नेपाल सम्वत् ११४६, कौलाथ्वः ६, षष्ठी (३१ असोज २०८३, १७ अक्टोबार, २०२६) शनिवार, बाँपिझ्याला । जिल्ला प्रहरी कार्यालय दोलखाले असोज महिनामा सम्पादन गरेका प्रहरी गतिविधि, अपराध अनुसन्धान तथा शान्ति सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यप्रगति सार्वजनिक गरेको छ। नियमित मासिक पत्रकार भेटघाट कार्यक्रमअन्तर्गत प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोजकुमार लामाको अगुवाइमा आयोजित कार्यक्रममा जिल्लाको अपराध नियन्त्रण, राजस्व सङ्कलन, जनचेतनामूलक अभियान तथा सुरक्षा व्यवस्थापनसम्बन्धी विवरण प्रस्तुत गरिएको हो।
प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार असोज महिनामा जिल्लाभर विभिन्न प्रकृतिका १८ वटा मुद्दा दर्ता भएका छन्। ती मुद्दामा संलग्न ११ पुरुष र ३ महिलासहित १४ जना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दर्ता भएका मुद्दामध्ये भवितव्य ज्यानसम्बन्धी ६, चोरीसम्बन्धी ३, सार्वजनिक शान्तिविरुद्धका २, झुण्डिएर आत्महत्यासम्बन्धी २ तथा विष वा औषधि सेवन गरी आत्महत्या, सवारी ज्यान, आत्महत्या दुरुत्साहन, बैंकिङ कसूर र पशुसम्बन्धी कसूरका एक–एक वटा मुद्दा रहेका छन्।
फैसला कार्यान्वयनबाट ४ लाख ४० हजार रुपैयाँभन्दा बढी असुल
प्रहरीले फैसला कार्यान्वयनका क्रममा फरार प्रतिवादी पक्राउ गरी ३ वर्ष ६ महिना १९ दिन कैद भुक्तान गराउनुका साथै ४ लाख ४० हजार ५०० रुपैयाँ जरिवाना असुल गरेको छ। त्यस्तै, ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाही गरी ४ लाख ५२ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरिएको छ।
जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा उत्पादन तथा बिक्रीवितरणका लागि राखिएको घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको प्रहरीले जनाएको छ। यसैगरी, नदीजन्य पदार्थको अवैध उत्खनन तथा ढुवानीमा संलग्न सवारीसाधन नियन्त्रणमा लिई २० हजार रुपैयाँ जरिवाना गराइएको छ।
६२ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन
अपराध न्यूनीकरण तथा नागरिकमा सुरक्षा चेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रहरीले असोज महिनामा जिल्लाका विभिन्न विद्यालय तथा समुदायमा ६२ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। आत्महत्या न्यूनीकरण, साइबर अपराध, जबरजस्ती करणी, लैङ्गिक हिंसा, लागुऔषध दुर्व्यसन र सडक सुरक्षालगायतका विषयमा सञ्चालित कार्यक्रममा २ हजार ७ सय ६५ जना नागरिक तथा विद्यार्थी लाभान्वित भएका छन्।
चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना कार्यान्वयन गरिएको प्रहरीले जनाएको छ। सवारी दुर्घटना न्यूनीकरणका लागि तीव्र गति र मादक पदार्थ सेवन गरी सवारी चलाउने कार्यविरुद्ध चेकजाँचलाई कडाइ गरिएको छ। साथै, रात्रीकालीन गस्तीलाई प्रभावकारी बनाउनुका साथै सीसीटीभी क्यामेराको मर्मतसम्भार गरी निगरानी व्यवस्थालाई थप चुस्त बनाइएको छ।
जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोषकुमार खड्काद्वारा जारी प्रेस विज्ञप्तिमा शान्ति सुरक्षा कायम राख्न तथा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन नागरिक, उद्योगी, व्यवसायी र सञ्चारकर्मीसँग निरन्तर समन्वय र सहकार्य भइरहेको उल्लेख छ।
प्रहरीले आगामी दिनमा पनि नागरिकमैत्री सेवा प्रवाह, अपराध नियन्त्रण, सडक सुरक्षा र जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै जिल्लामा शान्ति सुरक्षा कायम गर्ने कार्यलाई निरन्तरता दिने जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij