Nov 15 2026 | २०८३, कार्तिक २९, गते

Nov 15 2026 | २०८३, कार्तिक २९, गते

मिस नेवाः र लिटिल नेवाःलाई टीका, जमरा र आशीर्वाद प्रदान

मिस नेवाः र लिटिल नेवाःलाई टीका, जमरा र आशीर्वाद प्रदान

नेपाल सम्वत् ११४६, कौलाथ्वः १४, चतुर्दशी (८ कार्तिक २०८३, २५ अक्टोबार, २०२६) आईतबार, बाँपिझ्याला । नेप्लीज फेसन होमको आयोजनामा विजया दशमीको अवसर पारेर मिस नेवाः तथा लिटिल नेवाःहरूलाई टीका, जमरा र आशीर्वाद प्रदान गर्ने विशेष कार्यक्रम सम्पन्न भएको छ। आपसी सद्भाव, सांस्कृतिक परम्पराको संरक्षण तथा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रम डिल्लीबजारस्थित मिस नेवाःको कार्यालयमा सम्पन्न भएको हो।

कार्यक्रममा पूर्वकुमारी माता रश्मिला शाक्यको प्रमुख आतिथ्यता रहेको थियो। उहाँले कार्यक्रममा सहभागी मिस नेवाः तिसा शाक्य, पूर्व मिस नेवाःहरू कृषा महर्जन, सकिना महर्जन, तिमिला महर्जन, शिक्षा महर्जन र फस्ट रनरअफ शारिका महर्जन लगायत लिटिल मिस नेवाःहरूलाई टीका तथा जमरा लगाइदिँदै आशीर्वाद प्रदान गर्नुभयो। कार्यक्रममा उपस्थित सहभागीहरूले एकअर्कालाई विजया दशमीको शुभकामना आदानप्रदान गर्दै चाडपर्वको खुसी साटासाट गरेका थिए।

नेपाली समाजमा विजया दशमीका अवसरमा ठूलाबडाबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने परम्परा रहिआएको छ। यसै सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै नेप्लीज फेसन होमले आयोजना गरेको कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति, परम्परा र सामाजिक मूल्यमान्यतासँग जोड्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

कार्यक्रममा फाइभ फर नेपालको डल्लु शाखाकी अध्यक्ष नविना शाक्य, चापागाउँकी सुनिता खड्गीलगायत विभिन्न क्षेत्रका शुभचिन्तक तथा महानुभावहरूको उपस्थिति रहेको थियो।

नेप्लीज फेसन होमकी प्रबन्धक तथा युवा समाजसेवी हेमा मानन्धरले कार्यक्रमले मिस नेवाः तथा लिटिल नेवाःहरूबीच आपसी सम्बन्ध, सहकार्य र सांस्कृतिक गतिविधिमा सक्रिय सहभागिता बढाउन थप ऊर्जा प्रदान गरेको बताउनुभयो।

उहाँले मिस नेवाः कार्यक्रममार्फत नेवारी कला, संस्कृति, भाषा, परम्परा तथा पहिचानको प्रवर्द्धनमा जोड दिँदै आएको उल्लेख गर्दै यस्ता कार्यक्रमले नयाँ पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रम सफल बनाउन आफ्नो अमूल्य समय प्रदान गरी उपस्थित हुनुभएकी पूर्वकुमारी माता रश्मिला शाक्यलगायत सम्पूर्ण अतिथि, शुभचिन्तक तथा सहभागीहरूप्रति प्रबन्धक मानन्धरले नेप्लीज फेसन होम र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभयो।

नेप्लीज फेसन होमले मिस नेवाः तथा लिटिल नेवाः कार्यक्रममार्फत नेवारी समुदायको मौलिक पहिचान, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएको छ। विजया दशमीको अवसरमा आयोजित यस कार्यक्रमले सांस्कृतिक निरन्तरता, आपसी सद्भाव र पुस्तान्तरणको महत्त्वलाई थप उजागर गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार