Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

पूर्वमन्त्री वर्षमान पुन र पूर्वसभामुख ओन्सरी घर्ती मगरको कालिञ्चोक भ्रमण, पर्यटन प्रवर्द्धनमा जोड

पूर्वमन्त्री वर्षमान पुन र पूर्वसभामुख ओन्सरी घर्ती मगरको कालिञ्चोक भ्रमण, पर्यटन प्रवर्द्धनमा जोड

नेपाल सम्वत् ११४६, यंलाथ्वः १०, दशमी (५ असोज २०८३, २१ सेप्टेम्वर, २०२६) सोमबार, बाँपिझ्याला । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ र पूर्वसभामुख ओन्सरी घर्ती मगरले दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य कालिञ्चोक क्षेत्रको भ्रमण गर्नुभएको छ।

उहाँहरूसँग नेकपाका केन्द्रीय सदस्य तथा दोलखा जिल्ला इञ्चार्ज विशाल खड्का, केन्द्रिय सदस्य अधिवक्ता सुब्बा श्रेष्ठ तथा नेता होम पाठक लगायतका जिल्लाका नेता तथा कार्यकर्ताहरूको समेत सहभागिता रहेको थियो। टोलीले कालिञ्चोक भगवती मन्दिरमा पूजा–अर्चना तथा दर्शन गर्नुका साथै कालिञ्चोक क्षेत्रको पर्यटन गतिविधि, पूर्वाधार विकास र प्राकृतिक सौन्दर्यको अवलोकन गरेको जनाएको छ।

भ्रमणका क्रममा नेता पुन र पूर्वसभामुख घर्ती मगरले कालिञ्चोक क्षेत्र धार्मिक पर्यटनसँगै साहसिक तथा प्राकृतिक पर्यटनका दृष्टिले पनि अत्यन्त सम्भावनायुक्त गन्तव्य भएको उल्लेख गर्दै यसको थप विकास र प्रचार–प्रसार आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको स्थानीय नेताहरूले बताएका छन्। उहाँहरूले पर्यटन क्षेत्रको विकासले स्थानीय जनताको आयआर्जन, रोजगारी सिर्जना तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभएको थियो।

कालिञ्चोक दोलखाको मात्र नभई देशकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। विशेषगरी कालिञ्चोक भगवती मन्दिरमा दर्शन गर्न हरेक वर्ष हजारौं भक्तजन पुग्ने गरेका छन्। पछिल्ला वर्षहरूमा केबलकार सञ्चालन, सडक पहुँचको विस्तार तथा होटल तथा आवास सुविधाको विकाससँगै यहाँ आउने पर्यटकको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ।

समुद्री सतहबाट करिब ३ हजार ८ सय ४२ मिटर उचाइमा अवस्थित कालिञ्चोक भगवती मन्दिर हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र मानिन्छ। धार्मिक महत्वका साथै यहाँबाट गौरीशंकर हिमाल, रोल्वालिङ हिमशृंखला, लाङटाङ क्षेत्र तथा आसपासका मनोरम दृश्यहरू अवलोकन गर्न सकिने भएकाले यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ।

भ्रमणका क्रममा नेता तथा कार्यकर्ताहरूले कालिञ्चोक क्षेत्रमा पुगेका आन्तरिक पर्यटकहरूसँग समेत भेटघाट गरेका थिए। स्थानीय पर्यटन व्यवसायीहरूले राष्ट्रिय स्तरका नेताहरूको भ्रमणले कालिञ्चोकको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार यस्ता भ्रमणले दोलखाको पर्यटन सम्भावनालाई राष्ट्रियस्तरमा उजागर गर्न सहयोग पुग्नेछ।

दोलखाको पर्यटन विकास, धार्मिक सम्पदाको संरक्षण तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणका लागि राज्य, स्थानीय तह र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको भन्दै स्थानीय सरोकारवालाहरूले कालिञ्चोक क्षेत्रको दीर्घकालीन विकासमा विशेष ध्यान दिन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार