Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

महान शहिद कृष्ण सेन “ईच्छुक” को २४औँ स्मृति दिवस सम्पन्न

महान शहिद कृष्ण सेन “ईच्छुक” को २४औँ स्मृति दिवस सम्पन्न

नेपाल सम्वत् ११४६, अनलाथ्वः ११ दशमी (१२ जेष्ठ, २०८३, २६ मे, २०२६) बुधबार, बाँपिझ्याला । जनयुद्धका महान शहीद पत्रकार कृष्ण सेन “ईच्छुक” को २४औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल ले विभिन्न स्मृति कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ। बुधबार काठमाडौंस्थित केन्द्रीय कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा पत्रकारिता, राजनीतिक आन्दोलन तथा जनयुद्धमा कृष्ण सेनले पुर्‍याएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।

Krishan3.jpg

 प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ पत्रकार तथा सह–इन्चार्ज विष्णु सापकोटा, समाजवादी वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरू, काठमाडौं जिल्ला अध्यक्ष शोभा अर्याललगायत विभिन्न तहका नेता, पत्रकार तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले कृष्ण सेन “ईच्छुक” को जीवन, संघर्ष र पत्रकारितामार्फत समाज परिवर्तनका लागि खेलेको भूमिकाबारे चर्चा गरेका थिए।

कार्यक्रमको प्रारम्भमा कृष्ण सेन “ईच्छुक” सहित जनयुद्धका सम्पूर्ण शहीदहरूको सम्झनामा मौनधारण गरिएको थियो। त्यसपछि वक्ताहरूले नेपाली पत्रकारिता क्षेत्रमा कृष्ण सेनले खेलेको ऐतिहासिक भूमिका, जनपक्षीय पत्रकारिताप्रतिको उहाँको प्रतिबद्धता तथा तत्कालीन माओवादी आन्दोलनमा पुर्‍याएको वैचारिक योगदानबारे आफ्ना धारणा राखेका थिए।

वक्ताहरूले कृष्ण सेनलाई निर्भीक, स्पष्टवक्ता र जनताको पक्षमा कलम चलाउने पत्रकारका रूपमा स्मरण गरेका थिए। कठिन राजनीतिक परिस्थितिमा समेत उहाँले जनताको आवाज सञ्चार माध्यममार्फत उठाउँदै सामाजिक न्याय, लोकतन्त्र र परिवर्तनको पक्षमा सशक्त भूमिका निर्वाह गरेको उल्लेख गरिएको थियो। सहभागीहरूले उहाँको लेखन र वैचारिक दृष्टिकोण आजको पत्रकारिता तथा राजनीतिक आन्दोलनका लागि पनि प्रेरणाको स्रोत बनेको बताएका थिए।

krishan-f1.jpg

कार्यक्रममा सहभागीहरूले राज्यद्वारा हिरासतमा राखिएका अवस्थामा २४ वर्षअघि हत्या गरिएका कृष्ण सेनप्रति श्रद्धाञ्जली अर्पण गर्दै सत्य, न्याय र परिवर्तनको पक्षमा उहाँले उठाएको आवाज आज पनि उत्तिकै सान्दर्भिक रहेको धारणा व्यक्त गरेका थिए। साथै, उहाँको हत्यामा संलग्न रहेको आरोप लागेका प्रहरी उच्च अधिकृत हाल पनि सार्वजनिक जीवनमा सक्रिय रहेको भन्दै घटनाको निष्पक्ष छानबिन र कारबाहीको मागसमेत उठाइएको थियो।

स्मृति कार्यक्रममा पत्रकारिता क्षेत्रका व्यक्तित्व, विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रेस सेन्टरका पदाधिकारी तथा विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन प्रेस सेन्टर नेपालका महासचिव मनोज घर्तिमगरले गरेका थिए।

Krishan-fe2.jpg

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार