जापानकी केन तानका विश्वमै लामो आयु बाँच्नेमध्येमा पर्छिन् । उनी ११९ वर्षसम्म बाँचेकी थिइन् । यत्तिको लामो आयु बाँच्नुको कडी के हो ?
जापान राष्ट्रिय पर्यटन संगठनद्वारा आयोजित एक अन्तर्वार्तामा तानाकाले भनेकी थिइन्, ‘लामो जीवन जिउनुको एउटा मात्र रहस्य भनेको आफूलाई इच्छा लागेको चीज गर्नु हो जस्तो लाग्छ । त्यसैले मनदेखि नै खान मन लागेको खानेकुरा खाने, मनपर्ने चीज गर्ने, हरेक दिन आनन्द लिइरहनु हो ।’
उनी कफी र चकलेटको सौखिन थिइन् । खानाका साथै गेममा पनि उनको रुचि थियो । तानका बोर्ड गेम र गणित पजलहरु हल गर्न रुचाउँथिन् ।
तानाकाले दीर्घायुको एउटै राज ‘आनन्दानुभूत’ भनेकी छिन् । ‘जे गरे पनि, जहाँ रहे पनि हरेक क्षण आनन्दमा रहनुपर्छ,’ उनी यसै भन्थिन् ।
भनिन्छ, मान्छेको वशमा छैन आफ्नो मृत्यु । त्यसैले हरेक मान्छे एउटा निश्चित आयु बाँचेपछि मर्नुपर्छ । यद्यपि पूर्ण जीवन बाँच्नका लागि पनि मान्छेले खानपान, जीवनशैली, मनस्थितिमा खास ख्याल राख्नुपर्ने हुन्छ । मान्छेको सोच, चिन्तनदेखि खानपानसम्मले उसको आयुमा प्रभाव पार्ने विभिन्न अध्ययनमा उल्लेख छ ।
दीर्घायुका लागि सहायक छन् केही आनीबानी
अन्तर्राष्ट्रिय जर्नल हेल्थ डटकममा प्रकाशित एक अध्ययनअनुसार लामो आयु बाँच्नमा २५ प्रतिशत मात्र वंशाणुगत कारण हुन सक्छ । बाँकी लामो जीवनयापनको लागि खानपान, वातावरण, जीवनशैली मुख्य कारक हुन् ।
सानोतिनो कुरामा पनि रमाउने, उत्साहित हुने प्रवृत्तिले रोगमुक्त राख्न सहयोग गर्ने अध्ययनमा उल्लेख छ । तनाव व्यवस्थापन गर्न सक्दा पनि बुढ्यौलीलाई धकेल्न सकिने बताइन्छ । तनाव कम गर्न वा यसको सामना गर्न ‘रिल्याक्स टेक्निक’जस्ता सीप विकास गर्नाले दीर्घायुमा मद्दत गर्न सक्छ । लामो जीवन बाँचेका धेरैमा तनावलाई राम्ररी सामना गर्ने खुबी देखिन्छ ।
‘रिल्याक्स टेक्निक’ माग हिरो सास लिंदै फाल्ने, मांसपेशीलाई आराम दिनुका साथै लचिलो बनाउने, दैनिक हल्का व्यायाम गर्ने, परिवारमा समय दिने, मन रमाउने खालको गतिविधि गर्ने, ध्यान गर्ने, किताब पढ्ने, घुमफिर र योगा गर्ने जस्ता कार्य पर्छन् ।
सक्रिय र उत्साहित रहने
जापानको ओकिनावाका बासिन्दा संसारमा सबैभन्दा लामो आयु बाँच्नेमा पर्छन् । उनीहरुको दीर्घायुको राजबारे विभिन्न खोज अध्ययन भएका छन् । वंशानुगत गुण, पोषिलो र सन्तुलित खानपान, सामाजिक जीवन र सक्रिय दिनचर्या नै उनीहरुको दीर्घायुको रहस्य भनिएको छ ।
त्यहाँका बासिन्दा कुनै न कुनै शारीरिक-मानसिक कामबाट आफूलाई व्यस्त राख्छन् । सधैं सक्रिय रहन्छन् । साथै उनीहरु उत्साहित पनि छन् । समाजको काममा सधैं अग्रसर हुन्छन् । यावत् कारण उनीहरुको आयु बढाउन सहयोगी भएको छ ।
खानपान शैली बदल्ने
आयुर्वेदले स्वस्थ जीवनका लागि तीन कुरालाई प्रमुखता दिएको छ, आहार, विहार र विचार । सही खानपान, दिनचर्या र सोच–चिन्तनले मान्छेलाई निरोगी बनाउँछ । आधुनिक चिकित्सा विज्ञानले पनि यही कुरालाई पुष्टि गरेको छ ।
चिकित्सकहरु भन्ने गर्छन्, ‘कुनै पनि रोग लाग्नु र नलाग्नुमा खानपान पहिलो सर्त हो । सही, सन्तुलित, सुपाच्य, ताजा खानपान सही ढंगले गर्ने हो भने रोग लाग्दैन ।’ आहारविद्हरुले सही खानपानलाई नै औषधि मान्ने गरेका छन् । उनीहरु भन्छन्, ‘सम्पूर्ण स्वास्थ्यको खजाना भनेकै हाम्रो भान्सा हो । उचित खानपान उचित समयमा उचित ढंगले गरियो भने त्यो नै सबैभन्दा राम्रो ओखती हुन्छ ।’
फलफूल र सागसब्जी धेरै खाने
युरोपियन हेल्थ जर्नलमा प्रकाशित एक रिपोर्टअनुसार फलफूल र सागसब्जी धेरै खाने मानिसको स्वास्थ्य राम्रो हुन्छ । उनीहरुलाई मुटुको रोग लाग्ने सम्भावना कम हुन्छ । फलफूलमा भिटामिन र एन्टिअक्सिडेन्टले भरपुर हुन्छ, जसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ र छिट्टै बुढ्यौली लाग्न दिंदैन ।
जर्नल अफ न्यूट्रिसनल साइन्सका अनुसार मांसाहारी आहारको तुलनामा, शाकाहारी खानेकुरा खानेहरुमा हृदय रोगको जोखिम कम रहेको पाइएको थियो ।
ओमेगा–३ फ्याटी एसिड उपयुक्त स्रोत
समुन्द्री खानाबाट मुटु स्वस्थ राख्ने ओमेगा–३ फ्याटी एसिड पाउन सकिन्छ । यसले जीवन लम्ब्याउन मद्दत गर्छ । सन् २०१३ मा एनल्स अफ इन्टरनल मेडिसिनले ६९ देखि ७९ वर्ष उमेरका २६ सय जनामा गरेको अध्ययनले ओमेगा–३ फ्याटी एसिड खानेहरुमा २७ प्रतिशतले मृत्युको जोखिम घटेको देखाएको थियो
अमेरिकन हार्ट एसोसिएसन (एएचए)ले हप्तामा कम्तीमा दुई-तीन पटक फ्याटी एसिड पाइने माछा जस्तै साल्मन, हेरिङ, म्याकरेल वा टुना खान सिफारिस गरेको छ । साथै, गहुँ, जौ जस्ता व्होल ग्रेनले पनि आवश्यक पोषक तत्वहरू प्रदान गरी आयु लामो बनाउँछ । तीन लाखभन्दा बढीमा भएको अध्ययनले होल ग्रेन खानेहरुमा क्यान्सर, मधुमेह, मुटुसम्बन्धी रोग र श्वासप्रश्वास समस्या अन्य व्यक्तिको तुलनामा कम भएको देखाएको थियो ।
समाजमा घुलमिल हुने
समाजमा घुलमिल हुने र सामाजिक कार्यमा लाग्दा पनि आयु लामो हुने गर्छ । यसले एक्लोपनबाट मुक्त गराउनुका साथै सहयोग र हार्दिकताको भावना विकास हुन्छ । यस्तो भावनाले मान्छेलाई सुरक्षा र खुसीको अनुभूति हुन्छ । आयु बढाउनमा यस्तो कुराको पनि भूमिका हुने बताइएको छ ।
सन् २०१५ मा मनोविज्ञ टोलीले गरेको एक अध्ययनले एक्लोपनकै कारण ६५ वर्ष उमेरमुनिका धेरै व्यक्तिले अकालमै ज्यान गुमाउँछन् । समाजबाट टाढिनेहरुमा मुटुरोग र डिप्रेसन जस्ता समस्या बढी देखिने उक्त अध्ययनको निष्कर्ष छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij