नेपाल सम्वत् ११४६, बछलागाः ४ चौथी (२३ बैशाख, २०८३, ६ मे, २०२६) बुधबार, बाँपिझ्याला । दोलखा जिल्लाको वैतेश्वर गाउँपालिकाले आफ्ना नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित महत्वपूर्ण कदम चालेको छ। गाउँपालिकाले धुलिखेल अस्पताल र पोसिबल स्वास्थ्य सँग सम्झौता गर्दै सामुदायिक स्वास्थ्य कार्यक्रमलाई थप व्यवस्थित बनाउने निर्णय गरेको हो। सदरमुकाम चरिकोट मा आयोजित कार्यक्रममा हस्ताक्षर गरिएको उक्त सम्झौताले ग्रामीण तथा दुर्गम बस्तीमा स्वास्थ्य पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाले यस कार्यक्रमका लागि वार्षिक १५ लाख रुपैयाँ बजेट विनियोजन गर्ने भएको छ। सम्झौता अनुसार सामुदायिक स्वास्थ्यकर्ताहरू परिचालन गरिनेछन्, जसले घरघरमै पुगेर नागरिकको स्वास्थ्य अवस्था बुझ्ने, परामर्श दिने र आवश्यक प्राथमिक सेवा उपलब्ध गराउनेछन्। सम्झौतामा गाउँपालिका अध्यक्ष छबि लामा, धुलिखेल अस्पतालका प्रमुख विराट आचार्य तथा पोसिबल स्वास्थ्यका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।
धुलिखेल अस्पताल र पोसिबल स्वास्थ्यले २०७३ सालदेखि दोलखाका विभिन्न स्थानीय तहहरूमा यस्तो कार्यक्रम सञ्चालन गर्दै आएका छन्। भीमेश्वर नगरपालिका, वैतेश्वर, तामाकोशी गाउँपालिका र कालिन्चोक गाउँपालिकामा सामुदायिक स्वास्थ्यकर्तामार्फत घरदैलोमै सेवा दिइँदै आएको छ।
यस कार्यक्रमअन्तर्गत अस्पतालसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक, गर्भवती महिला, सुत्केरी आमा तथा बालबालिकाको नियमित स्वास्थ्य परीक्षण गरिन्छ। साथै रक्तचाप जाँच, सर्ने तथा नसर्ने रोगबारे परामर्श, महामारी नियन्त्रणमा सहयोग, प्राथमिक उपचार र आवश्यक परे रेफर सेवा समेत प्रदान गरिँदै आएको छ। विशेष रूपमा गर्भवती महिलाका लागि ग्रामीण बस्तीमै अल्ट्रासाउन्ड सेवा उपलब्ध गराइने गरिएको छ, जसले सुरक्षित मातृत्वमा महत्वपूर्ण योगदान पुर्याएको छ।
धुलिखेल अस्पतालका जनस्वास्थ्य अधिकृत पवन न्यौपानेका अनुसार, चारवटा पालिकामा ४४ जना सामुदायिक स्वास्थ्यकर्ता परिचालन गरी गत वर्ष मात्र १४ हजारभन्दा बढी घरधुरीमा सेवा प्रदान गरिएको थियो। त्यसैगरी, हजारौँ पटक सुत्केरी तथा प्रजनन उमेरका महिलासँग भेटघाट गरिएको र सयौँ महिलाको अल्ट्रासाउन्ड जाँच गरिएको तथ्यांकले कार्यक्रमको प्रभावकारिता देखाउँछ।
कार्यक्रमको सहजीकरण गर्दै पोसिबल स्वास्थ्यकी डा. सदिच्छा शर्माले ग्रामीण क्षेत्रमा सकारात्मक स्वास्थ्य सेवा विस्तार भइरहेको र यसले समुदायमा स्वास्थ्य सचेतना बढाउन सहयोग पुगेको बताइन्। कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूले यस्तो कार्यक्रमले दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन्।
समग्रमा, यो पहलले ग्रामीण स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउँदै विशेषगरी पहुँचबाट टाढा रहेका समुदायलाई आधारभूतदेखि आवश्यक स्वास्थ्य सेवा घरदैलोमै पुर्याउने महत्वपूर्ण आधार तयार गरेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij