Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

विश्व फुटबलको महायुद्ध : स्पेन र अर्जेन्टिनाबीच विश्वकप उपाधिका लागि ऐतिहासिक भिडन्त

विश्व फुटबलको महायुद्ध : स्पेन र अर्जेन्टिनाबीच विश्वकप उपाधिका लागि ऐतिहासिक भिडन्त

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः३ तृर्तिया (१ साउन, २०८३, १७ जुलाई, २०२६) शुक्रवार, बाँपिझ्याला । २३औँ संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा युरोपियन च्याम्पियन स्पेन र साविक विजेता अर्जेन्टिना आमनेसामने हुने भएका छन्। आइतबार राति हुने फाइनल खेलले नयाँ विश्व च्याम्पियनको टुंगो लगाउनेछ। स्पेनले सेमिफाइनलमा फ्रान्सलाई २–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो पटक विश्वकप उपाधि जित्ने अवसर सुरक्षित गरेको हो।

यो लगातार दोस्रो विश्वकप फाइनल हो, जहाँ दक्षिण अमेरिका र युरोपका प्रतिनिधि टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ। सन् २०२२ को कतार विश्वकपमा अर्जेन्टिनाले फ्रान्सलाई हराएर उपाधि जितेको थियो। यसपटक स्पेन आफ्नो आकर्षक ‘टिकी–टाका’ शैलीमार्फत दोस्रो विश्वकप जित्ने लक्ष्यमा छ भने अर्जेन्टिना कप्तान लियोनल मेसीको नेतृत्वमा उपाधि रक्षा गर्ने अभियानमा छ।

फुटबल विश्लेषकहरूले यस फाइनललाई पछिल्ला वर्षकै सबैभन्दा रोमाञ्चक उपाधि भिडन्तको रूपमा व्याख्या गरेका छन्। पहिलो पटक फिफा वरीयताका शीर्ष चार टोली अन्तिम चारमा पुगेको प्रतियोगितामा स्पेन र अर्जेन्टिनाको भेटले दुई फरक फुटबल दर्शनको प्रतिस्पर्धा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। स्पेनले बल नियन्त्रण र छोटो पासमा आधारित खेल देखाउँदै आएको छ भने अर्जेन्टिनाले निर्णायक क्षणमा आक्रामक प्रदर्शन गर्दै कठिन खेलहरू जित्दै आएको छ।

फिफाका अनुसार स्पेनको तुलनामा अर्जेन्टिनाको फाइनल यात्रा निकै कठिन रह्यो। स्पेनले फ्रान्सविरुद्ध सुरुदेखि नै खेल नियन्त्रणमा राख्दै सहज जित निकालेको थियो। अर्कोतर्फ अर्जेन्टिना इंग्ल्यान्डविरुद्ध ८५औँ मिनेटसम्म १–० ले पछि परेको अवस्थामा खेलमा फर्कियो। एन्जो फर्नान्डेजको बराबरी गोलपछि इन्जुरी समयमा लाउटारो मार्टिनेजले विजयी गोल गर्दै अर्जेन्टिनालाई फाइनल पुर्‍याए।

विश्वकपमा ६० वर्षपछि पुनः भेट

स्पेन र अर्जेन्टिनाबीच विश्वकपमा पछिल्लो भेट सन् १९६६ मा भएको थियो। त्यस खेलमा अर्जेन्टिनाले स्पेनलाई २–१ ले हराएको थियो। त्यसयता विश्वकपमा उनीहरूको भेट भएको थिएन। अन्तर्राष्ट्रिय फुटबलमा भने दुवै टोलीबीच १३ खेल भएका छन्, जसमा स्पेनले ६, अर्जेन्टिनाले ५ खेल जितेका छन् भने २ खेल बराबरीमा सकिएका छन्। सन् २०१८ मा भएको पछिल्लो भेटमा स्पेनले अर्जेन्टिनालाई ६–१ ले पराजित गरेको थियो।

इंग्ल्यान्डको हारपछि टुचेलमाथि प्रश्न

सेमिफाइनलमा इंग्ल्यान्ड अन्तिम समयमा दुई गोल खाँदै पराजित भएपछि प्रशिक्षक थोमस टुचेलको रणनीतिको व्यापक आलोचना भइरहेको छ। इंग्ल्यान्डले अग्रता लिएपछि अत्यधिक रक्षात्मक खेल्नु नै हारको प्रमुख कारण भएको पूर्वखेलाडीहरूको विश्लेषण छ। वायन रुनी र एलन सियररले विश्वस्तरको टोलीविरुद्ध यस्तो रणनीति सफल नहुने टिप्पणी गरेका छन्।

वेलिंघम विवादमा

सेमिफाइनलपछि इंग्ल्यान्डका स्टार मिडफिल्डर जुड वेलिंघम पनि विवादमा परेका छन्। अर्जेन्टिनाले विजयी गोल गरेपछि उत्सव मनाइरहेका डिफेन्डर भ्यालेन्टिन बार्कोलाई वेलिंघमले पछाडिबाट थप्पड हानेको दृश्य सार्वजनिक भएपछि त्यस घटनाले व्यापक चर्चा पाएको छ।

फाइनलका प्रमुख खेलाडी

रोड्री (स्पेन)
स्पेनका मिडफिल्डर रोड्री टोलीको खेल नियन्त्रण गर्ने मुख्य पात्र हुन्। प्रतियोगिताभर उनले ६९४ पास पूरा गर्दै ९३ प्रतिशत पास सफलतादर कायम गरेका छन्। उनले विपक्षीलाई खेल निर्माण गर्न नदिने र आफ्ना साथीहरूलाई अवसर सिर्जना गर्ने भूमिकामा उत्कृष्ट प्रदर्शन गरेका छन्।

एन्जो फर्नान्डेज (अर्जेन्टिना)
अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेज फाइनलका निर्णायक खेलाडीमध्ये एक मानिएका छन्। उनले इंग्ल्यान्डविरुद्धको सेमिफाइनलमा शानदार बराबरी गोल गरेका थिए। बल नियन्त्रण, खेलको लय निर्धारण र लियोनल मेसीसँगको उत्कृष्ट समन्वयका कारण उनी अर्जेन्टिनाको उपाधि यात्राका प्रमुख आधार बनेका छन्।

अब विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा स्पेनको संयमित ‘टिकी–टाका’ शैली र अर्जेन्टिनाको संघर्षशील तथा आक्रामक खेलबीचको प्रतिस्पर्धाले नयाँ विश्व च्याम्पियन तय गर्नेछ। विश्वभरका फुटबल समर्थकको नजर आइतबार रातिको यही ऐतिहासिक फाइनलमा केन्द्रित हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार