Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

भारी वर्षाको सम्भावना, बाढीको पूर्वानुमान अवधि पाँच दिनसम्म

भारी वर्षाको सम्भावना, बाढीको पूर्वानुमान अवधि पाँच दिनसम्म

नेपाल सम्वत् ११४६, यंलाथ्वः १३, त्रयोदशी (८ असोज २०८३, २४ सेप्टेम्वर, २०२६) बिहीबार, बाँपिझ्याला । नेपालमा हाल मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्र थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने क्रममा रहेकाले आगामी दिनमा वर्षा अझ सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर सामान्यतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा पनि बिहानैदेखि झरी परेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश भूभागमा बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली–पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

त्यस्तै, मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा धेरै स्थानमा तथा सुदूरपश्चिमको तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा समेत हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। मधेस तथा कोशी प्रदेशका तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको छ।

आज राति पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश भूभागमा बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा धेरै स्थानमा र कर्णाली तथा सुदूरपश्चिमका हिमाली–पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेसका एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ। कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। तराईका केही क्षेत्रमा हावाहुरी पनि चल्न सक्ने पूर्वानुमान छ।

बाढी पूर्वानुमान अवधि पाँच दिन पुर्‍याइयो

यसैबीच, जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले प्रमुख नदीहरूको बाढी पूर्वानुमानको अवधि तीन दिनबाट बढाएर पाँच दिन पुर्‍याएको छ।

केन्द्रले बुधबारदेखि नेपालभरका स–साना नदी तथा खोलामा आउन सक्ने आकस्मिक बाढी (फ्ल्यास फ्लड) को जोखिम पूर्वानुमानसमेत २४ घण्टाबाट बढाएर ४८ घण्टासम्म गर्न थालेको जनाएको छ।

केन्द्रका उपकार्यकारी निर्देशक तथा प्रवक्ता डा. राजन भट्टराईका अनुसार बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवामा थप सुधार गर्दै पूर्वानुमानको समयावधि विस्तार गरिएको हो।

केन्द्रले आफ्नै नेपालकेन्द्रित बाढी पूर्वानुमान मोडल तथा ईसीएमडब्ल्यूएफ इन्सेम्बल पूर्वानुमानमा आधारित प्रणालीलाई विश्वव्यापी तथा क्षेत्रीय जलविज्ञानसम्बन्धी विभिन्न मोडलसँग एकीकृत गरी नयाँ पूर्वानुमान प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ।

आकस्मिक बाढीको दुईदिने जोखिम पूर्वानुमान तयार गर्दा वर्षाको पूर्वानुमान, भू–चिस्यान, नदीको हालको जलसतह तथा प्रवाह, जलाधारको अवस्था र दक्षिण एसिया आकस्मिक बाढी विश्लेषण प्रणालीलगायत विभिन्न जलविज्ञानसम्बन्धी सूचकको समग्र विश्लेषण गरिने केन्द्रले जनाएको छ।

यसबाट सम्भावित बाढी तथा आकस्मिक बाढीको जोखिमबारे समयमै जानकारी प्राप्त हुने र पूर्वतयारी, सतर्कता, जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि थप समय उपलब्ध हुने अपेक्षा गरिएको छ।

केन्द्रले आगामी दिनमा स्थानविशेष तथा समयगत पूर्वानुमानको शुद्धता बढाउँदै प्रभावमा आधारित बाढी पूर्वानुमान, स्थानीय जोखिम पहिचान र पूर्वसूचना प्रणालीलाई थप सुदृढ गर्दै लैजाने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार