Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

तिखातलवासीको मानवीय सहयोग : बाढीपहिरो पीडितका लागि रु. १७ हजार २५१

तिखातलवासीको मानवीय सहयोग : बाढीपहिरो पीडितका लागि रु. १७ हजार २५१

नेपाल सम्वत् ११४६, यंलाथ्वः १०, दशमी (५ असोज २०८३, २१ सेप्टेम्वर, २०२६) सोमबार, बाँपिझ्याला ।  रसुवा, नुवाकोट तथा धादिङ जिल्लामा २०८३ साल भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट ठूलो मात्रामा मानवीय र भौतिक क्षति पुगेपछि दोलखाको भीमेश्वर नगरपालिका–२, तिखातलस्थित विभिन्न संघ–संस्था तथा स्थानीय व्यक्तिहरूले प्रधानमन्त्री दैवी उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेका छन्।

स्थानीय संघसंस्था तथा समाजसेवीहरूको संयुक्त पहलमा संकलन गरिएको रु. १७ हजार २५१ रकम प्रधानमन्त्री दैवी उद्धार कोषमा जम्मा गरिएको हो। सहयोगदाताहरूले बाढी तथा पहिरोका कारण ज्यान गुमाएका दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

सहयोग अभियानअन्तर्गत तिखातल सामुदायिक वन उपभोक्ता समूहले रु. ५ हजार १०१, तिखातल टोल विकास संस्थाले रु. २ हजार ५००, टाइगर टिम खानेपानी उपभोक्ता समितिले रु. २ हजार ५००, तिखातल परोपकार संस्थाले रु. १ हजार ५००, टाइगर टिम तिखातलले रु. १ हजार, अविरल आइपीएनएस कृषक समूहले रु. १ हजार तथा छहरादेवी आमा समूहले रु. १ हजार सहयोग गरेका छन्।

त्यसैगरी स्थानीय व्यक्तिहरूमध्ये काजीबहादुर गोलेले रु. २ हजार ५०, राममाया जोशीले रु. ५०० तथा पेशलकुमारी योगीले रु. १०० सहयोग प्रदान गरेका छन्।

स्थानीयवासीका अनुसार विपद्को कठिन घडीमा पीडितहरूको साथमा उभिने उद्देश्यले सहयोग रकम संकलन गरिएको हो। सानो रकम भए पनि विपद्बाट प्रभावित परिवारहरूको राहत तथा पुनर्स्थापनामा केही योगदान पुग्ने विश्वासका साथ सहयोग गरिएको समाजसेवी तिर्थबहादुर जोशीले बताएका छन्।

हाल देशका विभिन्न स्थानबाट संघसंस्था, स्थानीय तह, व्यवसायी तथा सर्वसाधारणले प्रधानमन्त्री दैवी उद्धार कोषमार्फत बाढीपहिरो पीडितलाई सहयोग गर्ने अभियानलाई निरन्तरता दिइरहेका छन्। तिखातलका संघसंस्था र स्थानीयबासीको यो सहयोगलाई पनि मानवीय सहकार्य र सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार