नेपाल सम्वत् ११४६, कौलागाः २, द्वितिया (११ कार्तिक २०८३, २८ अक्टोबार, २०२६) बुधबार, बाँपिझ्याला । बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवात ‘अर्नब’का कारण प्रतिकूल मौसम हुने चेतावनी जारी भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरतर्फको पदयात्रा तीन दिनका लागि स्थगित गर्न आग्रह गरेको छ।
गाउँपालिकाले बुधबार सूचना जारी गर्दै अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरतर्फ जाने पदयात्रा कात्तिक १२ देखि १४ गतेसम्म स्थगित गर्न अनुरोध गरेको हो।
दसैँ–तिहारको बिदा सदुपयोग गर्दै पछिल्लो समय मौरिस हर्जोग पदमार्ग हुँदै चार हजार ५० मिटर उचाइमा रहेको अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर पुग्ने आन्तरिक पर्यटकको चहलपहल बढेको छ। तर, चक्रवातको सम्भावित प्रभावका कारण भारी वर्षा, हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढ्न सक्ने भन्दै गाउँपालिकाले पर्यटक तथा पदयात्रीलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको हो।
गाउँपालिका अध्यक्ष भारतकुमार पुनका अनुसार कात्तिक १२ देखि १४ गतेसम्म मेघगर्जन, चट्याङ, भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको सम्भावना रहेकाले पदयात्रा स्थगित गर्नुका साथै पदमार्गमा रहेका पदयात्रीलाई सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ। हिमाल आरोहणको तयारीमा रहेका पर्यटक, ट्रेकिङ व्यवसायी र स्थानीय बासिन्दालाई समेत आवश्यक पूर्वसतर्कता अपनाउन आग्रह गरिएको उहाँले बताउनुभयो।
गाउँपालिकाले अत्यावश्यक कामबाहेक घरबाट टाढा नजान तथा रातको समयमा यात्रा नगर्न अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक मौसम पूर्वानुमान र चेतावनीलाई ध्यान दिनसमेत आग्रह गरिएको छ।
त्यसैगरी, बाढीपहिरोको उच्च जोखिममा रहेका बस्ती तथा नदी किनारमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन र जोखिमको संकेत देखिएमा तत्काल सुरक्षित स्थानमा सर्न गाउँपालिकाले अनुरोध गरेको छ।
सम्भावित हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमलाई मध्यनजर गर्दै ट्रेकिङ तथा यातायात व्यवसायी, होटल सञ्चालक र पर्यटकलाई आवश्यक तयारी अवस्थामा रहन तथा सम्बन्धित वडा कार्यालयसँग समन्वय गर्न भनिएको छ। सम्भावित विपद्को सामना गर्न युवा क्लब, टोल विकास संस्था, सामाजिक संस्था र अन्य सरोकारवाला निकायलाई पनि तयारी अवस्थामा रहन गाउँपालिकाले आग्रह गरेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेका अनुसार कुनै विपद्जन्य घटना भएमा सम्बन्धित वडा कार्यालय, जनप्रतिनिधि, नजिकको प्रहरी इकाइ वा गाउँपालिकाको कार्यालयमा तत्काल जानकारी गराउन सूचनामार्फत अनुरोध गरिएको छ।
सम्भावित प्रतिकूल मौसमका कारण उच्च हिमाली क्षेत्रमा यात्रा जोखिमपूर्ण हुन सक्ने भएकाले मौसम अनुकूल नभएसम्म पदयात्रा नगर्नु र सम्बन्धित निकायबाट जारी हुने सूचनाको पालना गर्नु आवश्यक देखिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij