नेपाल सम्वत् ११४६, यंलाथ्वः १०, दशमी (५ असोज २०८३, २१ सेप्टेम्वर, २०२६) सोमबार, बाँपिझ्याला । नेपालको सेयर बजारमा प्रयोग हुँदै आएको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा साइबर आक्रमण भएपछि सोमबारको सेयर कारोबार प्रभावित भएको छ। र्यानसमवेयर आक्रमणका कारण टिएमएस होस्ट भइरहेको पूर्वाधारमा समस्या आएपछि कारोबार रोकिएको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ९२ ब्रोकर कम्पनीमध्ये ७२ वटाले नेप्सेले उपलब्ध गराएको टिएमएस प्रयोग गर्दै आएका छन्। उक्त प्रणाली वाइको प्रालिले विकास गरेको हो भने यसको ब्याकअप डेटा हब प्रालिले व्यवस्थापन गर्दै आएको छ।
डेटा हबले आइतबार बिहान करिब ५ः३० बजे टिएमएस होस्ट भइरहेको पूर्वाधारमा र्यानसमवेयर आक्रमण भएको जानकारी वाइकोलाई गराएको थियो। त्यसपछि वाइकोले ब्रोकर कम्पनी तथा नेप्सेलाई सम्भावित जोखिमबारे जानकारी गराएको हो।
डेटा हबका अनुसार आक्रमण हुनुअघि आइतबार बिहान करिब ४ बजे सम्पूर्ण पूर्वाधारको ब्याकअप लिएर सुरक्षित र अलग स्थानमा राखिएको छ। तर र्यानसमवेयर अन्य जोडिएका सञ्जालमा समेत फैलिएको हुनसक्ने आशंकामा प्रभावित प्रणाली तत्काल सञ्चालनमा नल्याइएको जनाइएको छ।
वाइकोले ब्रोकर कम्पनीहरूलाई पठाएको जानकारीअनुसार डेटा सेन्टरबाट सञ्चालन हुने टिएमएस, सिडिएस एन्ड क्लियरिङ (सिडिएससी) सम्बन्धी प्रणाली, भुक्तानी प्रणाली तथा अन्य अन्तरसम्बन्धित सेवाहरू समेत प्रभावित भएको हुनसक्ने देखिएको छ।
आक्रमणपछि कति प्रणालीमा समस्या आयो, आक्रमणकारीले कुन–कुन प्रणालीमा पहुँच बनाए तथा कुनै तथ्यांक चोरी भयो वा भएन भन्नेबारे अहिलेसम्म स्पष्ट जानकारी सार्वजनिक भएको छैन।
डेटा हबले प्रभावित पूर्वाधारको अवस्था पत्ता लगाउन फरेन्सिक अनुसन्धान तथा सुरक्षा परीक्षण गरिरहेको जनाएको छ। अनुसन्धान पूरा गरी आवश्यक सुधारात्मक उपाय अपनाएपछि मात्रै प्रणाली पुनः सञ्चालन गर्ने तयारी छ।
साइबर आक्रमणका कारण उत्पन्न समस्या समाधानमा कति समय लाग्छ भन्ने स्पष्ट भइसकेको छैन। मंगलबार सेयर बजार नियमित रूपमा खुल्ने वा नखुल्नेबारे समेत सम्बन्धित निकायले औपचारिक निर्णय गरिसकेका छैनन्।
धितोपत्र बोर्डका प्रवक्ता निरञ्जन घिमिरेले घटनाबारे विस्तृत जानकारी अझै प्राप्त नभएकाले मंगलबार बजार खुल्ने वा नखुल्नेबारे अहिले नै भन्न नसकिने बताएका छन्।
घटनाबारे जानकारी प्राप्त भएपछि बोर्डले प्राविधिक तथा अन्य समस्या पहिचान गर्न उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोली समेत खटाएको छ। बोर्डले यस्ता घटना दोहोरिन नदिन नेप्सेलाई असोज १२ गतेभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।
आक्रमणअघि लिइएको पूर्ण ब्याकअप सुरक्षित रहेको र प्रयोग गर्न मिल्ने प्रमाणित भएमा प्रणाली पुनःस्थापनामा त्यसले महत्वपूर्ण सहयोग पुग्ने देखिन्छ। तर ब्याकअप सुरक्षित भए पनि आक्रमणको दायरा, प्रणालीमा भएको सम्भावित क्षति र आक्रमणकारीको पहुँच पूर्ण रूपमा हटाइएको सुनिश्चित गर्नुपर्ने भएकाले तत्काल प्रणाली सञ्चालनमा ल्याउन चुनौती रहेको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि वित्तीय संस्थाहरू एउटै तेस्रो पक्ष प्रविधि सेवा प्रदायकमा निर्भर हुँदा एउटा सेवा प्रदायकमाथिको साइबर आक्रमणले एकैपटक धेरै वित्तीय संस्थालाई असर पार्न सक्ने जोखिम औंल्याउँदै आएको छ।
नेपालको सेयर बजारमा वाइको तेस्रो पक्ष प्रविधि सेवा प्रदायकका रूपमा संलग्न छ। वाइकोले नेप्सेको कारोबार प्रणाली निर्माण गरेको हो।
वाइको तथा इसेयर सोलुसनका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले आफूहरू अहिले समस्या समाधानमा केन्द्रित रहेको र यसबारे थप जानकारी दिन नसक्ने बताएका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij