Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

आत्मसमीक्षाविनाको कम्युनिष्ट आन्दोलन जीवन्त रहन सक्दैन : आनन्द प्रसाद पोखरेल

आत्मसमीक्षाविनाको कम्युनिष्ट आन्दोलन जीवन्त रहन सक्दैन : आनन्द प्रसाद पोखरेल

नेकपा (एमाले) का केन्द्रीय सदस्य आनन्द पोखरेलले कम्युनिष्ट आन्दोलनको पुनर्जागरणका लागि आत्मसमीक्षा, वैचारिक स्पष्टता, संगठनात्मक लोकतन्त्र र जनविश्वासलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताएका छन्। ‘कम्युनिष्ट आन्दोलनको पुनर्जागरणको लागि आत्मासमिक्षा’ शीर्षकमा सार्वजनिक आफ्नो विचार लेखमा उनले एमालेले विगतका उपलब्धिमा मात्र आत्मसन्तुष्ट नभई बदलिँदो राजनीतिक र सामाजिक परिवेशअनुसार आफूलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

पोखरेलले कुनै पनि क्रान्तिकारी संगठनको सबैभन्दा ठूलो चुनौती बाहिरी प्रतिद्वन्द्वी नभई आफ्नै संगठनभित्र विकसित हुने कमजोरी भएको उल्लेख गरेका छन्। पार्टीभित्र अहंकार, आत्मसन्तुष्टि, व्यक्तिकेन्द्रित सोच, आलोचनाप्रति असहिष्णुता तथा संस्थागत प्रक्रियाभन्दा व्यक्तिगत प्रभाव बलियो हुँदै जाँदा संगठनको अवनति सुरु हुने उनको भनाइ छ। यस्ता प्रवृत्ति समयमै सुधार गर्न नसके कुनै पनि राजनीतिक शक्ति क्रमशः जनविश्वासबाट टाढिँदै जाने उनले उल्लेख गरेका छन्।

उनले नेपालको राजनीतिक इतिहासमा एमालेले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण, राष्ट्रिय स्वाधीनता, राजनीतिक स्थायित्व तथा विकास निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको स्वीकार गर्दै विगतका उपलब्धिले मात्र भविष्य सुनिश्चित नहुने बताएका छन्। जनताको विश्वास निरन्तर नवीकरण गर्न नसक्ने राजनीतिक दल अन्ततः इतिहासका उपलब्धिमै सीमित हुने उनको तर्क छ।

जबजको मर्म जनताको विश्वासमा

पोखरेलले एमालेप्रति बढ्दै गएको असन्तुष्टिलाई केवल चुनावी परिणामसँग जोडेर हेर्न नहुने बताएका छन्। उनका अनुसार यो जनताको बहुदलीय जनवाद (जबज) को व्यवहारिक कार्यान्वयनमाथि उठेको गम्भीर प्रश्न हो। पार्टीमाथि आउने सबै आलोचनालाई विरोधीको षड्यन्त्रका रूपमा चित्रण गर्नु जबजको मूल मर्मसँग मेल नखाने उनले बताएका छन्।

उनले मदन भण्डारीको भनाइ उद्धृत गर्दै जनता नै सत्यका अन्तिम परीक्षक भएको उल्लेख गरेका छन्। त्यसैले जनताको प्रशंसामात्र स्वीकार गर्ने र आलोचना अस्वीकार गर्ने संस्कृतिले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने उनको धारणा छ। आलोचना र आत्मआलोचनालाई सुधारको अवसरका रूपमा ग्रहण गर्नुपर्नेमा उनले जोड दिएका छन्।

अपेक्षा र उपलब्धिबीचको दूरी

पोखरेलका अनुसार एमालेले पटक–पटक सरकारको नेतृत्व गर्ने अवसर पाए पनि जनताले अपेक्षा गरेको सुशासन, भ्रष्टाचार नियन्त्रण, गुणस्तरीय सेवा प्रवाह, रोजगारी सिर्जना, उत्पादनमुखी अर्थतन्त्र र समृद्धिको अनुभूति अपेक्षित रूपमा हुन सकेको छैन। यही कारण जनताले परिवर्तनको वास्तविक अनुभूति खोज्न थालेका छन्।

उनले कम्युनिष्ट नेतृत्वमा पनि प्रशासन पुरानै ढर्रा, ढिलासुस्ती, शक्ति–केन्द्रित सोच र भ्रष्टाचारबाट मुक्त हुन नसके परिवर्तनको अर्थमाथि नै प्रश्न उठ्ने बताएका छन्। जनताको अपेक्षा र सरकारको कार्यसम्पादनबीचको दूरी कम गर्नु अहिलेको प्रमुख आवश्यकता भएको उनको भनाइ छ।

सत्ता कि सिद्धान्त?

२०७९ सालको निर्वाचनपछि विकसित सत्ता समीकरणले समाजमा नयाँ प्रश्न जन्माएको पोखरेलको विश्लेषण छ। सत्ता प्राप्ति नै प्राथमिकता बनेको हो कि सिद्धान्त भन्ने बहस बढ्दै गएको उल्लेख गर्दै उनले गठबन्धन राजनीति स्वाभाविक भए पनि त्यसको वैचारिक आधार र औचित्य जनतालाई स्पष्ट रूपमा बुझाउन नसक्दा भ्रम सिर्जना भएको बताएका छन्।

उनका अनुसार जनताको बहुदलीय जनवादले सत्ताभन्दा माथि जनमत र राष्ट्रिय हितलाई राख्न सिकाउँछ। त्यसैले राजनीतिक निर्णयहरू पनि सिद्धान्त, जनमत र राष्ट्रिय हितको आधारमा हुनुपर्ने उनको धारणा छ।

विचारभन्दा व्यक्ति हाबी हुने खतरा

पोखरेलले कम्युनिष्ट आन्दोलनको आधार विचार भएको उल्लेख गर्दै पछिल्ला वर्षहरूमा विचारभन्दा व्यक्ति प्रभावशाली बन्न थालेको भन्ने प्रश्न उठिरहेको बताएका छन्। निर्णय प्रक्रिया सीमित व्यक्तिमा केन्द्रित हुने, फरक मतलाई असहयोगका रूपमा लिने तथा नेतृत्व हस्तान्तरणलाई संस्थागत बनाउन नसक्दा पार्टीको लोकतान्त्रिक जीवन कमजोर हुने उनको विश्लेषण छ।

उनले मदन भण्डारीले व्यक्तिपूजाभन्दा संस्थागत नेतृत्वको अभ्यासलाई महत्व दिएको स्मरण गराउँदै पार्टीभित्र विधि, प्रक्रिया र सामूहिक निर्णय प्रणालीलाई अझ सुदृढ बनाउनुपर्ने बताएका छन्।

कार्यकर्ता र जनसंगठनमा बढ्दो निराशा

लेखमा पोखरेलले पार्टीको सबैभन्दा ठूलो शक्ति उसका कार्यकर्ता भएको उल्लेख गरेका छन्। तर योगदानभन्दा पहुँच प्रभावकारी देखिन थालेको, लामो समयदेखि संघर्ष गरेका कार्यकर्ताले सम्मानभन्दा उपेक्षा महसुस गर्न थालेको तथा जनसंगठनहरू वैचारिक बहसका केन्द्रभन्दा औपचारिक संरचनामा सीमित हुँदै गएको उनले बताएका छन्।

आलोचना गर्ने कार्यकर्तालाई शंकाको दृष्टिले हेर्ने र प्रशंसा गर्नेहरूलाई मात्र प्राथमिकता दिने संस्कृतिले संगठनलाई बलियो नभई कमजोर बनाउने उनको भनाइ छ।

युवा पुस्ताको विश्वास कसरी जित्ने?

पोखरेलले अहिलेको युवा पुस्ताले केवल विगतको राजनीतिक इतिहास सुन्न नचाहेको उल्लेख गरेका छन्। कृत्रिम बुद्धिमत्ता, डिजिटल अर्थतन्त्र, नवप्रवर्तन, हरित विकास, पारदर्शिता, योग्यता र अवसरका विषयमा स्पष्ट नीति र कार्यक्रम खोजिरहेको उनले बताएका छन्।

यदि पार्टी अझै पुरानै भाषा, शैली र सोचमा सीमित रह्यो भने नयाँ पुस्तासँगको दूरी झन् बढ्ने उनको चेतावनी छ। जबज स्थिर सिद्धान्त नभई समयअनुसार विकसित हुने राजनीतिक दर्शन भएकाले यसको समसामयिक पुनर्व्याख्या आवश्यक रहेको उनको धारणा छ।

जनता आदेश होइन, संवाद चाहन्छन्

शिक्षक आन्दोलन, युवा असन्तुष्टि, स्थानीय सरकारसँगको सम्बन्ध, सामाजिक सञ्जालमा उठ्ने बहस तथा नागरिकका विभिन्न आवाजले एउटै सन्देश दिएको पोखरेलले उल्लेख गरेका छन्। उनका अनुसार जनता आदेश होइन, संवाद चाहन्छन्। कम्युनिष्ट पार्टी जनतालाई निर्देशन दिने संस्था मात्र नभई जनताबाट सिक्ने संस्था पनि हुनुपर्ने उनले बताएका छन्।

आत्मक्रान्तिको अवधारणा

पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङले अघि सारेको ‘आत्मक्रान्ति’ (Self-Revolution) को अवधारणाको पनि चर्चा गरेका छन्। कुनै पनि क्रान्तिकारी पार्टीले बाह्य चुनौतीभन्दा पहिले आफ्नै कमजोरी, भ्रष्टाचार, विशेषाधिकार, जनतासँगको दूरी र संगठनात्मक शिथिलताविरुद्ध संघर्ष गर्नुपर्ने अवधारणाले जबजको आत्मासँग पनि मेल खाने उनको भनाइ छ।

एमालेका लागि सुझाएका प्राथमिकता

पोखरेलले एमालेले पुनः जनविश्वास स्थापित गर्न विचारलाई संगठनको केन्द्रमा स्थापित गर्नुपर्ने, आलोचना–आत्मआलोचनालाई संस्थागत संस्कृतिका रूपमा विकास गर्नुपर्ने, नेतृत्वलाई विधि र प्रणालीप्रति उत्तरदायी बनाउनुपर्ने तथा युवालाई नीति निर्माणको साझेदार बनाउनु आवश्यक रहेको बताएका छन्।

त्यसैगरी किसान, श्रमिक, उत्पादन, प्रविधि र राष्ट्रिय पुँजी निर्माणलाई आर्थिक नीतिको केन्द्रमा राख्दै सुशासनलाई नारामा सीमित नराखी नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिएका छन्। जनसंगठनलाई पुनः जनतासँग जोडेर पार्टीलाई समाजको धड्कन बनाउनुपर्ने उनको सुझाव छ।

दुई विकल्पमध्ये एउटा रोज्नुपर्ने अवस्था

पोखरेलका अनुसार एमाले अहिले दुई विकल्पको बीचमा उभिएको छ। पहिलो, जनताका प्रश्न र आलोचनालाई अस्वीकार गर्दै आफ्ना कमजोरीको दोष बाहिर खोज्ने। यसले अल्पकालीन रूपमा संगठन जोगाए पनि दीर्घकालीन रूपमा जनविश्वास गुमाउने जोखिम रहने उनले बताएका छन्।

दोस्रो विकल्पका रूपमा उनले मदन भण्डारीको जनताको बहुदलीय जनवाद, पुष्पलालको वर्गीय दृष्टिकोण र कम्युनिष्ट आन्दोलनको आत्मसमीक्षाको परम्परालाई पुनर्जीवित गर्दै वैचारिक पुनर्जागरण सुरु गर्नुपर्ने बताएका छन्। यही मार्गले मात्र एमालेलाई पुनः जनविश्वास, आशा र नेतृत्वको केन्द्रमा स्थापित गर्न सक्ने उनको विश्वास छ।

लेखको निष्कर्षमा पोखरेलले कम्युनिष्ट आन्दोलनको भविष्य विपक्षी शक्तिले होइन, आफ्नै वैचारिक स्पष्टता, नैतिक साहस, संगठनात्मक लोकतन्त्र र जनविश्वासले निर्धारण गर्ने उल्लेख गरेका छन्। एमालेले आत्मसमीक्षा, सुधार र रूपान्तरणको बाटो रोज्न सके भविष्य पुनः जित्न सक्ने, तर आफ्ना कमजोरीप्रति आँखा चिम्लिए विगतका उपलब्धिले मात्र भविष्य सुरक्षित गर्न नसक्ने उनको निष्कर्ष छ। उनले जनताको बहुदलीय जनवादको वास्तविक परीक्षा चुनाव जित्नु मात्र नभई जनताको मन जित्नु भएको उल्लेख गर्दै समयमै परिवर्तनको साहस देखाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार