नेपाल सम्वत् ११४६, दिल्लागाः १५ औसी (२७ साउन, २०८३, १२ अगष्ठ २०२६) बुधबार, बाँपिझ्याला । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले आफ्ना बुबा जर्ज मेसीको निधनपछि पहिलोपटक भावुक सन्देश सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत बुबालाई सम्झँदै मेसीले आफूले अब कसरी अघि बढ्ने भन्ने नै थाहा नभएको बताएका छन्।
मेसीले बुबासँगको आफ्नो गहिरो सम्बन्ध, बाल्यकालदेखि फुटबल यात्रामा पाएको साथ तथा अन्तिम विश्वकपमा बुबालाई आफूले खेलिरहेको देखाउन नपाएको पीडा सन्देशमा व्यक्त गरेका छन्।
उनले लेखेका छन्, ‘बुबा, तपाईं अब हुनुहुन्न भन्ने कुरा अझै विश्वास गर्न सकिरहेको छैन। अब म तपाईंलाई देख्न पाउँदिनँ, तपाईंसँग कुरा गर्न पाउँदिनँ भन्ने कुरा पनि विश्वास गर्न सकिरहेको छैन।’
जर्ज लामो समयदेखि बिरामी रहेको उल्लेख गर्दै मेसीले उनको पीडाको अन्त्य हुनु राम्रो भए पनि आफूहरूलाई धेरै छिट्टै छाडेर गएको बताएका छन्। अझै धेरै कुरा सँगै रमाउन बाँकी रहेको उनको भनाइ छ।
मेसीले बुबाले आफूलाई अन्तिम विश्वकप खेल्न सधैँ आग्रह गर्ने गरेको स्मरण गरेका छन्। विश्वकप सुरु हुनुभन्दा केही दिनअघि जर्जको स्वास्थ्य अवस्था बिग्रिएको र त्यसपछि उनी कुनै प्रतियोगितामा सहभागी हुन नसकेको मेसीले बताएका छन्।
‘मैले तपाईंलाई हामी फाइनलसम्म पुग्नेछौँ र तपाईंले एउटा खेल हेर्न पाउनुहुनेछ भनेको थिएँ,’ उनले लेखेका छन्।
विश्वकपका क्रममा भएका खुसीका क्षणहरू बुबासँग बाँड्न नपाएकोमा मेसीले दुःख व्यक्त गरेका छन्। आफूहरू च्याम्पियन बन्न नसके पनि हरेक खेलबाट लिएको आनन्द बुबाले देख्न नपाएको उनको गुनासो छ।
मेसीले बुबालाई आफ्नो बुबा, साथी र प्रतिनिधिका रूपमा स्मरण गरेका छन्। बाल्यकालदेखि नै जर्जले उनलाई प्रशिक्षणमा लैजाने, खेल हेर्न आउने र फुटबल करिअरमा निरन्तर साथ दिने गरेको उनले उल्लेख गरेका छन्।
मेसीलाई बाल्यकालमा वृद्धि हर्मोनको कमीसम्बन्धी उपचार आवश्यक पर्दा जर्जले उपचारको व्यवस्था मिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। मेसी १३ वर्षको उमेरमा बार्सिलोनाको फुटबल यात्रा सुरु गर्न स्पेन जाँदा पनि जर्ज उनीसँगै पुगेका थिए। त्यसपछि उनले दशकौँसम्म मेसीको करिअर व्यवस्थापन गर्दै सम्झौता, क्लब स्थानान्तरणलगायत महत्वपूर्ण विषयमा साथ दिएका थिए।
मेसीले आफ्ना छोराछोरीलाई पनि बुबाले आफूलाई जसरी सिकाए र हुर्काए, त्यसरी नै हुर्काउने बताएका छन्।
सन्देशको अन्त्यमा उनले लेखेका छन्, ‘शान्तिसँग विश्राम गर्नुहोस् र यहाँ हुँदा जसरी हाम्रो हेरचाह गर्नुभयो, त्यसरी नै माथिबाट पनि हाम्रो हेरचाह गर्नुहोस्। सबै कुराका लागि धन्यवाद। म तपाईंलाई माया गर्छु, बुबा।’
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij