नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ५ पञ्चमी (१ भाद्र २०८३, १७ अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला । सञ्चारकर्मी तथा सर्जक बासुदेव पोखरेलको शब्द सिर्जनामा तयार भएको नयाँ तीज गीत ‘रेलिमै घुमौँला फिरम्ला’ सार्वजनिक भएको छ। नेपाली मौलिक तीज संस्कृति, लोकपरम्परा र पर्यटन प्रवर्द्धनलाई एउटै सांगीतिक यात्रामा प्रस्तुत गर्ने उद्देश्यले गीत सार्वजनिक गरिएको हो।
गीतमा रमेशराज भण्डारी, खुमन अधिकारी र अपेक्षा गिरीको स्वर रहेको छ भने शब्द बासुदेव पोखरेल र लय रमेशराज भण्डारीको रहेको छ। तीज गीतलाई केवल मनोरञ्जनमा सीमित नराखी नेपाली मौलिक संस्कृति, प्राकृतिक सौन्दर्य, धार्मिक तथा ऐतिहासिक सम्पदासँग जोड्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गीत तयार गरिएको स्रष्टाहरूले बताएका छन्।
गीतका शब्दमार्फत नेपालको विभिन्न पर्यटकीय गन्तव्यलाई सांगीतिक रूपमा प्रस्तुत गरिएको छ। गुल्मीको रेसुङ्गा, धुर्कोट दरबार, बागलुङको कालिका, ढोरपाटन, पोखरा, चितवन, इलाम र काठमाडौं लगायतका प्रमुख पर्यटकीय क्षेत्रलाई गीतमा समेटिएको छ।
‘घुमौँला, फिरौँला र नेपाल चिनौँला’ भन्ने भावलाई केन्द्रमा राखिएको गीतले नेपालीलाई आफ्नै देशका पर्यटकीय गन्तव्य घुम्न र तिनको प्रचार-प्रसार गर्न प्रेरित गर्ने प्रयास गरेको छ। तीज पर्वको सांस्कृतिक भावनासँगै आन्तरिक पर्यटन प्रवर्द्धन र नेपाली मौलिक पहिचानलाई जोड्ने प्रयास गीतमा गरिएको निर्माण पक्षले जनाएको छ।
गीतको भिडियो निर्देशक निशान बानियाँ हुन्। भिडियोमा ममता राना मगर, कैलाश कठायत, गङ्गा बोहोरा र सन्तोष थापालगायत कलाकारले अभिनय गरेका छन्। भिडियोको सम्पादन सुजन कोइरालाले गरेका छन्।
सञ्चारकर्मीका रूपमा सक्रिय पोखरेलले पछिल्लो समय मौलिक नेपाली गीत–संगीतमार्फत समाज, संस्कृति र पर्यटनलाई जोड्ने सिर्जनालाई निरन्तरता दिँदै आएका छन्। ‘रेलिमै घुमौँला फिरम्ला’ पनि सोही सिर्जनात्मक अभियानको निरन्तरता भएको बताइएको छ।
तीजको अवसर पारेर सार्वजनिक गरिएको गीतले नेपाली मौलिक संस्कृति र पर्यटकीय गन्तव्यलाई सांगीतिक माध्यमबाट देश–विदेशसम्म पुर्याउने अपेक्षा गरिएको छ। सार्वजनिक भएसँगै गीतले युट्युब तथा सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाउन थालेको निर्माण पक्षले जनाएको छ।
निर्माण पक्षका अनुसार गीतमार्फत तीजको सांस्कृतिक मौलिकता जोगाउँदै नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको प्रचार–प्रसार गर्ने उद्देश्यलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij