नेपाल सम्वत् ११४६, अनलाथ्वः ४ चौथी (६ जेष्ठ, २०८३, २० मे, २०२६) बुधबार, बाँपिझ्याला । बुद्ध एयरले करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको नेपालगञ्ज–पोखरा सिधा उडान केही समयका लागि स्थगित गरेको छ । कम्पनीका अनुसार भारतीय धार्मिक पर्यटकको सङ्ख्या घट्नु र इन्धन खर्च बढ्नु यसको मुख्य कारण हो ।
बुद्ध एयर नेपालगञ्ज स्टेशन प्रमुख विनितविक्रम शाहका अनुसार मलमासका कारण भारतबाट आउने पर्यटक घटेका छन् भने इन्धनको मूल्यवृद्धिले सञ्चालन खर्च बढाएको छ । यही कारणले उडान कम्तीमा एक महिनाका लागि रोकिएको बताइएको छ ।
विसं २०७८ साउन १७ गतेदेखि सातामा तीन दिन सञ्चालन हुँदै आएको यो सेवा मङ्गलबारदेखि बन्द भएको हो । उडान रोकिएपछि पश्चिम नेपालका यात्रु, पर्यटन व्यवसायी तथा सर्वसाधारण निराश बनेका छन् । अब यात्रुले फेरि सडकमार्गबाट करिब १४ घण्टासम्म यात्रा गर्नुपर्ने अवस्था आएको छ ।
नाट्टा नेपालगञ्जको पहलमा सुरु गरिएको उक्त सेवाले पोखरा, बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली चिसापानी र रारा जस्ता पर्यटकीय क्षेत्रसम्म पुग्न सहज बनाएको थियो । भारतका लखनउ, कानपुर र दिल्लीबाट आउने पर्यटकका लागि पनि यो सेवा उपयोगी मानिएको थियो ।
नाट्टा नेपालगञ्जका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले सरकारले आवश्यक पहल नगर्दा सेवा बन्द हुने अवस्थामा पुगेको टिप्पणी गरेका छन् । उनले निजी क्षेत्रको सक्रियतामा सुरु भएको सेवा टिकाउन सरकारी सहयोग आवश्यक रहेको बताए ।
बुद्ध एयरले १८ सिट क्षमताको बीचक्राफ्ट १९०० डी सिरिज विमानमार्फत सेवा सञ्चालन गर्दै आएको थियो । यात्रुको चाप बढे दैनिक उडानसम्म विस्तार गर्ने योजना भए पनि भाडादर वृद्धि र यात्रु घटेपछि उडान स्थगित गरिएको कम्पनीले जनाएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij