Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

भीम पुस्तकालय दोलखा पुनःनिर्माणमा सहभागी बनौं !

भीम पुस्तकालय दोलखा पुनःनिर्माणमा सहभागी बनौं !

– बाँपीझ्याला विशेष –

पृष्ठभूमि :
प्राचीन शहर दोलखा भीमेश्वर नगरपालीका वडा नं. २ ले प्रख्यात रहेकोछ । आस्थाका आराध्यदेव श्री भीमेश्वरले राज गरेको यो पवित्र भूमिमा त्रिपुरासुन्दरी, कालिन्चोक माता र बालकुमारीले रक्षित धार्मिक भूमि अनी बुद्धका ज्ञान बाँड्दै हिँडेका महायान मञ्जुश्रीले पाइलो टेकेर बौद्ध धर्मको मूल ज्ञान र मानवीय अस्तित्व स्थापित भएको ज्ञानभूमि । सबैको मनमा छाएको छ दोलखा । आफ्नो मातृभूमिलाई माया नगर्ने को होलान् र ! त्यसमा पनि गौरीशंकर हिमाल । जसलाई वैज्ञानिकरूले भौगोलिक महत्व दिएको ठाउँ र नेपालको समयसूचक गौरीशंकर हिमाल त्यसमाथि शिवपार्वतीको आराध्ययको प्रतीक प्राचीन शहर दोलखा सर्वव्यापी छ ।

यही मातृभूमि दोलखा विनाशकारी भूकम्प आउनु पूर्व ऐतिहासिक शहरको पर्यायमा पराले छाना, जस्ताको छाना, स्लेट ढुंगाको छाना अनि ढुंगा, काठ र माटोको भरमा बनेका थिए भौतिक जीवनको अवस्थालाई दर्शाएर कतै एकतले, कतै दुई र कतै कतै चार पाँच तला सम्म थिए प्राचीन बस्ती दोलखामा ।

प्राचिन शहर दोलखा २०७२ को भुकम्प आउनुभन्दा पहीले

तर २०७२ सालको बैशाख १२, १३ र २९ गतेको विनाशकारी भूकम्पले प्राचीन शहर हालको भीमेश्वर नगरलाई तहसनहस पारिदियो । न चैत्य रह्यो, न मन्दिर, न झुपडी न अग्ला घर । यो भूकम्पले नेपालका अधिकांश भू–भागलाई नै चिराचिरा पारिदिएको खबरले कसको मन चाहिँ विचलित नभएको हो र !

विगतलाई हेर्दा भीम पुस्तकालय दोलखाः
यो भिम पुस्तकालय दोलखा शुरुमा त्रिपुरा लाईवे्ररी र भैरव लाईव्रेरीको नामबाट दुई ठाउँमा सञ्चालनमा ल्याएको थियो । यसरी त्रिपुरा लाईव्रेरी दिवंगत टेकबहादुर श्रेष्ठको विशेष पहलमा स्थापना भएको थियो भने भैरव लाइव्रेरी दिवगत भैरवबहादुर श्रेष्ठको विशेष पहलमा सञ्चालनमा आएको थियो । स्मरणीय रहोस् दिवंगत टेकबहादुर श्रेष्ठ र भैरव बहादुर श्रेष्ठ डोक्छे निवासी हुन् ।

तर दुभाग्र्यको कुरा वि.सं. २००९ सालमा डोक्छे टोलको ५४ चुल्हो भएको घर आकष्मीक आगो लागि भएर नष्ट भएको थियो । सोही क्रममा उक्त त्रिपुरा र भैरव पुस्तकालयमा पनी क्षती पुगेको थियो । ति दुवै पुस्तकालयको पुस्तक, पत्र–पत्रीका बचाउन तत्कालिन भीम पब्लीक हाईस्कूलमा लगिएको थियो ।

यसरी दुवै पुस्तकालयका पुस्तक, पत्र–पत्रिकाहरु एकै ठाउँमा मिसिएको कारणले छुट्टाउन कठिन भएकोले तत्कालिन भीम पब्लीक हाईस्कुलका प्रधानध्यापक रामबहादुर श्रेष्ठ (कविताराम श्रेष्ठ) ले दुवै पुस्तकालयका पुस्तकलाई एकैठाउँमा राखेर भीम पुस्तकालयको नामबाट यो पुस्तकालयको स्थापना भएको देखिन्छ ।

पछिल्लो चरणमा भीम पब्लीक हाईस्कूलमा रहेको सो पुस्तकालयलाई तत्कालिन प्रधानपञ्च दिवंगत खड्गबहादुर श्रेष्ठको घर पुरान्छेमा सारीएको थियो । पछी त्यहापनी कृषि विकास बैङ्कको कार्यालय बस्न आएकोले उक्त स्थानबाट दिवंगत अमरबहादुर श्रेष्ठ (भीमबहादुर श्रेष्ठ) र मृक्तिलक्ष्मी श्रेष्ठको घर पुरान्छेमा सारीएको थियो । त्यतिवेला उक्त पुस्तकालय सञ्चालनमा आएको देखेर धेरैभन्दा धेरै भीम पब्लीक हाईस्कुलका विद्यार्थी एवं शिक्षकहरुको आवश्यकता टरिएको थियो । पछिल्लो चरणमा आएर सो पुस्तकालयलाई हालको स्थानमा स्थापना गर्नको लागि डोक्छे निवासी दिवंगत हस्तबहादुर श्रेष्ठबाट जग्गा दान दिनु भएको थियो । उक्त जग्गामै भीमपुस्तकालय निर्माणको लागि करिव २०३५ सालमा त्रिभुवन विश्वविद्यालयबाट आएका राष्ट्रिय विकास सेवा (राविसे) विद्यार्थीहरु मणिदेव भट्टराई, कृष्ण अर्याल र अमन श्रेष्ठको विशेष पहल र सक्रियतामा अनी कालिञ्चोक युवा क्लव दोलखाको आर्थिक सहयोगमा हालको भीम पुस्तकालयको निर्माण भएको हो ।

उक्त पुस्तकालयको सम्पूर्ण रेखदेख, जिम्मेवारी र संरक्षण त्यतिबेला दिवंगत हरिभक्त श्रेष्ठले गर्नु भएको थियो । यसरी स्थापनाकालदेखि बिभिन्न व्यक्तिहरु अमरकुमार प्रधान र कृष्णनारायण श्रेष्ठले स्वयमसेवकको रुपमा काम गरेको थियो भने तिर्थनारायण जोशी, भरत श्रेष्ठ, शुरेस श्रेष्ठ र सुरेन्द्र श्रेष्ठले कर्मचारी भएर सेवा प्रदान गर्नु भएको थियो । यसै सन्दर्भमा सो पुस्तकालयलाई व्यवस्थित रुपमा संचालनमा ल्याउन संचालन समितीको रुपमा तत्कालिन वडा नं. २ का वडाध्यक्ष टिकानारायण प्रधानले सहयोग गर्नु भएको थियो । यसरी भिम पुस्तकालय दोलखा सवैको नजरमा सरस्वतीको मन्दिरको रुपमा उजागर भएको स्पष्ट रहेको छ ।

प्राचिन शहर दोलखाको मध्य उत्तर भूमी पुनःनिर्माण पश्चात

भीम पुस्तकालय दोलखा प्रतिको दृष्टिकोणः
साक्षात भगवान दोलखा भिमेश्वरको नामबाट धेरै संघ–संस्थाहरु खोलेको देखिन्छ । भिमेश्वर कै नाममा अनेकौ कार्यक्रमहरु पनि संचालन गरेको पाईन्छ । यसै सन्दर्भमा भिमेश्वर नगरपालिका, भीम माध्यमिक विद्यालय, भीमेश्वर गुठी व्यवस्थापन समिती लगायत अन्य संघ–संस्था खडा गरिएको छ ।

तर कुनै कुनै भिमेश्वरकै नामबाट स्थापित सामूदायिक भवन, अस्पताल भवन होस् या पुस्तकालय होस् ती बिषय वस्तुको बारेमा थाहा पाउँदापाउँदै, ज्ञान हुँदाहँुर्दै पनि केही नबुझेको जस्तो गरेर आँखा चिम्लेर हिड्नेहरुको पनि कमि नभएको होईन ।

हामीले यस बाँपीझ्याला मिडियाबाट बारम्बार विभिन्न समाचार, लेख अनि आलेखहरु सम्प्रेषण गर्दा गर्दै पनि सम्वन्धीत दोलखाका बिशिष्ट पद ओगटेका, लब्ध प्रतिष्ठित व्यक्तिहरुले नै त्यत्ति चासो दिएको पाईन्दैन । ती आलेख बारेमा केही बुद्धिजिवी, समाजसेवीहरुले तदारुकताका साथ चासो देखाएर उक्त भग्नावशेष पुस्तकालयको भवन पुनःनिर्माण बारे धेरै चासो दिईएको पाईयो । फलस्वरुप अग्रज सहयोगी दाताको सक्रियतामा यो भवन पुनःनिर्माण गर्न पहल कदमी थालिएको छ ।

प्राचिन शहर दोलखाको तल्लो भूमी दरबार क्षेत्र पुनःनिर्माण पश्चात

सन्दर्भ भीम पुस्तकालय पुनःनिर्माणः
भीम पुस्तकालय पुनःनिर्माणका सन्दर्भमा गत माघ २५ गते भीनपा–२ दोलखाको वडा कार्यालय पाखलतीमा वरिष्ठ इन्जिनियर एवं समाजसेवी आत्माकृष्ण श्रेष्ठको समुपस्थितिमा बसेको बैठकले स्थानीय सामाजिक अभियान्ता शान्तकृष्ण श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय पुस्तकालय निर्माण समिति गठन गरिएको छ । यो दोलखावासीहरुको लागि खुसीको बिषय बनेको छ । यसै प्रसङ्गमा सोही पुस्तकालयको बारेमा बाँपिझ्याला मिडिया लगायत अन्य पत्रपत्रिकामा समेत भीम पुस्तकालयको बारेमा धेरै प्रचारप्रसार भएको थाहा हुने बित्तिकै वरिष्ठ कलाकार एवं समाजसेवी मदनदास श्रेष्ठज्यूले सो पुस्तकालय निर्माणका लागि धेरै चासोका साथ इन्जिनियर नै दोलखामा पठाएर सर्वेक्षण गर्ने क्रममा जग्गा नपुग्ने देखिएकोले आपसी समझदारी र समन्वयबाट निर्माण गर्नुपर्ने राय दिनु भएको छ ।

सो पुस्तकालय निर्माणका लागि २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सोही भग्नावशेष स्थलको साँध सिमानामा रहेको जग्गावालाहरूसंग समन्वय गरेर जग्गा थप्नुपर्ने देखिएको छ । यसै सन्दर्भमा वरिष्ठ ईन्जिनियर एवं समाजसेवी आत्माकृष्ण श्रेष्ठको सहयोगी भावनाले रु. १० लाख आर्थिक सहयोग दिने प्रतिबद्धता भएपनि सो रकमले मात्र उक्त भवन पुनःनिर्माण गर्ने परिकल्पना असम्भव रहेको हाम्रो ठम्याई रहेको छ ।

यसको लागि स्थानीय निकाय भीमेश्वर नगरपालिका र वडा नं. २ को कार्यालय दोलखाले विशेष चाँसो राख्नु पर्ने देखिन्छ । बरिष्ठ ईन्जिनियर एवं समाजसेवस् आत्माकृष्ण श्रेष्ठको भनाई अनुसार यस पुस्तकालय तिन तलासम्म बनाउनको लागि पूर्व योजना (डिपिआर) त बनाएको छैन । तर पनि भवन निर्माणको लागि अनुमानित लागत कम्तीमा ३५–४० लाख सहयोग रकम संकलन गर्नु पर्ने देखिन्छ ।

भीम पुस्तकालयको पूनःनिर्माण भएपछि शिक्षा क्षेत्रमा दोलखाको इतिहासको एउटा विशेष पाटो सम्पन्न भएको आधार मान्न सकिनेछ । किनकि तत्कालीन समयमा जतिबेला एउटा पुस्तक पढ्न महिनौं राजधानी काठमाडौको बाटो लगायत अन्यत्र लाग्नु पर्ने स्थिति थियो ।

पाठ्यपुस्तक पढ्नको लागि अर्काको पुस्तिकाबाट नक्कल गर्न वाध्य हुनपरेको यथार्थ अझै हाम्रो मानसपटलमा ताजा स्मरणीय बनेको छ । अहिलेको अवस्थामा पनि सामान्य जीवन यापन गर्ने नागरिकहरूले पुस्तक खरिद गरेरै अध्ययन गर्न हम्मेहम्मे परेको छ । यसका लागि पनि भीम पुस्तकालय पुनःनिर्माण अपरिहार्य छ ।

प्राचिन शहर दोलखामा जन्मेर धेरैले उच्च शिक्षा हासिल गरेर गएको श्रेय तत्कालिन भीम पब्लिक हाइस्कूल, हालको भीम माध्यमिक विद्यालय र भीम पुस्तकालयलाई दिन अति आवश्यक छ । यहीँबाट ज्ञान आर्जन गरेर गएका ठूलाठूला प्रधानन्याधिस, महान्यायाधिवक्ता, न्यायाधिस, डाक्टर, प्राध्यापक, ईन्जिनियर, कानून व्यवसायी, व्यवसायी, अध्यापक, ख्याती प्राप्त कलाकार, गायककार, पत्रकार र उच्च पदमा रहेका जनप्रतिनिधीहरु लगायत सम्पूर्ण दोलखावासीले एकपल्ट यो पुस्तकालय र भीम माध्यमिक विद्यालय तर्पm पनि ध्यान दिन जरुरी रहेको छ ।

यसै गरी केवल खबरपत्रिका, समाचार सुनेर उदासी प्रकृति देखाएर र क्षणिक आश्वासन देखाएर मात्र इतिहासको पाना पुरा हुन सम्भव देखिन्न । ईतिहासको कुरा धेरैले गरेको सुनिन्छ परम्परालाई मान्यता दिनु पर्छ भनेर सम्वाद्मा मनोवाद् गरेको सुनिन्छ, तर कुनैपनि स्थानमा अगाडी बढेर उक्त कार्य गर्नु पर्छ भन्ने मानसिकता भएकाहरुको कमि देखिन्छ ।

यदी कसैले गर्न चाहेर पनि सजिलै गर्न सक्ने अवस्था देखिन्दैन । यसको लागि सम्पूर्ण दोलखावासीहरुको समन्वय, सद्भाव र सकारात्मक सहयोगको आवश्यकता रहेको छ ।

यसै सन्दर्भमा दोलखाका जेष्ठ नागरिक बरिष्ठ इन्जिनियर एवं समाजसेवी आदरणीय आत्माकृष्ण श्रेष्ठज्यूले दोलखाको विद्यालय, शिक्षालय र स्वास्थ्यालयको लागि जुन सदाशयता प्रकट गर्नुभएको छ । त्यो प्रवृत्ति सबै दोलखावासी अनी सिङ्गो जिल्लाबासीले नै अनुसरण गर्न जरुरी देखिन्छ ।

यही भीम पुस्तकालयबाट पुस्तकको खाँचो टार्ने व्यक्तित्वहरू धेरै होलान् । जतिबेला दोलखा जिल्ला भरिमा मात्र ५ वटा माध्यमिक विद्यालय थिए । सबैका हातमा पाठ्यपुस्तक थिएन, साथीहरू खोजीखोजी कोठा कोठा भौँतारिनु पथ्र्यो । त्यो परिस्थितिमा यही पुस्तकालयबाट आलोपालो गरि गर्जाे टार्न वाध्य हुनुपरेको तितो यथार्थ अध्यपि छर्दैछ ।

अन्तमा :
अहिलेको अवस्थामा सबैसंग प्रविधि र विज्ञानको शिक्षा र ज्ञान भएतापनि सबैसंग ति कुरा उपलब्ध हुन्छ नै भन्ने निश्चितता छैन । त्यसैले दोलखाका सामान्य परिवारदेखि ठुलासम्मका लागि यो पुस्तकालयको महत्व अपरीहार्य रहेको छ । यसैले सबैले विशेषतः प्राचिन शहर दोलखा जन्म भएर कर्मक्षेत्र काठमाण्डौं उपत्यका लगायत देश विदेशमा रहनु भएका आदरणीय दोलखावासीहरुले साँस्कृतिक धरोहरलाई सहयोग र सद्भाव राखी सहयोग गरेको जस्तै यस शिक्षालय सरस्वती मन्दिर भीम पुस्तकालय दोलखाको पुनः निर्माणमा सहभागी भई सद्भाव राखी सहयोग गर्नु हुन भर्खर गठन भएको निर्माण समितीको अध्यक्ष आदरणीय शान्तकृष्ण श्रेष्ठज्यू र यस बाँपीझ्याला मिडिया परिवारको तर्फबाट हार्दिक आग्रह सहित अनुरोध गर्दछौं ।

फिचर फोटो : शम्भु गौतम

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार