नेपाल सम्वत् ११४६, तछलाथ्वः ५ प्रतिपदा (५ अषाढ, २०८३, १८ जुन, २०२६) शुक्रवार, बाँपिझ्याला । दोलखा नगरको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको नक्छे प्रधान परिवारको कुलदेवता आकाश भैरवको मूर्ति ३३ वर्षपछि आफ्नै थलोमा फर्काइएको छ। २०७२ सालको भूकम्पले क्षति पुर्याएको कुलघर पुनर्निर्माण सम्पन्न भएपछि असार ४ गते मूर्तिलाई दोलखा ल्याई विधिवत् प्रतिष्ठापन गरिएको हो।
राष्ट्रिय संग्रहालय छाउनीबाट मूर्ति ल्याउने क्रममा मुर्ति बुझ्दा राष्ट्रिय सभा सदस्य घनश्याम रिजाल तथा प्रतिनिधि सभा सदस्य जगदीश खरेलको विशेष उपस्थिति रहेको थियो। सदमुकाम चरिकोटबाट स्थानीय बाजागाजासहित निकालिएको शोभायात्रामा दोलखावासीको उल्लेखनीय सहभागिता देखिएको थियो। भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वरनारायण मानन्धरको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नगर उपप्रमुख कमला बस्नेत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
प्रधान परिवारका ज्येष्ठ नागरिक थाक्ती यज्ञकुमार प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रम परिवारका सदस्य अजय प्रधानले सञ्चालन गरेका थिए। कार्यक्रमपछि उपस्थित अतिथिहरूलाई नेवारी परम्पराअनुसार सगुन तथा सम्यबजी खुवाइएको थियो।
नक्षे प्रधान परिवारको कुलघरबाट २०५० र २०५१ सालमा चोरी भएका दुई आकाश भैरव मूर्तिमध्ये एक लामो समयसम्म हराइरहेको थियो। पछि उक्त मूर्ति अमेरिकामा रहेको पत्ता लागेपछि नेपाल फर्काउने अभियान सुरु गरिएको थियो। अमेरिकास्थित नेवास् गुठी, लस्ट आर्ट अफ नेपाल तथा सम्पदा संरक्षणमा सक्रिय विभिन्न संस्थाहरूको पहलमा मूर्ति स्वदेश फर्काइएको हो।
मूर्ति फर्किएसँगै दोलखावासीमा उत्साह छाएको छ। थाक्ती यज्ञकुमार प्रधानले यो केवल मूर्ति फिर्ता भएको घटना मात्र नभई पुर्खाको आस्था, संस्कृति र पहिचानको पुनरागमन भएको बताएका छन्। अभियानमा सक्रिय युवा समाजसेवी अनिलचन्द्र श्रेष्ठले डेढ वर्षको निरन्तर प्रयासपछि यो सफलता प्राप्त भएको उल्लेख गरे।
स्थानीयवासीका अनुसार आकाश भैरवको मूर्ति सम्पूर्ण दोलखावासीको साझा सांस्कृतिक धरोहर हो। करिब तीन दशकपछि आफ्नै जन्मभूमिमा फर्किएको यस सम्पदाले दोलखाको धार्मिक तथा सांस्कृतिक जीवनमा नयाँ उत्साह थप्ने विश्वास गरिएको छ।
यसैबीच, पुनर्निर्मित कुलघरमा असार ५ गते क्षमापूजाको कार्यक्रम आयोजना गरिने भएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij