नेपाल सम्वत् ११४६, अनलागाः ३ तृर्तिया (२० जेष्ठ, २०८३, ३ जुन, २०२६) बुधबार, बाँपिझ्याला । कुलेश्वर आवास परिवारले नियमित रूपमा सञ्चालन गर्दै आएको हरेक बुधबारको “दिवा सेवा” कार्यक्रमअन्तर्गत नेपाली साहित्यका युगकवि सिद्धिचरण श्रेष्ठको १५५औँ जन्मजयन्ती विशेष साहित्यिक कार्यक्रमका साथ मनाएको छ।
आध्यात्मिक, धार्मिक, साहित्यिक तथा मनोरञ्जनात्मक गतिविधिलाई निरन्तरता दिँदै आएको संस्थाले राष्ट्रिय विभूतिहरूप्रति सम्मान व्यक्त गर्ने उद्देश्यसहित जन्मजयन्ती कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा प्रमुख अतिथि शेखरकुमार श्रेष्ठले युगकवि सिद्धिचरण श्रेष्ठको व्यक्तित्व र कृतित्वबारे चर्चा गर्दै नेपाली साहित्यमा उहाँले पुर्याउनुभएको अतुलनीय योगदानको स्मरण गर्नुभयो।
कार्यक्रममा चेत नारायण धमला, डिल्ली प्रसाद दाहाल, बुद्धिमान ढुङ्गाना, गोपालकुमार मैनाली, जुन किरण, बैरागी जेठा तथा रामबहादुर पहाडीलगायत आठ जना कविले आफ्ना सिर्जनात्मक र साङ्गीतिक कविता प्रस्तुत गरेका थिए। कविताहरूले उपस्थित साहित्यप्रेमीहरूको मन जित्नुका साथै कार्यक्रममा विशेष साहित्यिक वातावरण सिर्जना गरेको थियो।
वाचन गरिएका कवितामाथि पण्डित हरिप्रसाद खतिवडाले आफ्नै कवितासहित समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै कविताका भाव, शैली र सन्देशबारे विश्लेषण गर्नुभएको थियो। कार्यक्रमका उद्घोषक कुवेश्वर प्रसाद जोशीले लोकप्रिय गीत ‘मेरो प्यारो ओखलढुंगा’ प्रस्तुत गरी कार्यक्रमलाई थप रोचक र भावनात्मक बनाएका थिए।
कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष राजु दाहाल शर्माले प्रमुख अतिथि, कवि–कवयित्री, समीक्षक तथा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले सामाजिक, सांस्कृतिक, आध्यात्मिक तथा साहित्यिक गतिविधिमार्फत समाजमा सकारात्मक चेतना फैलाउने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा ज्येष्ठ नागरिक मिलन केन्द्रका संयोजक तथा निवर्तमान अध्यक्ष लोकनाथ पोखरेल, साहित्य कला संस्कृति समाजका संयोजक निलहरी शर्मा सुबेदी, संस्थाका उपाध्यक्ष रामकुमार श्रेष्ठ (राम विनय), कोषाध्यक्ष मदन श्रेष्ठ, सदस्य शुभाष विष्ट, महिला जागरण समूहका सचिव बब्ली पौडेल तथा तुलसा दाहाललगायतले शुभकामना व्यक्त गरेका थिए।
आयोजकका अनुसार कार्यक्रमले साहित्य, संस्कृति र राष्ट्रिय विभूतिप्रतिको सम्मान अभिवृद्धि गर्नुका साथै सहभागीहरूबीच आत्मीयता र सिर्जनात्मक भावनाको विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij