नेपाल सम्वत् ११४६, गुंल्लागाः ५, पञ्चमी (१७ भाद्र २०८३, २ सेप्टेम्वर २०२६) बुधबार, बाँपिझ्याला । नेपाली चलचित्रका महानायक राजेश हमालले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि २१ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्। अस्ट्रेलियामा आयोजित आफू सहभागी ‘मिट एन्ड ग्रीट’ कार्यक्रमबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हमालले जानकारी दिएका छन्।
सोमबार अस्ट्रेलियाको राजधानी क्यानबेरामा आयोजित कार्यक्रममा हमालका शुभेच्छुक तथा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा संकलित रकम नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि कोषमा पठाइएको हो।
हमालका अनुसार अस्ट्रेलियामा अझै दुईवटा कार्यक्रम आयोजना हुन बाँकी छन्। आगामी सेप्टेम्बर ५ मा क्वीन्सल्यान्ड राज्यको उत्तरी सहर केर्न्स तथा सेप्टेम्बर ९ मा ब्रिसबेनमा ‘मिट एन्ड ग्रीट’ कार्यक्रम आयोजना गरिनेछ। ती कार्यक्रमबाट संकलन हुने रकमसमेत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण गरिने जनाइएको छ।
हमाल सहभागी यी सबै कार्यक्रमको आयोजना नेपाली रेस्टुरेन्ट चेन ‘८८४८ मःम हाउस’ले गरेको हो। विदेशमा रहेका नेपाली समुदायलाई आफ्नो मातृभूमिप्रति उत्तरदायी बन्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रममार्फत सहयोग अभियान सञ्चालन गरिएको बताइएको छ।
भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ। यस्तो अवस्थामा कलाकार, गैरआवासीय नेपाली तथा विभिन्न संघसंस्थाबाट सहयोग जुट्ने क्रम जारी छ।
महानायक हमालको यो सहयोगलाई बाढीपीडितप्रति देखाइएको सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको उदाहरणका रूपमा हेरिएको छ। हमाल आगामी सेप्टेम्बर १० मा स्वदेश फर्किने कार्यक्रम रहेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij