नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ५ पञ्चमी (१ भाद्र २०८३, १७ अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
श्रेष्ठलाई अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थपको माग गर्दै प्रहरीले सोमबार अदालतमा उपस्थित गराएको थियो। यसअघि सोही अदालतले उनलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। उक्त म्याद सकिएपछि अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले थप समय माग गरेको थियो।
प्रहरीको मागअनुसार अदालतले श्रेष्ठलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
यसैबीच, श्रेष्ठको गिरफ्तारी गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार नै सुनुवाइ हुँदैछ। उक्त रिटको पेसी न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा तोकिएको छ।
श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले गत बुधबार पक्राउ गरेको थियो। प्रहरीले श्रेष्ठमाथि वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान भइरहेको जनाएको छ।
श्रेष्ठको पक्राउपछि पत्रकारिता क्षेत्र तथा विभिन्न संघ–संस्थाबाट उनको गिरफ्तारी र अनुसन्धान प्रक्रियालाई लिएर चासो व्यक्त हुँदै आएको छ। बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले गर्ने आदेशले उनको हिरासतको विषयमा थप स्पष्टता आउनेछ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij