Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

गुरु–शिष्यको रणनीतिक भिडन्त : विश्वकप फाइनलमा डे ला फुएन्ते र स्कालोनी आमनेसामने

गुरु–शिष्यको रणनीतिक भिडन्त : विश्वकप फाइनलमा डे ला फुएन्ते र स्कालोनी आमनेसामने

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः४ चौठी (२ साउन, २०८३, १८ जुलाई, २०२६) शनिवार, बाँपिझ्याला । सोमबार बिहान हुने फिफा विश्वकप फाइनलमा अर्जेन्टिना र स्पेनबीचको प्रतिस्पर्धा केवल खेलाडीहरूको प्रदर्शनमा मात्र सीमित रहने छैन। विश्वकप ट्रफी कसले उचाल्ने भन्ने निर्णयमा दुवै टोलीका प्रशिक्षकको रणनीतिक क्षमता पनि उत्तिकै निर्णायक बन्नेछ।

यस फाइनललाई विशेष बनाउने अर्को रोचक पक्ष भनेको स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्ते र अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीबीचको सम्बन्ध हो। उनीहरू केवल प्रतिद्वन्द्वी प्रशिक्षक मात्र होइनन्, गुरु र शिष्य पनि हुन्।

सन् २०१७ मा स्पेनिस फुटबल महासंघ (आरएफईएफ) ले सञ्चालन गरेको यूईएफए प्रो लाइसेन्स प्रशिक्षक पाठ्यक्रममा स्कालोनी विद्यार्थी थिए भने डे ला फुएन्ते प्रशिक्षकमध्ये एक थिए। त्यसबेला स्कालोनी कक्षाको अगाडिको बेञ्चमा बसेर निरन्तर प्रश्न गर्ने र फुटबलका विषयमा गहिरो बहस गर्ने विद्यार्थीका रूपमा चिनिन्थे।

डे ला फुएन्तेले द गार्डियनसँगको अन्तर्वार्तामा सम्झँदै भनेका छन्, “अरू विद्यार्थी पछाडि बस्थे, तर स्कालोनी सधैं अगाडि हुन्थे। उनी प्रश्न गर्थे, बहस गर्थे र आफ्नै दृष्टिकोण राख्थे। त्यतिबेलै उनीभित्र केही फरक देखिन्थ्यो।”

त्यही कक्षामा स्पेनका पूर्व अन्तर्राष्ट्रिय खेलाडी पाब्लो ओर्बाइज, कार्लोस गुर्पेगी, पियर लुइजी चेरुबिनो र एन्डोनी इराओलालगायत सहभागी थिए। उनीहरूका अनुसार डे ला फुएन्तेको कक्षा केवल औपचारिक प्रशिक्षण नभई फुटबल दर्शनमाथिको खुला छलफलको केन्द्र थियो, जहाँ स्कालोनी सबैभन्दा सक्रिय सहभागीमध्ये एक थिए।

युवा टोलीबाट विश्वकप फाइनलसम्म डे ला फुएन्तेको यात्रा

६४ वर्षीय डे ला फुएन्तेले स्पेनको सिनियर टोली सम्हाल्नुअघि झन्डै एक दशक उमेर समूहका टोलीसँग काम गरेका थिए। उनले २०१५ मा स्पेनलाई यू–१९ युरोपियन च्याम्पियन बनाएका थिए, जसमा अहिलेका प्रमुख खेलाडी रोड्री, मिकेल मेरिनो र उनाइ सिमोन समावेश थिए।

त्यसपछि उनले २०१८ मा यू–२१ युरोपियन च्याम्पियनसिप जिताए भने २०२१ को टोकियो ओलम्पिकमा स्पेनलाई रजत पदक दिलाए। २०२२ मा लुइस एनरिकेको स्थानमा सिनियर टोलीको जिम्मेवारी सम्हालेपछि उनले स्पेनलाई २०२३ मा यूईएफए नेसन्स लिग र २०२४ मा युरोपियन च्याम्पियन बनाएका छन्। अब उनको लक्ष्य स्पेनलाई १६ वर्षपछि पुनः विश्वकप उपाधि दिलाउने छ।

आलोचनाबाट विश्व विजेतासम्म स्कालोनी

स्कालोनीको यात्रा अझ प्रेरणादायी मानिन्छ। २०१८ विश्वकपपछि अर्जेन्टिनाको अन्तरिम प्रशिक्षक नियुक्त हुँदा धेरैले उनलाई अनुभवहीन भन्दै आलोचना गरेका थिए। त्यसअघि उनले सेभियामा सहायक प्रशिक्षक र जर्ज साम्पाओलीका सहायकका रूपमा मात्र काम गरेका थिए।

तर आठ वर्षभित्रै उनले अर्जेन्टिनाको फुटबल इतिहासलाई नयाँ उचाइमा पुर्‍याए। उनको नेतृत्वमा अर्जेन्टिनाले कोपा अमेरिका २०२१, फाइनलिसिमा २०२२, फिफा विश्वकप २०२२ र कोपा अमेरिका २०२४ जितिसकेको छ।

यदि अर्जेन्टिनाले यसपटक पनि विश्वकप जित्यो भने स्कालोनी लगातार दोस्रो विश्वकप उपाधि जित्ने प्रशिक्षकका रूपमा आधुनिक फुटबलका सबैभन्दा सफल राष्ट्रिय टोली प्रशिक्षकमध्ये एक बन्नेछन्।

एउटै विशेषता, फरक शैली

दुवै प्रशिक्षकको सबैभन्दा ठूलो बल खेलाडी व्यवस्थापन मानिन्छ। डे ला फुएन्तेका पूर्व खेलाडीहरूका अनुसार उनी पहिलो दिन जस्तै शान्त, सन्तुलित र समान व्यवहार गर्ने प्रशिक्षक हुन्। स्कालोनीबारे पनि उनका सहपाठीहरूको धारणा उस्तै छ। उनीहरूका अनुसार स्कालोनी केवल लाइसेन्स लिन आएका विद्यार्थी नभई भविष्यमा उत्कृष्ट प्रशिक्षक बन्ने लक्ष्यसहित अध्ययन गरिरहेका थिए।

खेल शैलीमा भने स्पष्ट भिन्नता देखिन्छ। डे ला फुएन्तेको स्पेन बल नियन्त्रण, छोटो पास, उच्च प्रेसिङ र तीव्र आक्रमणमा विश्वास गर्छ। स्कालोनीको अर्जेन्टिना भने परिस्थितिअनुसार रणनीति परिवर्तन गर्न सक्षम टोली हो। आवश्यक पर्दा बल नियन्त्रण गर्ने, आवश्यक पर्दा प्रतिआक्रमणमा जाने र दबाबपूर्ण अवस्थामा मानसिक रूपमा बलियो रहने क्षमता अर्जेन्टिनाको प्रमुख विशेषता बनेको छ।

विश्व फुटबलकै सबैभन्दा ठूलो परीक्षा

सन् २०१७ मा एउटै कक्षामा फुटबलका सिद्धान्त र रणनीतिमाथि छलफल गर्ने गुरु र शिष्य अहिले विश्व फुटबलकै सबैभन्दा ठूलो उपाधिका लागि आमनेसामने उभिएका छन्।

त्यतिबेला उनीहरूको अगाडि नोटबुक थियो, यसपटक विश्वकप ट्रफी छ। ९० मिनेटपछि, वा आवश्यक परे अतिरिक्त समय र पेनाल्टी सुटआउटपछि, केवल नयाँ विश्व विजेता मात्र तय हुने छैन, गुरुको रणनीति सफल हुन्छ कि शिष्यको भन्ने इतिहास पनि लेखिनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार