Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

लामो समयदेखि बन्द गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउन विज्ञ टोलीद्वारा अध्ययन

लामो समयदेखि बन्द गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउन विज्ञ टोलीद्वारा अध्ययन

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ४ चौथी (३१ साउन, २०८३, १६ अगष्ठ २०२६) आईतबार, बाँपिझ्याला । लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनमा ल्याउने पहलस्वरूप विज्ञसहितको टोलीले उद्योगको स्थलगत अध्ययन तथा अनुगमन गरेको छ।

गोरखा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य कविन्द्र बुर्लाकोटीको नेतृत्वमा अर्थ, उद्योग तथा कानुन मन्त्रालयका प्रतिनिधिसहितको टोलीले गोरखा नगरपालिका–१३ मभुवामा रहेको गोरखकाली रबर उद्योगको स्थलगत भ्रमण गरी उद्योगको वर्तमान अवस्था, संरचना तथा मेसिनरीको अवस्थाबारे अध्ययन गरेको हो।

सांसद बुर्लाकोटीका अनुसार उद्योगलाई पुनः सञ्चालनमा ल्याउन आवश्यक कानुनी, आर्थिक तथा प्राविधिक सम्भावनाबारे अध्ययन गरिएको छ। उनले उद्योग सञ्चालनका लागि सरकारले लिनुपर्ने नीतिगत निर्णय तथा आवश्यक प्रक्रियाबारे विज्ञ र सम्बन्धित मन्त्रालयका प्रतिनिधिसँग छलफल गरिने बताए।

“अर्थ, उद्योग र कानुन मन्त्रालयका प्रतिनिधिसहित गोरखकाली रबर उद्योगको विश्लेषकीय भ्रमण गरेका छौँ। उद्योग सञ्चालनमा ल्याउने कानुनी सम्भावना के हुन्छ र आर्थिक सम्भावना कस्तो छ भन्ने विषयमा भ्रमणपछि थप छलफल हुन्छ,” बुर्लाकोटीले भने।

उनका अनुसार उद्योगलाई छिट्टै सञ्चालनमा ल्याउने उद्देश्यसहित आवश्यक आर्थिक प्रस्तावसमेत तयार गरिनेछ। उद्योगको पुनः सञ्चालनका लागि आवश्यक लगानी, प्राविधिक अवस्था, कानुनी जटिलता, बजारको सम्भावना तथा व्यवस्थापन संरचनालगायत विषयलाई अध्ययनको आधार बनाइने बताइएको छ।

चीन सरकारको सहयोगमा स्थापना

गोरखकाली रबर उद्योग २०४१ जेठ ३० गते चीन सरकारको सहयोगमा स्थापना भएको हो। उद्योगको शिलान्यास तत्कालीन राजा वीरेन्द्र शाहले २०४२ सालमा गरेका थिए। उद्योगले २०५० सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो।

एक समय नेपाली बजारमा टायर तथा ट्युबको मागको ठूलो हिस्सा पूरा गर्दै आएको उद्योग करिब ६७० रोपनी क्षेत्रफलमा फैलिएको छ। उद्योगमा नेपाल सरकारसँगै नागरिक तथा विभिन्न संघसंस्थाको समेत लगानी रहेको थियो।

उद्योगले ट्रक, जिप, भ्यान तथा कारका लागि आवश्यक विभिन्न प्रकारका टायर उत्पादन गर्दै आएको थियो। वार्षिक करिब ८८ हजार टायर उत्पादन गर्न सक्ने क्षमता विकास गरेको उद्योगका उत्पादन देशका प्रमुख सहरमा रहेका डिपोमार्फत बिक्री–वितरण हुँदै आएका थिए।

दक्षिण एसियाली मुलुकमा समेत निर्यात

गोरखकाली रबर उद्योगले स्वदेशी बजारको माग पूरा गर्नुका साथै आफ्ना उत्पादन भारत, बंगलादेश र श्रीलंकालगायत दक्षिण एसियाली मुलुकमा समेत निर्यात गर्दै आएको थियो। कुनै समय उद्योग नेपालको औद्योगिक क्षेत्रमा महत्वपूर्ण सरकारी प्रतिष्ठानका रूपमा स्थापित थियो।

तर व्यवस्थापन, आर्थिक तथा सञ्चालनसम्बन्धी विभिन्न समस्याका कारण उद्योगको अवस्था क्रमशः कमजोर बन्दै गयो। अन्ततः २०७१ चैत २३ गतेदेखि उद्योग पूर्णरूपमा बन्द भएको हो।

अर्बौंको संरचना प्रयोगविहीन हुने जोखिम

एक दशकभन्दा लामो समयदेखि उद्योग बन्द रहँदा त्यहाँ रहेका ठूला भौतिक संरचना, उत्पादन उपकरण तथा मेसिनरी प्रयोगविहीन अवस्थामा छन्। लामो समयसम्म सञ्चालनमा नआउँदा मेसिनरी तथा अन्य उपकरणको अवस्था कमजोर हुन सक्ने भएकाले उद्योग पुनः सञ्चालनका लागि प्राविधिक परीक्षण र आवश्यक मर्मतसम्भारलाई समेत प्राथमिकतामा राख्नुपर्ने देखिएको छ।

राज्यको ठूलो लगानीमा निर्माण भएको उद्योग लामो समयदेखि बन्द रहँदा त्यससँग जोडिएको रोजगारी, स्थानीय अर्थतन्त्र तथा औद्योगिक उत्पादनको सम्भावना समेत प्रभावित हुँदै आएको छ।

अब विज्ञ टोलीको अध्ययनपछि उद्योग पुनः सञ्चालनका लागि आवश्यक कानुनी तथा आर्थिक मोडालिटी तय गर्ने तयारी गरिएको छ। उद्योग सञ्चालनमा ल्याउन सकिने आधार, आवश्यक लगानी र व्यवस्थापनको स्वरूप स्पष्ट भएपछि पुनः सञ्चालनको ठोस योजना अघि बढाउने सांसद बुर्लाकोटीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार