१७ साउन, बाँपीझ्याला, काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुल शय्याको १० प्रतिशत निःशुल्क उपचार गरिएका बिरामीको विवरण देखिने ठाउँमा टाँस्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।
मन्त्रालयका सहसचिव डा मदनकुमार उपाध्यायले सरकारी, निजी तथा सामुदायिक अस्पताल र प्रतिष्ठान तथा मेडिकल कलेजलाई परिपत्र जारी गर्दै निःशुल्क गरिएका बिरामीको अभिलेख विवरण सार्वजनिकरूपमा देखिने गरी टाँस्न वा विद्युतीय बोर्डमा डिस्प्ले गर्न निर्देशन दिनुभएको हो ।
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सबै अस्पताललाई डेङ्गी सङ्क्रमणको उपचार प्रभावकारी गर्न निर्देशन दिएको छ ।
महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले डेङ्गीका सङ्क्रमण बढिरहेको भन्दै सङ्घीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई परिपत्र जारी गर्दै डेङ्गी रोगको निदान र उपचार व्यवस्थापन गर्न निर्देशन दिनुभएको हो ।
परिपत्रमा आवश्यकताअनुसार ‘ज्वरो क्लिनिक’ सञ्चालन गर्न भनिएको छ । अहिलेसम्म पाँच हजार छ सय ८८ जनामा डेंगी सङ्क्रमण भएको छ ।महाशाखाले अहिलेको अवस्थामा डेङ्गी सङ्क्रमण बढ्दै गए भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ ।
मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ ।
यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij