Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

बाढीका शवले भरिए अस्पताल, ७३४ मृतकमध्ये ७१२ जनाको पहिचान खुल्न बाँकी

बाढीका शवले भरिए अस्पताल, ७३४ मृतकमध्ये ७१२ जनाको पहिचान खुल्न बाँकी

नेपाल सम्वत् ११४६, गुंल्लागाः २, द्वितिया (१४ भाद्र २०८३, ३० अगष्ठ २०२६) आईतबार, बाँपिझ्याला । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि मृत्यु भएका ७३४ जनाको शव फेला परेको छ। तर तीमध्ये हालसम्म २२ जनाको मात्रै सनाखत हुन सकेको नेपाल प्रहरीले जनाएको छ। अधिकांश शवको पहिचान खुल्न नसक्दा शव व्यवस्थापन तथा पोस्टमार्टम प्रक्रिया चुनौतीपूर्ण बनेको छ।

बाढी प्रभावित विभिन्न जिल्लाबाट संकलन गरिएका शवहरू सरकारी तथा निजी अस्पतालका शवगृहमा राखिएको भए पनि क्षमता अभावका कारण अस्पतालहरू दबाबमा परेका छन्। अन्य कारणले मृत्यु भएका व्यक्तिहरूको पनि पोस्टमार्टम गर्नुपर्ने भएकाले शवगृहमा लामो समयसम्म शव राख्न कठिन भएको अस्पतालहरूले बताएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार देशभरका सरकारी अस्पतालमा करिब ६ सय शव राख्ने क्षमता रहेको छ। तर बाढीपछि शवको संख्या अत्यधिक बढेपछि अधिकांश शवगृह भरिएका छन्।

सबैभन्दा बढी प्रभावित अस्पतालमध्ये त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा १५० शव राख्ने क्षमता भए पनि हालसम्म करिब १०० शव ल्याइसकिएको छ। ती शव नुवाकोट, धादिङ, रसुवा, गोरखा लगायतका जिल्लाबाट संकलन गरी ल्याइएको हो। त्यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९२ शव राखिएको छ भने नवलपुरको मध्यविन्दु अस्पताल तथा अन्य निजी अस्पतालमा ३० भन्दा बढी शव छन्। चितवनस्थित मेडिकल कलेजहरूमा मात्रै २५० भन्दा बढी शव राखिएको मन्त्रालयले जनाएको छ।

डा. अधिकारीका अनुसार रसुवा, काठमाडौं, नुवाकोट, धादिङ, चितवन, गोरखा, पोखरा, नवलपुर, ललितपुर र भक्तपुरलगायत जिल्लामा रहेका करिब चार सय शवगृहमध्ये अधिकांश क्षमता नजिक पुगेका वा भरिएका छन्। यही अवस्थालाई ध्यानमा राख्दै चितवनमा थप पाँच सय शव राख्न सक्ने अस्थायी शवगृह निर्माणको काम अघि बढाइएको छ।

हाल चितवनको पुरानो मेडिकल कलेज, त्रिवि शिक्षण अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सयभन्दा बढी शव राख्न मिल्ने सुविधा रहेको छ। अन्य अधिकांश अस्पतालका शवगृहमा भने १० देखि १५ शव मात्रै राख्न सकिने क्षमता छ।

यसैबीच बाढीमा घाइते भई उपचारका लागि अस्पताल पुर्‍याइएका पाँच जनाको उपचारकै क्रममा मृत्यु भएको छ। राष्ट्रिय ट्रमा सेन्टर र त्रिवि शिक्षण अस्पतालमा एक–एक जना, त्रिशूली अस्पतालमा दुई जना तथा रसुवा अस्पतालमा एक जनाको मृत्यु भएको अस्पतालहरूले पुष्टि गरेका छन्। उनीहरूलाई गम्भीर अवस्थामा उद्धार गरी अस्पताल ल्याइएको थियो।

बाढीपछि बेपत्ता व्यक्तिहरूको खोजी, शवको पहिचान, डीएनए परीक्षण तथा आफन्तसम्म जानकारी पुर्‍याउने कामलाई तीव्र बनाइएको भए पनि शवको ठूलो संख्या र पहिचानमा देखिएको जटिलताले उद्धार तथा व्यवस्थापन कार्य अझै चुनौतीपूर्ण बनेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार