नेपाल सम्वत् ११४६, कौलाथ्वः ५, पञ्चमी (२९ असोज २०८३, १५ अक्टोबार, २०२६) बिहीबार, बाँपिझ्याला । जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट जुनीचाँदे गाउँपालिकातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
दुर्घटनामा जिप चालक जुनीचाँदे गाउँपालिका–९, कल्ली स्यालाका २० वर्षीय सान्तबहादुर बस्नेत र जुनीचाँदे गाउँपालिका–३, स्यालाकी ३० वर्षीया बिपना भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए।
दुर्घटनामा दिलबहादुर भण्डारी, उनका चार वर्षीय छोरा शिशिर भण्डारी र जुनीचाँदे गाउँपालिकाकी ५० वर्षीया सितला टमटा घाइते भएका छन्। दिलबहादुरको टाउको, घाँटी र छातीमा चोट लागेको छ भने बालक शिशिरको टाउको र हातमा चोट लागेको प्रहरीले जनाएको छ। त्यस्तै, टमटाको टाउको र ढाडमा चोट लागेको छ।
घाइते तीनै जनाको अवस्था मध्यम रहेको र थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रहरी नायब उपरीक्षक पुरीले बताए।
दुर्घटनाको सूचना प्राप्त भएपछि बिहान २ बजेर १५ मिनेटमा प्रहरी चौकी जुनीचाँदेबाट प्रहरी सहायक निरीक्षक किरण रानाको नेतृत्वमा तीन सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। दुर्घटनास्थल प्रहरी चौकी जुनीचाँदेबाट करिब सात किलोमिटर पूर्व–उत्तरमा रहेको जनाइएको छ।
दुर्घटना हुनुको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij