नेपाल सम्वत् ११४६, कौलागा: ६, षष्ठी (१४ कार्तिक २०८३, ३१ अक्टोबार, २०२६) शनिवार, बाँपिझ्याला । लगातारको वर्षाका कारण मकवानपुरको इन्द्रसरोवरस्थित कुलेखानी जलाशयको पानीको सतह तीव्र गतिमा बढिरहेको छ। जलाशयको सतह बढ्दै गएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
शनिबार दिउँसो १२ बजेको मापनअनुसार जलाशयको पानीको सतह एक हजार ५२८ दशमलव २७ मिटर पुगेको छ। यही गतिमा पानीको सतह बढे साँझ ४ बजेसम्म एक हजार ५२९ मिटर पुग्न सक्ने अनुमान गरिएको छ। जलाशयको अधिकतम सतह एक हजार ५३० मिटर रहेको छ।
कुलेखानी प्रथम जलविद्युत् केन्द्रका अनुसार जलाशयको सतह एक हजार ५२८ दशमलव ५ मिटर पुगेपछि पहिलो चरणको चेतावनीस्वरूप साइरन बजाउने र एसएमएसमार्फत सूचना पठाउने व्यवस्था गरिएको छ।
केन्द्रका प्रमुख प्रह्लाद राउतले जलाधार क्षेत्रमा अप्रत्याशित रूपमा भारी वर्षा भए जलाशयको सतह नियन्त्रणमा राख्न बाँधका मुख्य ढोका (स्पिलवे गेट) खोल्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ। बाँधका ढोका खोल्नुपरे सिस्नेरी खोला र बागमती नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले सावधानी अपनाउन आवश्यक रहेको उहाँले बताउनुभयो।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले सिस्नेरी खोला र डौडारे खोला किनारमा रहेका घरपरिवार तथा पसल व्यवसाय सञ्चालन गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। जोखिमयुक्त क्षेत्रमा रहेका व्यवसाय बन्द गरी सुरक्षित स्थानमा बस्न आग्रह गर्दै वडा सुरक्षा प्रहरीसमेत परिचालन गरिएको छ।
त्यस्तै, इन्द्रसरोवर गाउँपालिका–२ लामावगरको एकान्तकुनास्थित कुलेखानी खोला बगर क्षेत्रमा पसल तथा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई तत्काल व्यवसाय बन्द गर्न सुरक्षा टोलीमार्फत अनुरोध गरिएको छ।
आयोजनाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई नदीकिनारबाट टाढा रहन, सुरक्षित स्थानमा बस्न तथा मोबाइलमा प्राप्त हुने एसएमएस र आधिकारिक सूचनाको पालना गर्न आग्रह गरेको छ। बाँधका ढोका खोल्नुपर्ने अवस्था आए दोस्रो र तेस्रो चरणका आपत्कालीन साइरन बजाउने तथा एसएमएसमार्फत पूर्वसूचना पठाउने व्यवस्था पनि मिलाइएको छ।
सम्भावित बाढीको जोखिम व्यवस्थापन गर्न आयोजनाका प्राविधिक कर्मचारीलाई कात्तिक १३ गतेदेखि नै फिल्ड तथा कन्ट्रोल रुममा परिचालन गरिएको छ।
त्यसैगरी, तटीय क्षेत्रमा गस्ती बढाउन जिल्ला प्रहरी कार्यालय र उद्धार टोलीलाई तयारी अवस्थामा राख्न सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गणलाई आयोजनाले अनुरोध गरेको छ।
जलाशयको सतह निरन्तर बढिरहेको अवस्थामा सम्भावित जोखिमबाट जोगिन नदी तथा खोलाको किनारमा नजान, सुरक्षित स्थानमा रहन र सम्बन्धित निकायबाट जारी हुने सूचनालाई गम्भीरतापूर्वक लिन आग्रह गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij