Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

जापान फेरि भूकम्पको चपेटामा, सपिङ मलदेखि ऐतिहासिक संरचनासम्म ध्वस्त

जापान फेरि भूकम्पको चपेटामा, सपिङ मलदेखि ऐतिहासिक संरचनासम्म ध्वस्त

नेपाल सम्वत् ११४६, दिल्लाथ्वः १५ पूर्णिमा (१३ साउन, २०८४, २९ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला । जापानको दक्षिणपश्चिमी क्युसु टापुको कुमामोतो प्रान्तमा मङ्गलबार आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने २४ जनाभन्दा बढी घाइते भएका छन्। भूकम्पले सपिङ मल, औद्योगिक प्रतिष्ठान, सडक, पुल तथा ऐतिहासिक संरचनामा व्यापक क्षति पुर्‍याएको छ। हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध भएको छ भने उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी रहेको जापानी अधिकारीहरूले बुधबार बताएका छन्।

स्थानीय समयअनुसार मङ्गलबार अपराह्न ४ः२७ बजे आएको भूकम्पको केन्द्र कुमामोतो प्रान्त आसपास रहेको थियो। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले भूकम्पको तीव्रता ६.८ म्याग्निच्युड र केन्द्रविन्दुको गहिराइ १० किलोमिटर रहेको जनाएको छ। यद्यपि जापानको मौसम विज्ञान एजेन्सीले भने यसको तीव्रता ७.१ म्याग्निच्युड रहेको उल्लेख गरेको छ।

जापानी अधिकारीहरूका अनुसार मृत्यु हुने सबै व्यक्तिको मृत्यु प्रत्यक्ष रूपमा भूकम्पकै कारण भएको हो वा होइन भन्ने विषयमा अनुसन्धान जारी छ। घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको र अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

सबैभन्दा ठूलो क्षति कासिमा सहरस्थित एक सपिङ मलमा भएको छ। भूकम्पपछि ग्यास चुहावटका कारण भएको विस्फोटले भवनको छाना र पर्खाल भत्किएको अधिकारीहरूले बताएका छन्। मल सञ्चालन गर्ने कम्पनीका प्रवक्ताका अनुसार भूकम्पलगत्तै ग्राहक र कर्मचारीलाई सुरक्षित रूपमा बाहिर निकालिएपछि मात्र विस्फोट भएको थियो।

उद्धार टोलीले सपिङ मलबाट आठ जनालाई सकुशल उद्धार गरेको छ, जसमध्ये पाँच जना घाइते भएका छन्। प्रारम्भिक अनुमानमा २० देखि ३० जना भवनभित्र फसेको आशंका गरिए पनि वास्तविक संख्या त्योभन्दा कम रहेको प्रहरीले जनाएको छ। केही कर्मचारी अझै भवनभित्र रहेको पुष्टि भए पनि असुरक्षित संरचनाका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।

यात्सुशिरोस्थित निप्पोन पेपर इन्डस्ट्रिजको कारखानामा पनि ठूलो क्षति पुगेको छ। कारखानाको धुवाँ निकाल्ने संरचनाको एक भाग भत्किएको छ भने त्यहाँ कार्यरत नौ जनाको अवस्थाबारे अझै स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन।

भूकम्पका कारण कुमामोतो क्षेत्रमा आगलागी, भवन भत्किने, सडक चर्किने, पुलमा क्षति पुग्ने तथा मालवाहक रेल पल्टिने घटनासमेत भएका छन्। एउटा पैदल यात्रु पुलको एक भाग नदीमा खसेको छ। कुमामोतो विमानस्थल केही घण्टाका लागि बन्द गरिएपछि पुनः सञ्चालनमा ल्याइएको छ भने सिङ्कानसेन (बुलेट ट्रेन) सेवा अस्थायी रूपमा स्थगित गरिएको थियो। धेरै राजमार्ग र स्थानीय सडक अझै अवरुद्ध रहेका छन्।

बुधबार बिहानसम्म कुमामोतो क्षेत्रमा ३६ हजार ८८० घर तथा अन्य संरचनामा विद्युत् आपूर्ति बन्द रहेको छ। जापानको रक्षा मन्त्रालयले विपद् व्यवस्थापन तथा उद्धारका लागि ३ हजार ६०० सैनिक परिचालन गरेको छ। प्रभावित क्षेत्रको हवाई निरीक्षण तथा क्षतिको मूल्याङ्कन गर्न २० वटा सैन्य विमान समेत परिचालन गरिएको छ।

भूकम्पका बेला कुमामोतोस्थित कार्यालयमा कार्यरत ३५ वर्षीया चिहारू हाराले भवन निकै तीव्र रूपमा हल्लिँदा कार्यालय नै भत्किने डर लागेको बताइन्। उनका अनुसार केहीबेर सबै कर्मचारी त्रसित भएर सुरक्षित स्थानतर्फ भागेका थिए।

एएफपीले सार्वजनिक गरेको भिडियोमा सडकमा गुडिरहेका सवारीसाधन, ट्राफिक बत्ती र सडकबत्ती तीव्र रूपमा हल्लिएको देखिएको छ। कतिपय स्थानमा सडक चर्किएका कारण सवारीसाधन सावधानीपूर्वक सञ्चालन गरिएको थियो। सुरक्षा क्यामेराको दृश्यमा ऐतिहासिक कुमामोतो महलको पर्खालका केही भागसमेत भत्किएको देखिएको छ।

प्रशान्त महासागरको 'रिङ अफ फायर' क्षेत्रमा अवस्थित जापान विश्वकै सबैभन्दा बढी भूकम्प आउने मुलुकमध्ये एक हो। चार प्रमुख टेक्टोनिक प्लेटको सङ्गमस्थलमा रहेको जापानमा हरेक वर्ष सयौँ भूकम्प जाने गर्छन्। वैज्ञानिकहरूका अनुसार विश्वभर हुने करिब १८ प्रतिशत भूकम्प जापान वरपरकै क्षेत्रमा आउने गर्छ।

यसअघि सन् २०११ मा जापानमा आएको ९.० म्याग्निच्युडको विनाशकारी भूकम्प र त्यसपछिको सुनामीमा करिब १८ हजार ५०० जनाको ज्यान गएको थियो। उक्त विपद्ले फुकुसिमा आणविक विद्युत् केन्द्रमा गम्भीर दुर्घटना निम्त्याएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार