Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

प्राचीन शहर दोलखाको तल्लोटोलमा मासलाइट जडान, झिलिमिली बन्दै ऐतिहासिक बस्ती

प्राचीन शहर दोलखाको तल्लोटोलमा मासलाइट जडान, झिलिमिली बन्दै ऐतिहासिक बस्ती

नेपाल सम्वत् ११४६, दिल्लागाः १५ औसी (२७ साउन, २०८३, १२ अगष्ठ २०२६) बुधबार, बाँपिझ्याला । प्राचीन शहर भीमेश्वर नगरपालिका–२, दोलखाको ऐतिहासिक तल्लोटोल क्षेत्रमा मासलाइट जडान गरिएको छ। मासलाइट जडानसँगै पुरानो बस्तीको स्वरूप रातको समयमा थप आकर्षक र झिलिमिली देखिन थालेको छ।

ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको दोलखा शहरको तल्लोटोलमा आधुनिक प्रकाश व्यवस्थापन गरिएपछि स्थानीयवासी तथा यहाँ पुग्ने पर्यटकका लागि नयाँ आकर्षण थपिएको छ। दिनको समयमा मौलिक नेवारी वास्तुकला, पुराना घर तथा ऐतिहासिक संरचनाले परिचित तल्लोटोल रातको समयमा मासलाइटको उज्यालोले थप मनमोहक देखिन थालेको हो।

मासलाइट जडानले बस्तीको सौन्दर्य बढाउनुका साथै रात्रिकालीन जात्रा, धार्मिक तथा सांस्कृतिक गतिविधि र आवागमनलाई सहज तथा सुरक्षित बनाउन सहयोग पुग्ने वडाध्यक्ष स्टालिन श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार विशेषगरी साँझपख पुरानो बस्ती तथा आसपासका क्षेत्रमा आवतजावत गर्ने स्थानीयवासी, व्यवसायी तथा पर्यटकलाई यसबाट प्रत्यक्ष लाभ पुग्नेछ।

मासलाइटको उज्यालोले भीमेश्वर नगरपालिकाको नवनिर्मित भवन, राजकुलेश्वर तलेजु मन्दिर, नक्छे प्रधान खलकको कुलघर, राजकुलेश्वर आधारभूत विद्यालय, कोर्छे श्रेष्ठ खलकको कुलघर लगायत महत्वपूर्ण मठ–मन्दिर, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा र स्थानीयवासीका घरआँगनसमेत उज्यालो हुने वडाध्यक्ष श्रेष्ठको भनाइ छ।

दोलखा ऐतिहासिक तथा धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा परिचित छ। भीमेश्वर मन्दिर, पुराना बस्ती, परम्परागत संस्कृति, विभिन्न जात्रा तथा मौलिक नेवारी वास्तुकलाका कारण भीमेश्वर नगरपालिका–२ मा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण रहँदै आएको छ। यस्तो ऐतिहासिक बस्तीमा पूर्वाधार विकाससँगै मौलिक पहिचान, संस्कृति तथा सम्पदा संरक्षण र सौन्दर्यीकरणलाई प्राथमिकता दिनुपर्ने स्थानीयवासी बताउँछन्।

तल्लोटोलमा मासलाइट जडानलाई ऐतिहासिक बस्तीको रात्रिकालीन सौन्दर्य अभिवृद्धि तथा पर्यटन प्रवद्र्धनतर्फको सकारात्मक पहलका रूपमा लिन सकिन्छ। पर्याप्त प्रकाश व्यवस्थाले पर्यटक तथा आगन्तुकलाई साँझसम्म ऐतिहासिक क्षेत्र अवलोकन गर्न सहज बनाउनुका साथै स्थानीय व्यवसाय र आर्थिक गतिविधिलाई समेत प्रोत्साहन गर्न सक्ने अपेक्षा गरिएको छ।

अन्य ऐतिहासिक तथा प्रमुख क्षेत्रमा पनि मासलाइटको अपेक्षा

भीमेश्वर नगरपालिकाको सहयोगमा तल्लोटोलमा मासलाइट जडान भएपछि स्थानीयवासीले नगरका अन्य महत्वपूर्ण क्षेत्रलाई समेत क्रमशः उज्यालो बनाउने अपेक्षा गरेका छन्।

विशेषगरी दोलखाको प्रवेशद्वार पाखलती बसपार्क, भीमेश्वर मन्दिर परिसर, त्रिपुरासुन्दरी परिसर, पिङ्गलटोलको डोबर, गणेशटोल तथा माथिल्लो बजार क्षेत्र डोक्छे लगायतका स्थानमा पनि मासलाइट जडानका लागि नगरपालिकाले सहयोग गर्नुपर्ने स्थानीयवासीको अपेक्षा छ।

ऐतिहासिक तथा धार्मिक महत्व बोकेका यी क्षेत्रलाई समेत योजनाबद्ध रूपमा प्रकाश व्यवस्थापन गर्न सके रातको समयमा दोलखाको समग्र सौन्दर्य बढ्नुका साथै पर्यटकलाई आकर्षित गर्न महत्वपूर्ण योगदान पुग्ने देखिन्छ। साथै, धार्मिक तथा सांस्कृतिक स्थल, पुराना बस्ती र बजार क्षेत्र उज्यालो हुँदा स्थानीयवासीको सुरक्षा र रात्रिकालीन आवागमनमा समेत सहजता आउनेछ।

स्थानीयवासीका अनुसार तल्लोटोलमा गरिएको मासलाइट जडानलाई भीमेश्वर नगरपालिकालाई आधुनिक, व्यवस्थित र पर्यटकीय नगरका रूपमा विकास गर्ने यात्राको एउटा सकारात्मक सुरुवातका रूपमा लिन सकिन्छ। नगरका प्रमुख पर्यटकीय तथा ऐतिहासिक स्थललाई क्रमशः उज्यालो बनाउँदै लैजान सके यसले ‘झिलिमिली दोलखा’को पहिचान स्थापित गर्नसमेत सहयोग पुग्ने उनीहरूको विश्वास छ।

स्थानीयस्तरमा यस्ता पूर्वाधारको विस्तारसँगै सडक, ढल, खानेपानी, सरसफाइ, पैदलमार्ग तथा सम्पदा संरक्षणमा समेत समान रूपमा ध्यान दिन सके प्राचीन शहर दोलखालाई अझ व्यवस्थित, सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिनेछ।

मासलाइटको उज्यालोसँगै ऐतिहासिक तल्लोटोलको मौलिकता र सौन्दर्य झनै निखारिएको छ। तल्लोटोलबाट सुरु भएको यो उज्यालो अभियान दोलखाका अन्य ऐतिहासिक तथा पर्यटकीय क्षेत्रमा पनि विस्तार हुन सके ‘झिलिमिली दोलखा, समृद्ध दोलखा’को अनुभूति स्थानीयवासीले गर्न पाउनेछन्।

तस्बिरः शान्त श्रेष्ठ

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार