नेपाल सम्वत् ११४६, यंलागाः ३, तृर्तिया –१३ असोज २०८३, २९ सेप्टेम्वर, २०२६) मंगलबार, बाँपिझ्याला । पर्यटनलाई पुनः परिभाषित गर्न डिजिटल एजेन्डा र कृत्रिम बौद्धिकता’ (Digital Agenda and Artificial Intelligence to Redesign Tourism) भन्ने मूल नारासहित दोलखाको सदरमुकाम चरिकोटमा विश्व पर्यटन दिवस–२०८३ भव्य रूपमा मनाइएको छ।
बागमती प्रदेश सरकारअन्तर्गत उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय चरिकोटको आयोजना तथा दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको समन्वयमा मंगलबार प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।
सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवसका अवसरमा आयोजना गर्ने तय भए पनि प्रतिकूल मौसमका कारण कार्यक्रम केही दिनपछि सारेर असोज १३ गते गरिएको आयोजकले जनाएको छ।
चरिकोटस्थित पशुपति मन्दिर परिसरबाट पञ्चेबाजा तथा मौलिक सांस्कृतिक बाजागाजासहित सुरु भएको प्रभातफेरी चरिघ्याङ गुम्बा परिसरमा पुगेर अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो। प्रभातफेरीमा होटल तथा पर्यटन व्यवसायीहरू परम्परागत मौलिक भेषभूषामा सहभागी भएका थिए।
कार्यक्रममा सरकारी निकायका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका प्रमुख तथा प्रतिनिधिसहित पर्यटन व्यवसायी, पत्रकार तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।
उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय चरिकोटका प्रमुख खेमराज घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ठूला थामी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद थामीले दोलखाको पर्यटन प्रवर्द्धनका लागि परम्परागत शैलीसँगै आधुनिक प्रविधि र डिजिटल माध्यमको अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो।
भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वरनारायण मानन्धरले नगरभित्रका पर्यटकीय क्षेत्रको प्रवर्द्धन तथा विकासका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जिल्लाको पर्यटन सुरक्षा तथा वातावरण सुधारका क्षेत्रमा प्रशासनको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष कुमार श्रेष्ठले पर्यटन व्यवसायमा डिजिटल प्रविधिको बढ्दो महत्व र व्यवसायीहरूले भोगिरहेका चुनौतीबारे चर्चा गर्नुभयो। पर्यटन व्यवसायी तथा समाजसेवी शान्तकृष्ण श्रेष्ठले दोलखाको पर्यटन क्षेत्रको सम्भावनाबारे प्रकाश पार्दै शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा दोलखा उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, नेपाल पत्रकार महासंघलगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, पर्यटन व्यवसायी, पत्रकार तथा स्थानीय नागरिकको सहभागिता रहेको थियो।
कार्यक्रमको अन्त्यमा अध्यक्ष एवं कार्यालय प्रमुख घिमिरेले सहभागी अतिथि, सुरक्षा निकायका प्रतिनिधि तथा सम्पूर्ण सहभागीलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभयो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij