Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

जन्मभूमि इंग्ल्यान्डविरुद्ध इतिहास रच्ने लक्ष्यमा हालान्ड

जन्मभूमि इंग्ल्यान्डविरुद्ध इतिहास रच्ने लक्ष्यमा हालान्ड

नेपाल सम्वत् ११४६, तछलागाः ११ द्वादशी (२७ अषाढ, २०८३, ११ जुलाई, २०२६) शनिवार, बाँपिझ्याला । एर्लिङ हालान्डका लागि शनिबार हुने विश्वकप क्वार्टरफाइनल विशेष महत्वको छ। इंग्ल्यान्डको लिड्समा जन्मिएका उनले अन्तर्राष्ट्रिय फुटबलका लागि इंग्ल्यान्ड होइन, आफ्ना परिवारको मातृदेश नर्वेलाई रोजेका थिए। अब उनी जन्मिएको देशविरुद्ध नर्वेलाई पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुर्‍याउने लक्ष्यसहित मैदान उत्रँदै छन्।

नर्वेले सन् १९९८ पछि पहिलो पटक विश्वकप खेल्दै २८ वर्षको प्रतीक्षा तोडेको हो। यस सफलतामा हालान्डको भूमिका निर्णायक रह्यो। उनले विश्वकप छनोटमा आठ खेलमा १६ गोल गरे भने मुख्य प्रतियोगितामा चार खेलमै सात गोल गर्दै नर्वेलाई क्वार्टरफाइनलसम्म पुर्‍याए। अन्तिम १६ मा ब्राजिलविरुद्ध दुई गोल गर्दै उनले टोलीलाई ऐतिहासिक जित दिलाएका थिए।

सन् २००० मा लिड्समा जन्मिएका हालान्डका पिता आल्फ–इंगे हालान्ड त्यतिबेला इंग्लिस क्लबबाट खेलिरहेका थिए। तीन वर्षपछि परिवार नर्वे फर्किएपछि हालान्डले त्यहीँबाट आफ्नो फुटबल यात्रा सुरु गरे। ब्रिन, मोल्डे, रेड बुल साल्जबर्ग, बोरुसिया डर्टमन्ड हुँदै अहिले उनी म्यानचेस्टर सिटीका स्टार फरवार्ड बनेका छन्।

पूर्व इंग्ल्यान्ड प्रशिक्षक ग्यारेथ साउथगेटका अनुसार हालान्डले सुरुदेखि नै नर्वेकै प्रतिनिधित्व गर्ने निर्णयमा स्पष्ट अडान राखेका थिए। विश्वकपमा पुग्न वर्षौं कुर्नुपर्ने जोखिम हुँदाहुँदै पनि उनले आफ्नो निर्णय परिवर्तन गरेनन्।

हालान्डसँगै कप्तान मार्टिन ओडेगार्ड, अलेक्जेन्डर सोर्लोथ, योर्गेन स्ट्रान्ड लार्सेन, ओस्कार बोब, सान्देर बेर्गे, प्याट्रिक बेर्ग र एन्टोनियो नुसाजस्ता प्रतिभावान खेलाडीको उत्कृष्ट प्रदर्शनले पनि नर्वेलाई नयाँ उचाइमा पुर्‍याएको छ। धेरैले यो टोलीलाई नर्वेको ‘सुनौलो पुस्ता’का रूपमा व्याख्या गरेका छन्।

विश्व फुटबलका सबैभन्दा चर्चित खेलाडीमध्ये एक भए पनि हालान्ड आफ्नो गाउँ ब्रिनसँग अझै गहिरो रूपमा जोडिएका छन्। उनी भविष्यमा खेती गर्ने सपना देख्ने र सामान्य जीवनशैली मन पराउने खेलाडीका रूपमा पनि परिचित छन्।

हाल विश्वकप गोल्डेन बुटको प्रतिस्पर्धामा लियोनेल मेसी आठ गोलसहित शीर्ष स्थानमा छन् भने हालान्ड र केलियन एमबाप्पे सात–सात गोलका साथ दोस्रो स्थानमा छन्। अब इंग्ल्यान्डविरुद्धको क्वार्टरफाइनलमा उनी व्यक्तिगत उपलब्धिसँगै नर्वेलाई पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुर्‍याएर नयाँ इतिहास रच्ने लक्ष्यमा छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार