Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

फाइबर इन्टरनेट सेवा : एक महिनामा थपिए ७५ हजार ग्राहक

फाइबर इन्टरनेट सेवा : एक महिनामा थपिए ७५ हजार ग्राहक

नेपाल सम्वत् ११४५, दिल्लाथ्वः पञ्चमी, (२६ अषाढ, २०८२, १० जुलाई, २०२५) बिहीबार, बाँपीझ्याला ।   नेपालमा फिक्स्ड ब्रोडब्यान्ड सेवामा प्रयोगकर्ताको आकर्षण उल्लेखनीय रूपमा बढेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशन गरेको एमआईएस प्रतिवेदनअनुसार जेठ अन्त्यसम्म फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट सेवा प्रयोग गर्नेको संख्या देशभर ३१ लाख ७८ हजार ६ सय ३७ पुगेको छ ।

यो अघिल्लो महिनाको तुलनामा ७५ हजार ८ सय १४ ले बढी हो ।

वैशाखमा एफटीटीएच इन्टरनेटका ग्राहकको संख्या ३१ लाख २ हजार ८ सय २३ थियो । यो संख्या जेठमा करिब २.४४ प्रतिशतले वृद्धि भएको छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू) ले अघिल्लो महिना सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वव्यापी रूपमा सन् २०१८ यता फिक्स्ड ब्रोडब्यान्ड सेवाको तुलनामा मोबाइल ब्रोडब्यान्ड सेवा तीन गुणाले पहुँचयोग्य (एफोर्डेबल) बनेको छ । नेपालमा चाहिँ मोबाइलभन्दा फिक्स्ड ब्रोडब्यान्ड सुपथ मानिन्छ । तर पनि हालसम्म आधा जनसंख्यामा मात्रै यो सेवा पुगेको तथ्यांक सार्वजनिक भएका छन् ।

स्मार्टफोन, ट्याब्लेट वा वाइफाई डिभाइस प्रयोग गरेर थ्रीजी, फोरजी, फाइजीजस्ता मोबाइल नेटवर्कमार्फत प्रदान गरिने इन्टरनेट सेवा मोबाइल ब्रोडब्यान्ड हो । यसका लागि सिमकार्ड वा मोबाइल डेटा प्याक आवश्यक पर्छ । फिक्स्ड ब्रोडब्यान्ड भनेको चाहिँ अप्टिकल फाइबर, एडसीएल वा केबलमार्फत घर वा कार्यालयहरूमा जडान गरिने इन्टरनेट सेवा हो ।

यसमा राउटरले विभिन्न उपकरणमा इन्टरनेट वितरण गर्छ । नेपालमा एडीएसएल/केबलमार्फत फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवा लिनेको संख्या निरन्तर घट्दो छ । पछिल्ला दुई महिनामै २५ प्रतिशत ग्राहकले यस्तो सेवा त्यागेका छन् । यो पुरानो प्रविधिलाई सेवा प्रदायक, नेपाल टेलिकम आफैंले विस्थापन गर्दै लगेको छ ।


आधुनिक फाइबर इन्टरनेट सेवामा सबैभन्दा धेरै ग्राहक संख्याका आधारमा वर्ल्डलिंक कम्युनिकेसन्स अग्रपंक्तिमा छ । जेठमा वर्ल्डलिंकका फाइबर सेवा लिने ग्राहकको संख्या १० लाख ७ हजार ४ सय ३४ थियो ।

त्यसपछि क्रमशः डीस मिडिया नेटवर्क, नेपाल टेलिकम, भायानेट र सुबिसु छन् । पछिल्ला दुई महिनामा भायानेटले सबैभन्दा धेरै ग्राहक बढाएको छ । एक महिनामै करिब ७० हजार नयाँ ग्राहक थपिएका छन् । वैशाखमा भायानेटका ग्राहक २ लाख ४५ हजार ९ सय ४५ रहेकामा जेठमा ३ लाख १५ हजार ७ सय ७० पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार