विज्ञापन, प्रायोजनलगायतका शीर्षकमा हुने खर्च कटौतीबाट पनि उल्लेख्य बचत गरेको जनाएको छ। गत आर्थिक वर्षमा यस्ता खर्च कटौतीबाट करिब १० देखि १५ करोड रुपैयाँ बचत भएको कम्पनीले जनाएको छ। सेवा सञ्चालन तथा मर्मतसम्भार खर्चसमेत घटेको छ भने नियामकलाई तिर्नुपर्ने रकम अघिल्लो आर्थिक वर्षको तुलनामा कम भएको छ।

करअघिको मुनाफा १३ अर्ब २६ करोड

समीक्षा अवधिमा नेपाल टेलिकमको करअघिको मुनाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो मुनाफा ९ अर्ब ८५ करोड २ लाख रुपैयाँ थियो। यसअनुसार करअघिको मुनाफा ३ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ अर्थात् ३४ दशमलव ६६ प्रतिशतले बढेको हो।

त्यस्तै, ब्याज, कर, ह्रासकट्टी तथा अमोर्टाइजेसनअघिको आम्दानी (EBITDA) २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी १८ अर्ब ४९ करोड ६० लाख रुपैयाँ थियो। यसमा १ अर्ब ९८ करोड ४१ लाख रुपैयाँ अर्थात् १० दशमलव ७३ प्रतिशत वृद्धि भएको छ।

कम्पनीको कुल सञ्चालन आय पनि बढेर ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आय ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँ थियो। सञ्चालन आय १ अर्ब ५ करोड ५९ लाख रुपैयाँ अर्थात् ३ दशमलव १२ प्रतिशतले बढेको हो।

कम्पनीको कुल आय ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा कुल आय ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ थियो। यसअनुसार कुल आय १ अर्ब १ करोड १५ लाख रुपैयाँ अर्थात् २ दशमलव ६५ प्रतिशतले बढेको छ। कम्पनीको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी ४९ दशमलव २५ रुपैयाँ रहेको छ।

जीएसएम सेवाको राजस्व बढ्यो

कम्पनीका अनुसार ब्याजदर क्रमिक रूपमा घटेका कारण समीक्षा अवधिमा ब्याज आम्दानी भने घटेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकको तुलनामा गत आर्थिक वर्षमा ब्याज आम्दानी करिब ८६ करोड १९ लाख रुपैयाँ अर्थात् २२ दशमलव ८८ प्रतिशतले घटेको छ।

तर, मुख्य दूरसञ्चार सेवाबाट हुने आम्दानी बढेका कारण सञ्चालन आय र नाफामा सकारात्मक प्रभाव परेको कम्पनीले जनाएको छ। विशेषगरी जीएसएम सेवातर्फको राजस्वमा वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा जीएसएम सेवाको राजस्व ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् २ दशमलव २८ प्रतिशतले बढेको छ।

सेवा सुधारले ग्राहकको अनुभव सहज

सरकारले नेपाल टेलिकमको पहुँच, गुणस्तर र सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राख्दै विभिन्न सुधारका कार्यक्रम अघि बढाएको जनाएको छ। शासकीय सुधारसम्बन्धी १०० कार्यसूची तथा सूचना तथा सञ्चार मन्त्रालयको नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणालीअन्तर्गतको १० बुँदे सुधारात्मक कार्ययोजनामा समेत नेपाल टेलिकमको सेवा सुधारलाई प्राथमिकता दिइएको थियो।

सुधारअन्तर्गत डाटा प्याकेज सकिएपछि ग्राहकको मुख्य ब्यालेन्सबाट स्वतः रकम काटिने अवस्थालाई अन्त्य गरिएको छ। सबै सेवा अनलाइन बनाउने तथा ‘वान टाइम केवाईसी’ लागू गर्ने कामसमेत अघि बढाइएको छ।

‘पे–एज–यू–गो’ प्रणाली लागू भएपछि ग्राहकले डाटा सकिएपछि स्वतः शुल्क कटाउने वा नयाँ प्याकेज खरिद गर्ने विषयमा आफ्नो रोजाइअनुसार निर्णय गर्न सक्ने सुविधा पाएका छन्।

त्यस्तै, ई–सिम वितरण, गुनासो व्यवस्थापन, हराएको सिम पुनःप्राप्ति तथा स्वामित्व हस्तान्तरणलगायतका सेवा अनलाइनबाट उपलब्ध गराउन थालिएको छ।

४जी सेवा विस्तार र ‘एकल बिन्दु सेवा’

दूरसञ्चार सेवामा नागरिकको पहुँच र सहजीकरण बढाउन नेपाल टेलिकमका कार्यालयमा ‘एकल बिन्दु सेवा’ सहायता कक्ष स्थापना गरिएको छ। यसबाट ग्राहकले एउटै स्थानबाट विभिन्न सेवा लिन सहज भएको कम्पनीको भनाइ छ।

४जी सेवाको गुणस्तर सुधारका लागि समेत महत्वपूर्ण नीतिगत पहल गरिएको छ। ४जी सेवाको पहुँच र गुणस्तर विस्तार गर्न थप फ्रिक्वेन्सी उपलब्ध गराइएको छ।

सरकार र कम्पनीले सेवा सुधार, डिजिटल प्रणालीको विस्तार, अनावश्यक खर्च नियन्त्रण तथा ग्राहक सेवामा सुधारलाई निरन्तरता दिँदै जाने हो भने आगामी दिनमा नेपाल टेलिकमको वित्तीय प्रदर्शन थप सुदृढ हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार