नेपाल सम्वत् ११४७, कछलाथ्वः ६, षष्ठी (२९ कार्तिक २०८३, १५ नोभेम्वर, २०२६) आईतबार, बाँपिझ्याला । नेकपा एमालेले आगामी मंसिर २ र ३ गते आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र पारेको छ। भेलालाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टीको केन्द्रीय कार्यालय च्यासलमा दैनिकजसो तयारी बैठक भइरहेका छन्।
भेलाको तयारीकै क्रममा आइतबार वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी च्यासल पुगेकी थिइन्। उनले भेलाका संयोजक नेता भानुभक्त ढकाल र केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीलगायत नेताहरूसँग तयारीको अवस्थाबारे जानकारी लिएकी थिइन्।
यसअघि शुक्रबार महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको तयारी बैठकमा भेलाको व्यवस्थापन र सञ्चालनका विषयमा क्षेत्रगत समीक्षा गरिएको थियो। बैठकमा संयोजक ढकालले सभाहल व्यवस्थापन, मञ्च निर्माण, सजावट, प्रचारप्रसार तथा स्वयंसेवक परिचालनलगायतका काम अन्तिम चरणमा पुगेको जानकारी गराएका थिए।
३ हजार ४१४ जना सहभागी हुने
एमालेले यसपटक केन्द्रदेखि स्थानीय तहसम्मका पार्टी नेता तथा जनप्रतिनिधिलाई एकै ठाउँमा सहभागी गराएर राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्न लागेको छ। भेलामा करिब ३ हजार ४१४ जनाको सहभागिता रहने बताइएको छ।
भेलामा राष्ट्रिय सभा, प्रतिनिधिसभा, प्रदेश सभा तथा स्थानीय तहका जनप्रतिनिधि, पार्टीका पालिका, जिल्ला र प्रदेश कमिटीका पदाधिकारी, जनसंगठनका नेता तथा केन्द्रीय कमिटीका सदस्यहरू सहभागी हुनेछन्।
भेलालाई व्यवस्थित बनाउन एमालेले प्रदेशअनुसार युवा नेताहरूलाई संयोजनको जिम्मेवारीसमेत दिएको छ। कोशी प्रदेशमा सुनिता बराल, क्षितिज थेबे र मनोज ताम्ली, मधेशमा विशाल भट्टराई, नरेन्द्र न्यौपाने र समिमबाबु खान तथा बागमतीमा समिक बडाल, महाराज गुरुङ र रमेश आचार्यले संयोजन गरिरहेका छन्।
त्यसैगरी राजधानी प्रदेशमा भोला पोखरेल, सञ्जीव धिताल र सुदर्शन सिवाकोटी, गण्डकीमा रश्मी आचार्य, विनिता काफ्ले र रामजी सापकोटा, लुम्बिनीमा धर्म गिरी, सुमन पुरी र संगम अर्याललाई जिम्मेवारी दिइएको छ।
कर्णालीमा निरज आचार्य, नारायण घर्ती र वीरेन्द्र रावल तथा सुदूरपश्चिममा गोविन्द गिरी, मोती विक र दीपक धामीले संयोजन गरिरहेका छन्। उनीहरूले स्थानीय तहदेखि प्रदेश तहसम्मका नेताहरूलाई भेलामा सहभागी गराउने तथा आवश्यक समन्वय गर्ने जिम्मेवारी पाएका छन्।
निर्वाचनको तयारीमा पार्टीपंक्ति परिचालन गर्ने लक्ष्य
एमालेले राष्ट्रिय कार्यकर्ता भेलालाई पार्टीपंक्तिमा नयाँ जागरण ल्याउने र आगामी प्रदेश सभा तथा स्थानीय तहको निर्वाचनको तयारीमा जुट्ने अवसरका रूपमा लिएको छ।
केन्द्रीय सदस्य सुनिता बरालका अनुसार भेलाको मुख्य उद्देश्य पार्टीभित्रको निराशा हटाउँदै नेता तथा कार्यकर्तालाई निर्वाचन केन्द्रित गतिविधिमा परिचालन गर्नु हो।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले बेहोरेको पराजयको समीक्षा गर्दै आगामी निर्वाचनका लागि तयारीमा जुटेको सन्देश दिन भेला आयोजना गर्न लागिएको उनले बताएकी छन्।
भेलामार्फत पार्टीका समस्या पहिचान गर्नुका साथै विगतमा सरकारको नेतृत्व गर्दा भएका राम्रा कामहरूको जानकारी पार्टीपंक्तिमा पुर्याउन पनि सहयोग पुग्ने नेताहरूको बुझाइ छ।
प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार केन्द्रदेखि स्थानीय तहसम्मका पार्टी नेता तथा जनप्रतिनिधिलाई एकै ठाउँमा सहभागी गराउनु एमालेका लागि नयाँ अभ्यास हुनेछ।
शीर्ष नेताहरूले सम्बोधन गर्ने, छलफल नहुनेप्रति असन्तुष्टि
राष्ट्रिय कार्यकर्ता भेलामा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णुप्रसाद पौडेल तथा महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तयारी गरिएको छ।
तर भेलामा स्थानीय तहदेखि आएका नेता तथा कार्यकर्ताले आफ्नो धारणा राख्ने र पार्टीको वर्तमान राजनीतिक अवस्थाबारे छलफल गर्ने अवसर नपाउने कार्यतालिकाप्रति केही नेताहरूले असन्तुष्टि जनाएका छन्।
पार्टीले भोगिरहेको राजनीतिक संकट, निर्वाचनमा भएको पराजय र संगठनभित्रका समस्याबारे तल्लो तहका नेता तथा कार्यकर्ताको धारणा सुन्नुपर्ने उनीहरूको माग छ। केही नेताहरूले शीर्ष नेताहरूको सम्बोधन मात्रै सुनेर फर्किनेभन्दा पनि भेलालाई केही दिन लम्ब्याएर व्यापक समीक्षा र छलफल गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
भेलापछि जनप्रतिनिधिको छुट्टै बैठक
राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न भएपछि एमालेले जनप्रतिनिधिहरूको छुट्टै भेला आयोजना गर्ने तयारीसमेत गरेको छ।
जनप्रतिनिधिहरूको भेला सम्पन्न भएको भोलिपल्ट अर्थात् मंसिर ५ गते पार्टीको चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको छ। असोज पहिलो साता सम्पन्न केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीको राजनीतिक प्रस्ताव पारित गरेको थियो। आगामी बैठकका एजेण्डा भने तय हुन बाँकी रहेको नेताहरूले बताएका छन्।
राष्ट्रिय कार्यकर्ता भेला, जनप्रतिनिधिहरूको बैठक र केन्द्रीय कमिटी बैठकलाई निरन्तरता दिँदै एमालेले पार्टी संगठनलाई निर्वाचन केन्द्रित गतिविधिमा परिचालन गर्ने रणनीति अघि सारेको देखिन्छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij