Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

दोलखा भीमेश्वरको अद्भुत रहस्य : शिलामा पसिना आउने परम्परा र ९७ वर्षको इतिहास

दोलखा भीमेश्वरको अद्भुत रहस्य : शिलामा पसिना आउने परम्परा र ९७ वर्षको इतिहास

नेपालको प्रसिद्ध धार्मिक तीर्थस्थलमध्ये एक दोलखास्थित श्री भीमेश्वर (भीमसेन)  मन्दिरसँग जोडिएको सबैभन्दा चर्चित र रहस्यमय विषय हो। भगवान् भीमेश्वर (भीमसेन) को शिला (मूर्ति) मा समय–समयमा पसिना आउनु। स्थानीय गुठियार, पुजारी तथा भक्तजनहरूले यसलाई शताब्दीयौँदेखि दैवी संकेतका रूपमा व्याख्या गर्दै आएका छन्। उनीहरूको विश्वासअनुसार देश भित्र, बाहीर वा विश्वमा कुनै ठूलो प्राकृतिक विपत्ति, राजनीतिक परिवर्तन, महामारी वा अन्य महत्वपूर्ण घटना हुनुअघि भीमेश्वर (भीमसेन)  भगवानको शिलामा पसिना आउने गर्दछ।

यही जनविश्वासका कारण शिलामा पसिना आएको समाचार सार्वजनिक हुनासाथ दोलखा मात्र नभई देशभरका श्रद्धालु, अनुसन्धानकर्ता, सञ्चारमाध्यम र सर्वसाधारणको ध्यान भीमेश्वर (भीमसेन)   मन्दिरतर्फ केन्द्रित हुने गरेको छ। धार्मिक दृष्टिले यसलाई भगवानको चेतावनी वा राष्ट्रप्रतिको चिन्ताको प्रतीक मानिन्छ भने सांस्कृतिक रूपमा यो दोलखा भीमेश्वर (भीमसेन) को विशिष्ट पहिचान बनेको छ।

वि.सं. १९८४ को पहिलो लिखित अभिलेख :

उपलब्ध अभिलेखअनुसार भीमेश्वर (भीमसेन) को शिलामा पसिना आएको पहिलो लिखित प्रमाण वि.सं. १९८४ सालको हो। नेपाल सम्वत् १०४७ दिल्लागाः १४ अर्थात् वि.सं. १९८४ साउन १२ गते बुधबार शिलामा पसिना आएको थियो। त्यस घटनाको विवरण नेपाल सम्वत् १०४७ गुँलागाः ३ अर्थात् वि.सं. १९८४ साउन ३१ गते प्रकाशित गोरखापत्रमा समेत प्रकाशित भएको उल्लेख रहेको पाइन्छ।

स्थानीय गुठियारहरूको भनाइअनुसार भने भीमेश्वरको शिलामा पसिना आउने घटना वि.सं. १९८४ भन्दा धेरै अघिदेखि नै हुँदै आएको थियो। तर त्यस समयका अभिलेख व्यवस्थित रूपमा सुरक्षित नरहेकाले लिखित प्रमाण उपलब्ध छैन।

दैवी संकेतको रूपमा हेरिने परम्परा:

दोलखा क्षेत्रमा उपलब्ध ताम्रपत्र, भोजपत्र र ताडपत्रहरूमा शिलामा पसिना आएको प्रत्यक्ष उल्लेख नभए पनि वि.सं. १८३२ को एउटा अभिलेखमा भीमेश्वर मन्दिरको देब्रेतर्फ रहेको गदा एक अंगुल माथि उठेको उल्लेख भेटिएको छ। स्थानीय धार्मिक परम्परामा यसलाई पनि दैवी संकेतका रूपमा लिइन्छ।

गुठियार तथा पुजारीहरूको विश्वासअनुसार भीमेश्वर भगवान राष्ट्रका संरक्षक देवता हुन्। देश भित्र बाहिर ठूलो संकट आउनुअघि भगवानले आफ्ना भक्तलाई सचेत गराउन शिलामा पसिना आउने संकेत दिने विश्वास रहँदै आएको छ। त्यसैले प्रत्येक पटक पसिना देखिएपछि विशेष पूजा, अभिषेक, रुद्रीपाठ, क्षमापूजा तथा राष्ट्रको शान्तिको कामना गर्दै धार्मिक अनुष्ठान सञ्चालन गरिन्छ।

९७ वर्षमा २६ औं पटकको अभिलेख:

मन्दिर व्यवस्थापनसँग रहेको विवरणअनुसार वि.सं. १९८४ सालदेखि वि.सं. २०८१ साउन ९ गतेसम्म भीमेश्वरको शिलामा २६औं पटक पसिना आएको अभिलेख सुरक्षित रहेको बताइन्छ। स्थानीय समुदायले ती घटनालाई त्यसपछिका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनासँग जोडेर हेर्ने गरेका छन्।

स्थानीय जनश्रुतिअनुसार वि.सं. १९९० सालको महाभूकम्प आउनुअघि शिलामा पसिना आएको थियो। त्यसपछि नेपाल–बिहार महाभूकम्पले ठूलो जनधनको क्षति पु¥याएको थियो।

त्यसैगरी वि.सं. १९९७ सालमा चार शहीदलाई मृत्युदण्ड दिइनुअघि, वि.सं. २००७ सालको प्रजातान्त्रिक क्रान्ति हुनुअघि, वि.सं. २०११ सालमा राजा त्रिभुवनको निधनअघि, वि.सं. वि.सं. २०१५ सालमा आएको पसिनाले प्रजातन्त्र खोसेको, २०१७ सालमा पञ्चायती व्यवस्था लागू हुनुअघि, वि.सं. २०१८ सालको बाढीपहिरो र वि.सं. २०२८ साल पुषमा राजा महेन्द्रको निधनअघि पनि शिलामा पसिना आएको विश्वास स्थानीय समाजमा प्रचलित छ।

यसैगरी वि.सं. २०३५ साल फागुणमा आएको पसिनाले राजनीतिक परिवर्तन, २०४५ सालको भूकम्प, २०४६ सालको जनआन्दोलन, २०४७ सालका थाई एअरवेयज र पाकिस्तानी एअरवेयज हवाई दुर्घटना तथा २०५० सालमा पासाङ ल्हामु शेर्पाको निधन र मदन भण्डारीको जीप दुर्घटनाअघि पनि भीमेश्वरको शिलामा पसिना आएको जनविश्वास रहेको छ।

राजदरबार हत्याकाण्डदेखि गणतन्त्रसम्म:

वि.सं. २०५७ सालमा पुष ३, माघ १–३ र माघ १४ गते बेलुका ५ः४० बजेगरी तीनपटक शिलामा पसिना आएको अभिलेख रहेको छ। त्यसको केही महिनापछि २०५८ जेठ १९ गते नारायणहिटी दरबारमा भएको राजपरिवारको दुःखद हत्याकाण्डसँग यस घटनालाई धेरै श्रद्धालुले जोडेर हेर्ने गरेका छन्।

त्यसपछि २०६१ र २०६२ सालमा देखिएको पसिनालाई दोस्रो जनआन्दोलनसँग तथा २०६४ सालको घटनालाई राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनासँग सम्बन्धित रूपमा व्याख्या गरिन्छ। यसै गरी २०७० मंसिर ३० गते र फागुण १३ गते आएको पसिनाले वि.सं. २०७० साल चैत्र २२ गते ढलिएको चुडामणीको स्तम्भ ढलेकोलाई जोडिएको छ ।

२०७२ को भूकम्प र कोरोना महामारी:

वि.सं. २०७१ मंसिरमा शिलामा पसिना आएको थियो। त्यसको केही महिनापछि २०७२ वैशाख १२ र २९ गते नेपालमा विनाशकारी भूकम्प आयो। धेरै भक्तजनले यसलाई पनि भीमेश्वरको पूर्वसंकेतसँग जोडेर हेर्ने गरेका छन्।

वि.सं. २०७४ असोज १० गते दिउँसो २ः४५ देखि ५ः१५ सम्म आएको पसिनालाई राष्ट्रपती चयन र राजनैतिक परिवर्तनलाई हेरिएको छ ।

वि.सं. २०७६ फागुन ८ गते बिहीबार बिहान ६ः२८ देखि ७ः२५ सम्म शिलामा पसिना देखिएको थियो। त्यसको केही समयपछि विश्वभर कोभिड–१९ महामारी फैलिएको थियो। धार्मिक विश्वासअनुसार यसलाई पनि महामारीको पूर्वसूचनाका रूपमा व्याख्या गरिएको छ।

२०७७ मंसिर ९ गते र २०७८ वैशाख २५ गते पनि शिलामा पसिना आएको अभिलेख छ। ती घटनालाई कोरोना महामारीको दोस्रो लहर तथा तत्कालीन राजनीतिक घटनाक्रमसँग जोडेर चर्चा गरिएको थियो।

पछिल्लो अभिलेख:

वि.सं. २०८१ साउन ५ गते र  साउन ९ गते भीमेश्वर (भीमसेन) को शिलामा पसिना आएको मन्दिर व्यवस्थापन समितिले जनाएको थियो। यसरी साउन ५ र ९ गते आएको आएको पसिना साउन ९ गते सौर्य एअरलाईन्सको विमान दुर्घटनालाई जोडिएको छ । जसमा १८ जना यात्रुको ज्यान गएको थियो । 

भीमेश्वर गुठी व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर श्रेष्ठका अनुसार हालसम्म सुरक्षित अभिलेखअनुसार उक्त साउन ९ गतेसम्मको घटना शिलामा पसिना २६ औँ पटक भएको भनाई रहेको छ । त्यसपछि परम्पराअनुसार राष्ट्र प्रमुखबाट विशेष क्षमा पूजा, अभिषेक तथा राष्ट्रको शान्तिको कामना गर्दै धार्मिक अनुष्ठान सम्पन्न गर्ने परम्परा रही आएको छ ।

यसै गरी वि.सं. २०८२ सालमा आएको पसिनाले जेन्जी आन्दोलन संग जोडिएको छ ।

धार्मिक विश्वास र वैज्ञानिक दृष्टिकोण:

भीमेश्वर (भीमसेन) को शिलामा पसिना आउने घटनालाई स्थानीय समुदाय र भक्तजन नेपालीहरुले दैवी संकेतका रूपमा स्वीकार गर्दै आएका छन्। तर शिलामा पसिना आउनु र त्यसपछि भएका राष्ट्रिय वा अन्तर्राष्ट्रिय घटनाबीच प्रत्यक्ष कारण–परिणाम सम्बन्ध रहेको भन्ने कुरा धार्मिक आस्था, जनविश्वास र मौखिक परम्परामा आधारित व्याख्या हो। यसको वैज्ञानिक पुष्टि भने हालसम्म भएको छैन।

यद्यपि धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले दोलखा भीमेश्वर (भीमसेन) मा पसिना आउने परम्परा नेपालको अमूल्य सांस्कृतिक सम्पदामध्ये एक मानिन्छ। यसले दोलखा भीमेश्वर (भीमसेन) को धार्मिक महत्वलाई मात्र होइन, नेपाली समाजमा जीवित लोकविश्वास र सांस्कृतिक निरन्तरतालाई पनि उजागर गर्दै आएको छ।

सन्दर्भ ग्रन्थः

दोलखाबाट प्रकाशित पत्रपत्रीकाहरुः

हालसम्म उपलब्ध ताम्रपत्र, शिलापत्र र दस्तावेजहरुबाट
दोलखाको ऐतिहासिक रुपरेखा,
कालिञ्चोक युवा क्लवको मुखपत्र “आँखा”
तिलिञ्चो परिवारको मुख पत्र “चिमाल”
दोलखा सेवा समाजको मुख पत्र “दोलखा ज्योती”
बाँपिझ्याला मासिक पत्रिका,
बाँपिझ्याला डटकम, अनलाईन पत्रीका
दोलखा भीमेश्वर बाट प्रकाशित परिचय पुस्तीका
बिभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारहरुबाट ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार