Nov 15 2026 | २०८३, कार्तिक २९, गते

Nov 15 2026 | २०८३, कार्तिक २९, गते

नक्छे प्रधान परिवारको कुलदेवता आकाश भैरवको मूर्ति भीमेश्वर मन्दिरको भण्डारमा सुरक्षित स्थानान्तरण

नक्छे प्रधान परिवारको कुलदेवता आकाश भैरवको मूर्ति भीमेश्वर मन्दिरको भण्डारमा सुरक्षित स्थानान्तरण

नेपाल सम्वत् ११४६, तछलागाः ११ द्वादशी (२७ अषाढ, २०८३, ११ जुलाई, २०२६) शनिवार, बाँपिझ्याला । दोलखाको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाका रूपमा परिचित नक्छे प्रधान परिवारको कुलदेवता हाथ्व (आकाश भैरव) को मूर्ति सुरक्षालाई प्राथमिकता दिँदै शनिबार, २०८३ असार २७ गते भीमेश्वर मन्दिरको भण्डारमा स्थानान्तरण गरिएको छ।

करिब डेढ वर्षअघि विदेशबाट नेपाल फर्काइएको उक्त ऐतिहासिक मूर्ति यसै वर्ष असार ५ गते राष्ट्रिय संग्रहालयबाट आवश्यक कानुनी प्रक्रिया पूरा गरी नक्छे प्रधान खलकको जिम्मेवारीमा दोलखा ल्याइएको थियो। त्यसयता मूर्तिको संरक्षण, सुरक्षा र दीर्घकालीन व्यवस्थापनबारे छलफल तथा तयारी भइरहेका थिए।

सम्पदाको महत्वलाई ध्यानमा राख्दै हालका लागि मूर्तिलाई भीमेश्वर मन्दिरको भण्डारमा सुरक्षित रूपमा राखिएको सम्बन्धित पक्षले जनाएको छ। मन्दिरको भण्डारमा राखिएसँगै मूर्तिको सुरक्षा अझ प्रभावकारी हुने विश्वास गरिएको छ।

हाथ्व (आकाश भैरव) को मूर्ति नक्छे प्रधान परिवारको कुलदेवता मात्र नभई दोलखाको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा हो। लामो समय विदेशमा रहेपछि नेपाल फर्किएको यो मूर्तिले दोलखावासीमा विशेष खुसी र गौरवको अनुभूति गराएको थियो।

स्थानीय समुदायले यस सम्पदाको संरक्षण, उचित व्यवस्थापन तथा भावी पुस्तासम्म यसको ऐतिहासिक महत्व जोगाइराख्न सम्बन्धित निकाय र सरोकारवालाले निरन्तर पहल गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। मूर्तिलाई सुरक्षित स्थानमा राखिएको यो कदमले दोलखाको सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

मूर्ति स्थानान्तरण कार्यलाई सफल बनाउन सहजकर्ताको भूमिका निर्वाह गर्ने नक्छे प्रधान परिवारका सदस्य उदिप प्रधान र कृष्णकुमार प्रधानप्रति परिवारले विशेष आभार व्यक्त गरेको छ। साथै, गुठी संस्थानका प्रमुख तथा  दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर श्रेष्ठले यस कार्यमा पुर्‍याएको समन्वय र सहयोगको पनि परिवारले उच्च प्रशंसा गरेको छ।

त्यसैगरी, मूर्तिलाई सुरक्षित रूपमा भीमेश्वर मन्दिरको भण्डारसम्म स्थानान्तरण गर्न सहयोग गर्ने प्रधान परिवारका सदस्य अजय प्रधान, चन्द्रनारायण प्रधान तथा जिम्वाल बासु जोशीलगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्तिहरूप्रति नक्छे प्रधान परिवारले हार्दिक आभार व्यक्त गरेको छ।

नक्छे प्रधान परिवारका अनुसार आकाश भैरवको मूर्ति धार्मिक आस्थाको केन्द्र मात्र नभई दोलखाको ऐतिहासिक र सांस्कृतिक सम्पदाको महत्वपूर्ण धरोहर भएकाले यसको संरक्षण सबैको साझा जिम्मेवारी हो। मूर्तिलाई सुरक्षित स्थानमा राखिएको यस कदमले यस अमूल्य सम्पदाको दीर्घकालीन संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

 
 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार